पोखराको खानेपानी शुद्धिकरणमा पौने अर्ब सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७५
pkr_Fotor

पोखरा, १० मंसिर। पोखरा महानगरपालिकाको खानेपानी शुद्धिकरण गर्न फिनल्याण्ड सरकारले पौने अर्ब सहयोग गर्ने भएको छ।

महानगरका ३३ वटै वडामा शुद्ध पिउनेपानी वितरण गर्न महानगरसँगको साझेदारीमा फिनल्याण्डले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो। धाराबाट सिधैँ पिउन मिल्ने पानी वितरण गर्न यो रकम खर्च हुने महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। ‘फिनल्याण्डले ट्याप टु माउथ कार्यक्रम ल्याउन लागेको हो। संघ सरकारसँग सम्झौता हुन्छ। महानगरले सहमतिपत्र मात्रै दिने हो,’ उनी भन्छन्, ‘कार्यक्रममा ७३ करोड खर्च हुन्छ। कन्सल्ट्याण्ट पनि फिनल्याण्ड सरकारले नै खटाएको हो।’ उनका अनुसार यसमध्ये केही रकम अनुदानमा प्राप्त गर्नेछ भने केही चाहीँ सहुलियतपूर्ण ऋणमा लगानी हुनेछ। एकीकृत खानेपानी व्यवस्थापनका लागि कन्सल्ट्याण्ट र्‍याम्बोलले अध्ययन गरिरहेको छ। शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकबाट प्रोजेक्ट पास गरिसकेको छ प्रवक्ता नेपालीले बताए।

यसैबीच, शुक्रबारको कार्यपालिका बैठकको निर्णय ४ दिनपछि सोमबार सार्वजनिक गरिएको छ। बैठकले शिक्षा र सहकारी समिति गठन गरेको छ। नेकपाका नेता तेजनारायण अधिकारीको संयोजकत्वमा ७ सदस्यीय सहकारी व्यवस्थापन समिति गठन भएको छ। समितिको सदस्यमा राधिका शाही योगी, ओमप्रसाद सुवेदी, पूर्णकुमार गुरुङ, भीम गुरुङ, डा उमानाथ बराल, सोमलाल कँडेल र सदस्य सचिवमा गंगालाल सुवेदी चयन भएका छन्। उता मेयर मानबहादुर जिसीको संयोजकत्वमा शिक्षा परिषद् र शिक्षा समिति पनि गठन भएको छ।

शिक्षा परिषद्को उपाध्यक्षमा उपमेयर मञ्जुदेवी गुरुङ र सदस्यमा प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, वडा ६ का अध्यक्ष जगतबहादुर पहारी, कार्यपालिका सदस्य सन्तु सुवेदी र श्रीराम पोख्रेल तथा महानगर योजना आयोगका शिक्षा क्षेत्र हेर्ने एकजना सदस्य, शिक्षा विदको रुपमा डा रामचन्द्र पोख्रेल, डा गेहेन्द्रश्वर कोइराला, डा टंक तिमिल्सिना, राधाकृष्ण लामिछाने, धनराज आचार्य, त्रिपुरेश्वर त्रिपाठी, डा दिलबहादुर क्षेत्री, रामप्रसाद पोख्रेल र दिनेश श्रेष्ठ चयन भएका छन् भने सदस्य सचिवमा नगर शिक्षा अधिकारी छन्। अन्य सदस्य परिषद् बैठकबाट थप गर्ने नगरपालिकाले जनाएको छ।

शिक्षा समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, कार्यपालिका सदस्य मित्रलाल बराल, अक्कलबहादुर कार्की, शिरोमणि लामिछाने, कृष्णबहादुर केसी चयन भएका छन् भने शिक्षाविद्हरुबाट ३ जना सदस्य र सदस्य सचिवको रुपमा महानगर शिक्षा महाशाखा प्रमुख छन्। बाँकी सदस्य पछि थप गरिने प्रवक्ता नेपालीले जानकारी दिए।

बैठकले पोखराको भवन मापदण्डबारे थप अध्ययन गर्ने र अको बैठकमा पेश गर्ने निर्णय गरेको छ भने नगर युवा परिषद् गठन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, पोखरा महानगरपालिका ऊर्जा विकाससम्बन्धी निर्देशिका, पोखरा महानगरपालिका कोचिङ कक्षा तथा शिक्षण सहयोग केन्द्र लगायत संस्था सञ्चालन निर्देशिका, सार्वजनिक निजी साझेदारी सञ्चालन नियमावली, २०७५ पारित गरेको छ। पोखरा महानगरपालिकाले आफ्नो छुट्टै लोगो तयार गर्न र भवनहरुको उपयुक्त रंग छनौट गर्न प्रवक्ता धनबहादुर नेपाली र वडा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु सदस्य रहेको परामर्श समिति गठन भएको छ। बेगनास रुपा प्राकृतिक स्रोत व्यवस्थापन केन्द्र, प्रदेश स्तरिय आयुर्वेद अस्पताल निर्माण र महिला सुरक्षा गृह निर्माणका लागि जग्गा उपलब्ध गराउने, डेंगु रोग न्यूनिकरण गर्न विशेष अभियान चलाउने, निर्मलपोखरीको स्वास्थ्यचौकी भवनको पुनःनिर्माण गर्ने तथा पोखराको वडा १, ५, ७ र १७ को कार्यालय भवन निर्माण गर्न जग्गा प्राप्तीका लागि प्रदेश सरकारमार्फत केन्द्रबाट अनुमति लिने निर्णय भएको छ।

यसैबीच, महानगरले गर्ने निर्णय पारदर्शी नभएको काँग्रेसतर्फका वडाध्यक्षहरुले गुनासो गरेका छन्। कार्यपालिका बैठकमा एउटा निर्णय हुने र पछि फरक माईन्यूट हुने गरेको उनीहरुको गुनासो छ। ‘बैठकमा एजेण्डामाथि मात्रै सामान्य छलफल हुन्छ। तर माईन्यूट गर्ने बेला समिति पूरै गठन भैसक्छ,’ वडा ४ का अध्यक्ष शंकर बास्तोला भन्छन्, ‘कुन समितिमा कसलाई राख्ने भन्ने बारे हामीसँग छलफल नै हुँदैन। पूरै एकलौटी हिसाबले काम गरिएको छ। यसमा हाम्रो विरोध छ।’ सबै सदस्यसँग समन्वय गरेर काम गर्न महानगरलाई उनको आग्रह छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width