चितवनमा ९ देशका पोल्ट्री विज्ञहरु सिम्पोजियम

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७५
Poultry Symposium (1)_Fotor

चितवन, १२ कात्तिक। नेपालको पोल्ट्रीजन्य उत्पादनलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यसहित ९ देशका पोल्ट्री विज्ञहरुको सिम्पोजियम आइतबारबाट भरतपुरमा शुरु भएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले आयोजना गरेको अर्न्ताष्ट्रिय पोल्ट्री सिम्पोजियम नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट यूनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि संगठन, हेफरर्र् इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सह आयोजनामा शुरु भएको हो।

सिम्पोजियममा ९ देशका तीनसयभन्दा बढी वैज्ञानिकहरु सहभागी छन्। मुलआयोजक समितिका अध्यक्ष एवं कृषि तथा पशु विज्ञान विश्वविद्यालयका डिन प्राडा शारदा थपलियाले पोल्ट्री क्षेत्रमा अनुसन्धान तथा कामको सिलसिलामा प्राप्त नतिजाहरु सबैमाझ छलफल गरेर निचोड निकाल्ने उद्देश्यले सिम्पोजियम आयोजना गरिएको बताइन्।

तीन दिनसम्म चल्ने सिम्पोजियममा १ सय १५ वटा वैज्ञानिक र अनुसन्धान कार्यपत्रहरु प्रस्तुत हुनेछन्। कुखुराको व्यवस्थापन, रोग नियन्त्रण, प्रजनन्, स्थानीय जातका कुखुराको उत्पादन बृद्धिलगायतका विषयमा छलफल हुने प्राडा थपलियाले बताइन्। कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन् व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालन जस्ता विधाहरुमा छलफल हुने उनले जानकारी दिइन्।

गोष्ठीमा नेपालसहित जापान, अष्ट्रेलिया, भारत, जर्मनी, बंगलादेश, अमेरीका, भुटान र इजिप्टका वैज्ञानिक सहभागी भएका छन्। बिभिन्न विश्वविद्यालयका विज्ञहरु, पोल्ट्री क्षेत्रमा अनुसन्धान गरिरहेका विज्ञहरु, पोल्ट्री व्यवसायी, व्यवसायिक किसानहरुसहित यो क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता छ। सिम्पोजियममा यस क्षेत्रको नीतिगत सुधार, शिक्षालगायतका विषयमा पनि छलफल हुने उनले बताइन्।

‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्र्ति’ भन्ने मूल नाराकासाथ सिम्पोजियम शुरु भएको हो। कार्यक्रममा भारतीय पोल्ट्री साइन्स एशोसिएसनका उपाध्यक्ष प्राडा देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एशोसिएसनका उपाध्यक्ष डा नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउण्डेशन अष्ट्रेलियाका निर्देशक पिटर गु्रभ्सलगायतका विज्ञहरु सहभागी छन्।

भारतीय कृषि अनुसन्धान परिषद्, केन्द्रीय कुखुरा अनुसन्धान संस्थानका निर्देशक सुनिलचन्द्र गिरीलगायत विदेशी वैज्ञानिकहरू आउने क्रम जारी रहेको प्राडा थपलियाले जानकारी दिइन्।

अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियमको आइतबार भरतपुरमा प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे। सो अवसरमा बोल्दै उनले नेपालमा आत्मनिर्भर रहेको पोल्ट्री क्षेत्रको अध्ययन र अनुसन्धान गरी कम लागतमा उत्पादन बढाउन सिम्पोजियम सफल हुने विश्वास व्यक्त गरे। उनले कम खर्चमा सर्वसाधारणहरुलाई प्रोटिन उपलब्ध गराउन पोल्ट्री क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै पोल्ट्री क्षेत्रको विकासका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको भन्दै उनले कृषि प्रधान देश नेपालमा पोल्ट्री क्षेत्रको विकास गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गरे।

सो अवसरमा विश्वविद्यालयका उपकूलपति प्राडा इश्वरीप्रसाद ढकालले नेपाल पोल्ट्री उत्पादनमा आत्मनिर्भर रहेको भन्दै यो सिम्पोजियमले उत्पादन बृद्धि र व्यवसायिकरण गर्नमा योगदान दिने विश्वास व्यक्त गरे। भारत र चीन जस्ता छिमेकी मुलुकको तुलनामा नेपालको उत्पादन महंगो रहेको भन्दै उनले कम मूल्यमा गुणस्तरीय उत्पादन गराउन सिम्पोजियम फलदायी हुने बताए। देशको कुल उत्पादनको आधाभन्दा बढी पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा सिम्पोजियम हुनुले यहाँका कृषकहरु समेत लाभान्वित हुने उनको भनाई थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, कृषि तथा पशु विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, पोल्ट्री विज्ञ डा होमबहादुर बस्नेत, विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपति, डिन प्राडा शारदा थपलियालगायतले पोल्ट्री क्षेत्रमा देखिएका समस्याबारे प्रकाश पारेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width