बुटवल ब्लाष्टर शीर्षमा विराटनगरको दोस्रो हार

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७५

पोखरा, ११ कात्तिक। पोखरा प्रिमियर लिग (पीपीएल) टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बुटवल ब्लाष्टर र  एक्र्सपर्ट धनगढी ब्लुज विजयी भएका छन्। जारी प्रतियोगितामा बुटवल लगातार जित निकालेर सर्वाधिक ४ अंक जोडी लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ। यसअघि हार बेहोरेको धनगढीले आइतबारको खेलमा जित हात पार्दै महत्वपूर्ण २ अंक हात पार्‍यो।

पोखरा रंगशालाको क्रिकेट मैदानमा आइतबारको पहिलो खेलमा धनगढीले विराटनगर टाइटन्सलाई ७८ रनले हराउन सफल भएको हो। १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ओभरमा अलआउट हुँदै १०४ रनमा समेटियो। २ खेल खेलिसकेको विराटनगर जितको खोजीमा छ। यसअघि, विराटनगर उद्घाटन खेलमा पोखरा ब्लाष्टरसँग हार बेहोरेको थियो। ऊ लिग तालिकाको अन्तिममा परेको छ।

धनगढीसँग आइतबारको प्रतिष्पर्धामा विराटनगरका लागि सुनिल धमलाले सर्वाधिक २१ रन बनाए। उनले १४ बलमा ४ चौका हाने। त्यस्तै, मोहम्मद जाइद अलामले १९ र एन्ड्रयु सुविक्सानले १८ रन जोडे। टिम क्याप्टेन सन्दीप लामिछानेले १० रन जोडेपनि अन्य खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन्।

विराटनगरलाई सस्तैमा समेट्न धनगढीका डेनियल लसेन्सले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा पिटर टे्रगो, कमलसिंह ऐरी र रोविन क्षेत्रीले समान १/१ विकेट झारे। खेलमा पिटर ट्रेगो प्लेयर अफ दी म्याच घोषित भए।

यसअघि, टस हारेर पहिले व्याटिङ गरेको धनगढीले विराटनगरलाई २० ओभरमा अलआउट हुँदै महत्वपूर्ण १८२ रन बनाएको थियो। धनगढीका लागि पिटर ट्रेगोले अर्धशतक प्रहार गरे। ५३ रन जोडेका उनी सन्दीप लामिछानेबाट क्याच आउट भएका थिए।

ट्रेगोले ३८ बलमा २ चौका र ४ छक्का हानेका थिए। त्यस्तै, सौरभ खनालले ४१ रनको योगदान दिए। उनले १३ बलमा २ चौका र ५ छक्का हाने।  दीपेन्द्रसिंह ऐरीले २९ रन बनाउँदा १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

सन्दीप जोराले १२ रन र रोविन क्षेत्रीले १० रन जोडे। विराटनगरका लागि जितेन्द्र मुखियाले ४ तथा किशोर महतो, सुनिल धमाल, सन्दीप लामिछाने र मुहम्मद जाइदले १-१ विकेट लिए। यसरी एक खेलमा जित निकालेकोले धनगढी ब्लुज शनिबार काठमाडौं रोयल्ससँग पराजित भएको थियो।

अर्को खेलमा बुटवल ब्लाष्टरले घरेलु टिम पोखरा पल्टनलाई ३३ रनमा पराजित गर्दै लगातार जित निकालेको छ। जितका लागि १५१ रनको लक्ष्य पाएको पोखरा २० ओभरमा ९ विकेट क्षतिमा ११७ रनमा समेटिन पुग्यो।

टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा ७ विकेट क्षतिमा १५० रन बनाएको थियो। खेलमा उसले ५ रन हुँदा पहिलो विकेट गुमाउन पुगेको थियो र २० रनमा दोस्रो विकेट खेर फाल्यो। ओपनर चिराग सुरी ५ तथा सागर पुन २ रनमा आउट भए। खेलमा भीम सार्कीले अर्धसतकीय पारी खेले। उनले ४६ बलमा ५४ रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै सोमपाल कामी २२ रनमा रनआउट भए।

पोखरालाई सस्तैमा समेट्न क्याप्टेन सोमपाल कामीले एकै ओभरमा २ विकेट लिए। त्यस्तै, ललित भण्डारी, विपिन खत्री, रोहन मुस्ताफाले समान २/२ विकेट लिए। यस्तै, सागर पुनले १ विकेट झारे। खेलमा बुटवलका रोहन म्यान अफ दी म्याच घोषित भए।

मध्यम सुरुवात गरेको पोखरा ३१ रनमा पहिलो विकेट गुमायो। ओपनर कुशल भुर्तेल ९ रनमा आउट भए। आशिफ शेख पनि २० रनमा आउट भएपछि उसको दोस्रो विकेट झर्‍यो। क्याप्टेन शरद भेषवाकरले १९ रन बनाए।

रविइन्दर सिंहले ११ रन र रोहितकुमार पौडेलले २ रन बनाउन सके। एकपछि अर्को विकेट गुमाएको पोखराले ७८ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो। पोखरा पल्टनले उद्घाटन खेलमा विराटनगरलाई हराउँदै महत्वपूर्ण २ अंक जोडेको छ।

सोमबारको पहिलो खेल विराटनगर टाइटन्स र हुलास काठमाडौं रोयल्सबीच हुनेछ। दोस्रो खेलमा चितवन राइनोज र पोखरा पल्टन भिड्ने आयोजकले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width