‘लेकसाइडको सिन्डिकेट तोड्छौं’

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७५

पोखरा, २० मंसिर। ‘पर्यटक पोखरा घुम्न आउँछन्। लेकसाइडका होटलमा बस्छन्। व्यवसायीले बिहान गाडी चढाएर सराङ्कोट पुर्‍याउँछन्। २-४ घण्टा डुलाईवरी खाना खुवाएर फर्काइदिन्छन्। पोखराको पर्यटन लेकसाइड र सराङ्कोटमा सीमित छ । पर्यटन व्यवसायीले काहुँडाँडामा पर्यटक लैजान चाहँदैनन् ।’ काहुँवासीको गुनासो हो, यो ।

निहुरिएर हेर्दा ताल नदेखिए पनि सराङ्कोटभन्दा कम छैन, रानीपौवाबाट मात्र ८ किमी दुरीको काहुँ’कोट। काहुँ’डाँडा प्रबर्द्धन गर्नकै लागि जनकल्याण क्लब र फूलबारी क्लबको आयोजनामा मंसिर २८ देखि पुस ८ सम्म काहुँ धराहरा महोत्सव गर्दैछन् ।

महोत्सवबारे जानकारी दिन विहीवार काहुँमा आयोजित पत्रकार सम्मेलनमा पोखरा ११ का वडाध्यक्ष मोहन बास्तोलाले गुनासो गरे, ‘काहुँ’ जाने भनेर कोही मान्छे ट्याक्सी चढ्यो भने काहुँ’खोला लगेर झारिदिन्छ। कसैलाई लालीगुराँस हेर्न मन लाग्यो भने काँडे पुर्‍याउँछन् तर १५ मिनेटको बाटोमा लालीगुराँस फुल्छ भन्ने कसैलाई थाहा छैन।’ सरकार र पर्यटन व्यवसायीले उपेक्षा गरेकै कारण काहुँ’डाँडा पर्यटकीय क्षेत्र बन्न नसकेको उनको गुनासो छ।

‘लेकसाइडका ब्रोसर हेर्दा महेन्द्रगुफा, पाताले छाँगो, सराङ्कोट, फेवाताल छ तर काहुँ’डाँडा किन छैन – ६ वटा जिल्ला डाँडाबाट सजिलै हेर्न सकिन्छ। हिमश्रृंखला हेर्ने योभन्दा उत्तम ठाउँ नै छैन,’ वडाध्यक्ष बास्तोलाले थपे, ‘यति राम्रो ठाउँलाई पर्यटन व्यवसायीले उपेक्षा गरेका छन्।’

स्थानीय अगुवा दीपकप्रकाश आचार्यले काहुँ’कोटले लेकसाइडको सिन्डिकेट तोड्ने बताए। ‘होटल बनाउँछौं, होमस्टे बनाउने तयारी भइरहेको छ। दृष्यावलोकनका लागि यो भन्दा उत्तम ठाउँ छँदै छैन। हामी कोहीभन्दा कमजोर छैनौं,’ आचार्यले भने, ‘काहुँ’कोटलाई परिचित पर्यटकीय क्षेत्रको रुपमा स्थापित गरेरै छाड्छौं। अब लेकसाइड र सराङ्कोटको सिन्डिकेट काहुँडाँडाले तोड्छ।’

पर्यटन विकासका लागि कोटको धरहरा स्तरोन्नति थालिएको छ। ८ करोड ४० लाख रुपैयाँको डिपिआर बनाएर प्रदेश पर्यटन मन्त्रालयमा पेश गरिएको वडाध्यक्ष मोहन बास्तोलाले जानकारी दिए। पर्यटक बोलाएर स्थानीयको आर्थिक स्थितिमा सुधार ल्याउन महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। २०६२ र २०६५ पछि काहुँ’ धरहराको प्रांगणमा तेश्रो संस्करणको काहुँ धराहरा महोत्सव हुन लागेको हो । ‘पैसा कमाउनका लागि महोत्सव गर्न लागेको होइन। यो ठाउँको प्रचार गरेर पर्यटक भित्र्याउने लक्ष्य छ, महोत्सवका सहसंयोजक कुमार क्षेत्रीले भने, ‘साउण्ड सिस्टम जडान हुँदैछ। झिलिमिली बत्ति हालेर यसपाली काहुँडाँडाबाट पोखरालाई चकित पाछौर्ं।’

करिब ५ सय परिवारलाई पारीवारिक पास र २ हजार हाराहारीमा टिकट बिक्री गरिसकेको क्षेत्रीले जानकारी दिए। महोत्सवमा स्थानीय उत्पादनको बिक्री र सांगितिक जमघट हुने उनी बताउँछन्। महोत्सवमा विभिन्न प्रयोजनका ८० वटा स्टल रहनेछन् भने अधिकांश स्टल बुकिङ भैसकेको प्रचारप्रसार संयोजक दामोदर आचार्यले बताए। महोत्सव प्रवेशका लागि ७० रुपैयाँको टिकट व्यवस्था गरिएको छ भने सोही टिकटबाट धरहरा चढ्ने व्यवस्था मिलाइएको छ ।

प्रचार संयोजक आचार्यका अनुसार महोत्सवबाट ६० लाख आम्दानी हुने अनुमान छ। आम्दानीमध्ये ४३ लाख खर्च हुनेछ भने बचत रकम पूर्वाधार निर्माण र कोट ब्यवस्थापनमा लगानी हुनेछ। महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ। मेलालाई एनएमवि बैंकले प्रायोजन गरेको छ। महोत्सवमा आउने पाहुनालाई खान र बस्ने ब्यवस्था होम स्टेमा हुनेछ। महोत्सव अवधिभर जुनसुकै बेला मोटर आउजाउको व्यवस्था मिलाइएको महोत्सव संयोजक देवबहादुर गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width