सरकारले ‘बिजनेस’ दिएन : दाहाल

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७५

पोखरा, १६ मङ्सिर । राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले सरकारले ‘बिजनेस’ नदिँदा सदनको काम कारबाही अघि नबढेको बताएकी छन् ।

पोखरामा आइतबार संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष दाहालले सरकारले आवश्यक बिजनेस नदिँदा सदनको काम कारबाही अघि नबढेको गुनासो गरेकी हुन् ।

उनले राष्ट्रिय सभाका विभिन्न १६ वटा विषयगत समितिले आ-आफ्नो ढंगले काम गरेपनि हाउस नचल्दा आवश्यक कानून निर्माणमा ढिलाई हुन गएको स्पष्ट पारिन् । हालसम्म कतिवटा कानुन बनिसके भन्ने संचारकर्मीको जिज्ञासामा उनले २२ वटा कानुन बनेको र बाँकी एक सयभन्दा बढी कानून बन्ने प्रक्रियामा रहेको खुलाइन् ।

पुरानो संरचनाको ढर्रा अद्यापि कायम रहँदा वाम सरकारले सोचेअनुरुप काम गर्न नसकेको हो कि भन्ने आफूलाई महसुस भएको भन्दै उनले सरकारको काम कारबाहीको समेत बचाऊ गरिन् ।

राष्ट्रिय सभा उपाध्यक्ष दाहालले निर्मला पन्त हत्याकाण्डमा सरकारले दोषीलाई कानूनी कठघरामा ल्याई छाड्नुपर्ने र पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी राख्न नहुने जोड दिइन् ।

‘कतिपय विषय राजनीतिक कारणले पनि आएका होलान्, यद्यपि प्रमाण नष्ट गर्ने कर्मचारीलाई कारबाही हुनुपर्छ, हत्यामा संलग्नको पहिचान गरी सरकारले कानूनी कठघरामा उभ्याउने विषयमा उनी आशावादी देखिइन् ।

यसैबीच, संघीय संरचनाको विषयमा बोल्दै दाहालले संघीयता नराम्रो हो भन्ने अफवाहमात्र हो भनिन् । उनले सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको र घरदैलोबाटै सेवा सुविधा मिल्दा जनता झनै खुसी हुनुपर्ने बताइन् ।

अहिले महिला हिंसाविरुद्धको सोह्र दिने अभियान चलिरहेको उल्लेख गर्दै उनले आफू पनि एक महिला भएको नाताले सुसंस्कृत समाज निर्माणमा आवश्यक शिक्षा र नैतिकताको पाठ जोसुकैलाई पनि पढाउनुपर्ने बताइन् । अझ किशोर किशोरीलाई त यसबारे झनै परामर्श आवश्यक रहेको उनको भनाइ छ।

Related News

सम्बन्धित समाचार

hero news full width