नेविसंघ महाधिवेशन पुस २८ देखि

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५

काठमाडौँ ११ मंसिर । नेपाल विद्यार्थी संघको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा संघ अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताए ।

कार्यतालिकाअनुसार मंसिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने र पुस २८ देखि ३० गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समिति स्वतः भङ्ग हुने र महाधिवेशन भाग लिन नपाउने नेवि संघले जनाएको छ । अध्यक्ष महरले निर्वाचन सम्पन्न गर्नका लागि बुधबारसम्म सबै जिल्ला तथा क्याम्पसमा प्रतिनिधि खटाइसक्ने जानकारी दिए ।

यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोके पनि विधान र उमेर हद विवादका कारण नेविसङ्घको महाधिवेशन हुन सकेको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width