पीपीएल क्रिकेट सन्दीप र पारस टिमको पहिलो जित

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७५

पोखरा, १४ कात्तिक। सन्दीप लामिछाने र पारस खड्काको टिम पहिलो जित हात पार्दै पोखरा प्रिमियर लिग -पीपीएल) टि-२० क्रिकेट प्रतियोगिताको र्फममा आएका छन् । बुधबारको खेल जित्नै पर्ने दबाबबीच क्रिजमा आएका क्याप्टेन सन्दीपको विराटनगर टाइटन्स र पारसको चितवन राइनोजले खेल जितेर समान २-२ अंक जोड्न सफल भएका हुन् । यद्यपि, उनीहरुको लागि अन्तिम ३ भित्र पर्न आगामी खेल अंकगणितीय नै छ ।

यसअघि तीनै खेलमा पराजित विराटनगरले बुधबारको दोस्रो खेलमा लिग तालिकाको शीर्षता कायमै राखेको बुटवल ब्लाष्टरलाई १२ रनले पराजित गरेको हो । विराटनगरले दिएको १४१ रनको लक्ष्य पछ्याएको बुटवल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रनमै समेटियो । बुटवललाई अन्तिम ओभरमा १३ रनको आवश्यकता हुँदा किशोर महतोले उत्कृष्ट बलिङ गर्दै टिमलाई पहिलो जित दिलाएका हुन् ।

बुटवलका लागि भीम सार्कीले ५० रन सहित अर्धसतकको पारी खेल्दा सागर पुनले २९, शंकर रानाले २३ जोड्न सके । ४२ बलको सामना गरेका सार्कीले ४ चौका र १ छक्का हान्दा सागर पुनले ३३ बलमा ४ चौकासहित २९ रनको योगदान दिए ।  बुटवललाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले एकै ओभरमै २ विकेट लिए । अघिल्ला खेलको तुलनामा सन्दीपको बुधबारको खेल हेर्न लायक भयो । यस्तै, किशोर महतोले २ तथा साहव अलाम र सुनिल धमलाले समान १-१ विकेट झार्न सफल भए ।

त्यसअघि, टस जितेर व्याटिङ रोजेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन जोडेको थियो । ओपनिङ व्याट्सम्यान मोहम्मद जायद अलामले सर्वाधिक ७२ रनको योगदान दिए । विराटनगरलाई पहिलो जित दिलाउन उनले ४५ बलमा ६ चौका र ५ छक्का हाने । उनी प्रतियोगितामा म्यान अफ दी म्याच समेत घोषित भए । यस्तै, प्रदीप ऐरीले ४१ र बनाउँदा अन्य खेलाडीले भने सम्झनलायक रन बनाउन सकेनन् । बुटवलका लागि ललित भण्डारीले २ विकेट लिँदा विपिन खत्री, संसद शेख, सागर पुनले १-१ विकेट लिए ।

प्रतियोगितामा ३ खेल खेलेको बुटवलको यो पहिलो हार हो । २ खेल खेल्न बाँकी ऊ ४ अंकका साथ लिग तालिकाको शीर्षस्थानमै छ । सो प्रतियोगितामा विभिन्न विधाका विजेतालाई आइसिसीद्वारा फोटो अफ द इयर-२००७ का अवार्ड विजेता पोखरेली फोटो पत्रकार सुदर्शन रञ्जितलगायतले पुरस्कार हस्तान्तरण गरे ।

यस्तै, पारस खड्का कप्तानीको चितवन राइनोजले धनगढीलाई १२६ रनको फराकिलो अन्तरले पाखा लगाउँदै लिग तालिकामा २ अंक जोड्न सफल भयो । यसअघि घरेलु टिम पोखरा पल्टन र बुटवल बलाष्टरसँग पराजित चितवनले बुधबारको पहिलो खेलमा विजयी हुँदै प्ले अफ दी म्याचमा जाने सम्भावना जिवितै राख्न सफल भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको उसले २० ओभरमा ५ विकेट गुमाउदै महत्वपूर्ण १९३ रन बनाएको थियो ।  चितवनका लागि हरिशंकर शाह र अनिलकुमार शाहले पहिलो विकेटका लागि जारी प्रतियोगिताकै ठूलो १०१ रनको साझेदारी गरेका थिए । खेलमा अनिल ३७ रनमा रनआउट हुँदा हरिशंकरले सर्वाधिक ५३ रन जोडे । उनले ३३ बलमा ६ चौका र ३ छक्का हाने ।

स्मिथ पटेलले २४ र कप्तान पारस ९ बलमा १९ रन बनाए । बलिङतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी, डेन लरेन्स, योगेन्द्र कार्की र मञ्जित श्रेष्ठले १-१ विकेट लिए ।

फराकिलो लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको धनगढी १६.२ ओभर ६७ रनमै अलआउट हुन पुग्यो । १ रन पनि नजोडी २ विकेट गुमाएको उसले तेस्रो विकेट ७ रन छँदै खेर फाल्यो । सर्वाधिक २७ रन बनाएका पिटर ट्रेगो क्याचआउट हुन पुगे । उसका लागि बाँकी खेलाडी सस्तैमा आउट हुँदा चितवनका लागि भाग्यको ढोका खुल्यो । सन्नी पटेलले ४, स्थिम पटेलले २ र भुवन कार्कीले २ विकेट चट्काए । प्रतियोगितामा सन्नी पटेल म्यान अफ दी म्याच बने ।

विहीवारको पहिलो खेल चितवन राइनोज र हुलास काठमाडौं रोयल्स तथा दोस्रो खेल एक्र्सपर्ट धनगढी ब्लुज र बुटवल ब्लाष्टरबीच हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width