Worldlink ads

बडादशैँ आजदेखि शुरु

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५
Dashain

काठमाडौँ, २४ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ बुधबारदेखि शुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूणिर्मासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

घटनास्थापनादेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूपक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले यो रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

पहिलो दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । बुधबार घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐर्श्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।  टीकाको साइत ९:५१ मा

विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताए । विजया दशमीदेखि कोजाग्रत पूणिर्माका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूणिर्माका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐर्श्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूणिर्माकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा बुधबारदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर र्फकने र परिवारका साथ बसेर चाड मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

घटनास्थापनादेखि नै धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा र्सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने यस वर्ष कटौती गरिएको छ । यस वर्ष दशैँको बिदा पनि असोज ३० गते फूलपातीदेखि कात्तिक ३ गते एकादशीसम्म दिइएको छ ।

Related News

सम्बन्धित समाचार

    • नेपालको जनसंख्या ३ करोडभन्दा कम

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। तीमध्ये…
    • राष्ट्रिय सभा उपचुनाव आज

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । राष्ट्रिय सभाको उपनिर्वाचन बुधबार हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । सबै प्रदेशका…
    • निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

      रासस माघ ११, २०७८
      काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं…
    • दैनिक १८ घण्टा विद्युत् भार कटौती

      रासस माघ ११, २०७८
      सिमकोट । हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत् भार कटौती गर्दै…
    • सिद्धबाबा सुरुङमार्ग निर्माण अघि बढ्यो

      रासस माघ ११, २०७८
      काठमाडौं । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा…

    hero news full width