तिहारमा फूलले मूल्य पाएन

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७५
PKR, Flower_Fotor

पोखरा, २५ कात्तिक । फूलैफूलको पर्व तिहारमा अन्य सिजनभन्दा बढी फूलको कारोबार हुन्छ। पोखरामा यस वर्ष पनि झण्डै साढे २ करोड रुपैयाँको फूलको कारोबार भएको पुष्प व्यवसायी बताउँछन् । तर विगत वर्षको तुलनामा फूल उत्पादन बढी हुँदा कतिपय व्यवसायीले सस्तैमा बिक्री वितरण गर्नुपर्‍यो ।

नेपाल फ्लोरिकल्चर एशोसिएसन कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वा भन्छन्, ‘विगतको तुलनामा यसपालि स्वदेशी उत्पादन बढ्यो, यस्तै हो भने २-४ वर्षमा हामीहरु फूलमा आत्मनिर्भर हुन्छौं ।’

फूल उत्पादन बढ्नुमा उनको विचारमा प्रमुख कारण हो, विगतमा महँगोमा माला किन्नुपर्दा कतिपयले मानिसले बेर्ना लगेर घरमै उत्पादन गरे । गत वर्षमात्रै २० देखि २५ रुपैयाँ प्रतिथुँगा माला किन्नुपर्दाको चोट बिर्सन सचेत नागरिकले घरमै फूल रोपेको उनी बताउँछन् ।

त्यसो त यसै वर्ष पोखरा महानगरपालिकाले वडा ८ का वडावासीलाई ५ हजार फूलको बेर्ना वितरण गरेको थियो । सो वडाका अधिकांश बासिन्दाले तिहारमा माला किन्न बजार जानुपरेन। पोखरा क्षेत्रमा सुरुवातमा प्रतिमालाको मूल्य सरदर १ सय रुपैयाँ रहेकोमा पछि ४० मै पाइन्थ्यो ।

यस्तै, पोखरामा राम्रो बजार पाउने आशामा व्यवसायीले धादिङबाट पनि पर्याप्त रुपमा फूल भित्राए । धादिङ गजुरीको फूल त्यत्ति नआउनेमा यसपालि पोखरामा त्यहाँबाट पनि फूल भित्रिएको एशोसिएसनका संस्थापक अध्यक्ष सिकन्दर गुरुङले जानकारी दिए । उनको विचारमा यसरी स्वदेशी उत्पादन बढ्नु राम्रो संकेत भएपनि कतिपय व्यवसायीको वर्षभरिको उत्पादन खेर जानु नराम्रो हो।

उनी भन्छन्, ‘उत्पादन बढे पनि सबै उत्पादनले बजार पाएन। विगतमा आफ्नो कार्यकालमा दररेटमा एकरुपता दिने प्रयास भए पनि यसपालि विदेशी मालाको प्रश्रय र दररेटमा एकरुपता नहुनुले सस्तैमा बिक्री गर्नुपर्‍यो ।’ उनका अनुसार पोखरामा यस वर्ष साढे २ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ ।

उनकै नेतृत्वमा २०६५ सालमा पोखरामा पुष्प व्यवसायी संगठित भएका थिए । त्यसबेला ११ जना व्यवसायी संस्थामा आवद्ध भएकोमा हाल बढेर ३६ जना छन् । तर तिहार मौसममा उत्पादनले बजार लिने आशमा बसेका कतिपय व्यवसायीले मूल्य नपाएको गुनासो गरेका छन् ।

कृषि पत्रकारितामा रुची राख्ने कमल पौडेल अथकका अनुसार पोखरामा यसपालि माला नै बिकेन । कतिपयले माला नबिकेर मलखाद बनाउन बाध्य भए । यहाँको उत्पादनले बजार माग ८० प्रतिशत र बाँकी आयातित हुने अनुमान रहेकोमा ५० प्रतिशत बढी पोखरा बाहिरबाट आएपछि ५ रुपैयाँ प्रतिगोटा मालाको मूल्य ५ मोहरमा पनि नबिकेको आफूले पाएको बताए ।

गोल्डेन नर्सरीका संचालक समेत रहेका एशोसिएसन निवर्तमान अध्यक्ष द्वाका अनुसार माला नबिकेको भन्न मिल्दैन, विगतमा झैं बिक्यो ।

तर सबै उत्पादनले मूल्य पाएन । तिहार अघि नै फूल फूलेर समस्या आएकोबारे पनि उनले कहिले लगाउने, कसरी लगाउने भन्नेबारे परामर्श लिनुपर्ने सुझाव दिन्छन् । त्यसबारे परामर्श दिन आफूहरु सधैँ तयार रहेको द्वा बताउँछन् ।

सबै सिजनमा उत्पादन दिइरहने सयपत्री फूल नै पोखरा क्षेत्रमा बढी कारोबार हुन्छ । यमपञ्चकमा गोर्वर्द्धन पूजाको दिन फूलको कारोबार वर्षमै बढी हुन्छ । कृषक प्रोत्साहनका लागि नेपाल सरकारले पुष्प प्रवर्द्धन केन्द्रद्वारा अनुदानसमेत दिने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width