‘डोजरले घिसारेर अख्तियार पुर्‍याउला’

प्रदेश समन्वय परिषद् बैठक

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५
province meeting in grand_Fotor

पोखरा, ११ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्रीले स्थानीय सरकार आफूखुसी चल्दा समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।

पोखरामा मंगलबार शुरु गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद् बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले संविधान, संघ र प्रदेशका कानून बेवास्ता गरेर आफूखुसी कानून निर्माण गर्दा समस्या उत्पन्न हुने बताएका हुन् ।

‘नगरसभाले कानून बनाउँदैन, गाउँसभाले कानून बनाउँदैन । नगरपालिका र गाउँपालिकाले कानून बनाइरा’छ । मैले धेरैतिरबाट सुनेको छु । यो अबैध छ,’ स्थानीय तहमा भएको डोजर आतंकतर्फ लक्षित गर्दै उनले भने,’ साथीहरुले ख्याल गर्नुस् । एकदिन डोजरले घिसारेर अख्तियार पुर्‍याउला । नियम कानून मिचेर अघि बढ्न सकिँदैन ।’स्थानीय तहले आफै डोजर खरिद गर्ने र मनपरी चलाइरहेकोप्रति उनको भनाइ लक्षित थियो । उनले भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा ध्यान केन्द्रित गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे । ‘ढुंगा गिटी बालुवाको निर्णय व्यक्तिगत गर्नुहुन्न । संस्थागत निर्णय गर्नुपर्छ । मनपरि चलेका क्रसर उद्योग र खानीहरुलाई नियमभित्र ल्याउनुपर्‍यो,’ उनी भन्छन्, ‘विधिभित्र छिराउन भए पनि केही समय खानी चलाउन बन्द गर्नुपर्ने अवस्था छ । हामीले बोलाउँदा आएनन् । अब बन्द गरिदिएपछि दर्ता हुन आउँछन् ।’

मुख्यमन्त्री गुरुङले आफूहरु स्वतन्त्र सरकार नभएको दोहोर्‍याए । ‘हामी स्वतन्त्र सरकार होइनौं, स्वायत्तमात्रै छौं । हामीलाई कानून बनाउने, बजेट बनाउने अधिकार छ । त्यसैले हामी सरकार हो,’ उनले थपे,’ तर संविधान फरक बनाउने अधिकार छैन । एउटै संविधानबाट चल्ने हो । त्यसैले हामी स्वतन्त्र छैनौं ।’ उनले जिल्ला समन्वय समिति चाहीँ सरकार हुन नसक्ने बताए । प्रदेश र संघको कुरा नसुनिकन स्थानीय तहले काम गरे त्यो, निन्दनीय र खण्डनीय भएको उनको दाबी छ । उनले सरकार गठनदेखि हालसम्मको अवस्था मूल्यांकन गर्दा उत्साही भएको धारणा राखे । ‘प्रदेश सरकारले पनि संविधानलाई नटेर्ने र केन्द्रलाई उछिनेर गर्ने काम उत्तिकै आलोचनायुक्त छ । यस्तोबाट हामी बच्नुपर्छ,’ उनले अघि भने, ‘स्थानीय र प्रदेश सरकारलाई अलग बनाएर मुलुकको समृद्धि हासिल गर्छु भन्ने सोच संघले राख्यो भने पनि त्यो असम्भव छ । एक्लैले समृद्धि हासिल गर्न सक्दैन । समझदारीको आधारमा अघि बढ्ने हो ।’ मुख्यमन्त्री गुरुङले उद्घाटन र शिलान्यासमा मन्त्री र सांसदलाई धेरै नबोलाउन स्थानीय सरकारसँग आग्रह गरे । ‘गाउँमा मन्त्री, मुख्यमन्त्री सांसद लैजाने कुरालाई प्रतिष्ठासँग जोड्छौं । त्यसलाई ठूलो ठान्छौं । त्यो ठूलो कुरा होइन,’ उनले भने, ‘मुख्यमन्त्रीलाई उद्घाटन र शिलान्यासमा धेरै नबोलाउनुहोला । शिलान्यास र उद्घाटनभन्दा उपलब्धि कति भयो, त्यो महत्वपूर्ण हो ।’ कर्मचारी र केन्द्रिय सरकारमा पुरानै मानसिकता भएका कारण सोचेजति काम गर्न नपाएको उनको टिप्पणी छ ।

दुर्इ दिनसम्म चल्ने गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद बैठकमा मंगलबार केही एजेण्डाबारे छलफल भएको छ । कार्यक्रममा श्रोतसाधनको परिचालन र वित्त व्यवस्थापन, संघीयताको सैद्धान्तिक पक्ष र अभ्यास, संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, स्थानीय तहमा योजना तर्जुमा प्रक्रिया, स्थानीय तहमा कानून निर्माण प्रक्रिया लगायत विषयमा विषयविज्ञहरुले सहजीकरण गरे।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संघीय संरचना सफल नभए सबैको बलिदानी र मेहनत खेर जाने बताए । ‘प्रतिपक्षीको सरकारलाई विरोध छैन । प्रतिपक्षी पनि सरकारलाई सफल बनाऔं भनेर लागिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा पनि काम गर्न केले रोक्यो, समयमा काम किन भएन -’ उनले समस्या साझा ढंगले पहिल्याएर समाधान खोज्नुपर्ने सुझाव दिए । प्रदेशसभाका विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सबै दल मिलेर विकासको काममा हातेमालो गर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख सीता सुन्दासले स्थानीय तह, प्रदेश र संघबीच समन्वय नभए जनताले महसुस गर्ने गरी काम गर्न नसक्ने बताइन् । उनले समन्वय समितिहरु पुलको रुपमा काम गर्न तयार रहेको उल्लेख गरिन् ।

मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले नयाँ संरचनाले जनतालाई झनै सास्ती भएको बताए । ‘पाँच वटा वडाको काम एउटै सचिवले गर्नुपर्छ । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्,’ उनले भने, ‘तर अहिले जनप्रतिनिधि निकै आलोचित भैरहेका छन् । एकातिर कर्मचारीले सहयोग गर्दैनन् । अकोर्तिर गलत गर्नेलाई कारबाही गर्ने अधिकार छैन । कसरी राम्रो काम गर्न सकिन्छ ?’

केही निर्णयको घोषणासँगै बैठक बुधबार सकिनेछ । बैठकमा प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको उपस्थिति छ ।

Related News

सम्बन्धित समाचार

hero news full width