नेकपा कास्कीको पहिलो बैठक स्थानीय तहमा संयन्त्र तय

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५
NCP Pressmeet_Fotor

पोखरा, २२ असोज । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको झण्डै एक वर्षपछि कास्कीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्रको पहिलो बैठक बस्यो । बैठकले पार्टीको पोखरा महानगरसहित पाँच स्थानीय तहमा दुवै पार्टीको बराबर हिस्सा रहने गरी संयन्त्र गठन लगायत निर्णय गरेको छ ।

केन्द्रीय कमिटी सदस्य तथा जिल्ला संयन्त्र सदस्य मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले सोमबार पत्रकार सम्मेलनमार्फत सो सार्वजनिक गर्‍यो । निर्णयअनुसार पार्टीको स्थानीय कमिटी एकीकृत हुन बाँकी रहेको अवस्थामा पार्टीको काम कारबाही सुचारु राख्न महानगरमा १० सदस्यीय महानगर संयन्त्र र ६ सदस्यीय गाउँपालिका संयन्त्र, ६ सदस्यीय वडा संयन्त्र गठन गरिएको छ । पार्टीको केन्द्रीय कमिटीको विशेष परिपत्र-३ र गण्डकी प्रदेश संगठन कमिटीको परिपत्र-१ निर्देशनबारे बैठकमा सहभागी पार्टीका जिम्मेवार सदस्यलाई जानकारी गराइएको पत्रकार सम्मेलनमा संयन्त्र सदस्य जिसीले बताए ।

उनका अनुसार बैठकले पोखरा महानगरपालिका ९, नयाँबजारस्थित नेकपा जिल्ला पार्टीकार्यालय र शिवालयचोकमा पार्टीको महानगर संगठन कमिटी कार्यालय रहने निर्णय गरेको छ । संयन्त्रमा स्थानीय कमिटी पदाधिकारीमध्येबाट रहने निर्णय भएको थियो ।

जिसीका अनुसार महानगर संयन्त्रमा तत्कालीन नेकपा एमालेबाट कृष्ण थापा, प्रभा कोइराला, तेजनारायण अधिकारी, शंकरनाथ पौडेल र दिलीप न्यौपाने छन् । माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने, भीमबहादुर बिक, गोमा ढकाल, विनय थापा र जनकराज पराजुली चयन भए । रुपा गाउँपालिका संयन्त्रमा एमालेतर्फबाट सवाबक्स मियाँ, नवराज ओझा र पुष्पराज सुवेदी तथा माओवादी केन्द्रबाट शिव खनाल, निर्मला सुवेदी र अमरदीप पराजुली छन् ।

मादी संयन्त्रमा एमालेबाट पदमप्रसाद पौडेल, बुद्धिसागर सापकोटा र बालकृष्ण गुरुङ तथा माओवादी केन्द्रबाट मित्रबहादुर तमु, लालबहादुर तमु र कृष्णराज दाहाल रहे । त्यस्तै, अन्नपूर्ण गाउँपालिका संयन्त्रमा एमालेबाट लक्ष्मीप्रसाद अधिकारी, गौरीप्रसाद सुवेदी र विष्णुबहादुर केसी तथा माओवादी केन्द्रबाट धर्मबहादुर तमु, गोविन्द अधिकारी र भेषराज पौडेल चयन भए ।

उता, माछापुच्छ्रे गाउँपालिका संयन्त्रमा एमालेबाट जगन्नाथ बास्तोला, विष्णुबहादुर केसी र कर्ण्र्ााहादुर गुरुङ  छन् भने माओवादी केन्द्रबाट प्रणिना अधिकारी, टेकनाथ गौतम र बैकुण्ठ भण्डारी रहनेछन् ।

कास्कीमा पोखरा महानगरपालिका र चार वटै गाउँपालिका संयन्त्र बैठक जिल्ला संयन्त्रसँग समन्वय गरी तत्काल बस्ने निर्णय पनि बैठकले गरेको छ । वडास्तरमा भने तोकिएको संख्या आधारमा संयन्त्र बनाइनेछ ।

पार्टीको विधान, नियमावली र निर्देशनअनुसार पार्टीको काम कारबाही, जनप्रनिधिसँगको समन्वय, पार्टीकार्यालय व्यवस्थापन, पार्टीको सम्पत्ति, सदस्यले पार्टीएकीकरणको काममा जिल्ला संयन्त्रलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै, नजिँकिएको चार्डपर्व दसैं, तिहार, नेपाल सम्बत्, छठ, इद, ल्होसार र माघि अवसरमा जिल्ला संयन्त्रले घटस्थापनाको बिहान पोखरा सभागृहमा चियापान तथा शुभकामना आदानप्रदानको कार्यक्रम गर्दैछ । महानगर, गाउँपालिका र वडा संयन्त्रले स्थानीयस्तरमै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरिएको जनाइएको छ ।

जिसीको अध्यक्षतामा बसेको नेकपा कास्कीको पहिलो बैठकमा पार्टीस्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य तथा सह-इञ्चार्ज खगराज अधिकारीको समेत उपस्थिति थियो । प्रदेश अध्यक्ष हितराज पाण्डे र प्रदेश सचिव गोविन्दबहादुर नेपालीको समेत सहभागिता रहेको बैठक शिवालयचोकस्थित महानगर संगठन कमिटी कार्यालयमा बसेको हो । यसअघि गठित जिल्ला संयन्त्रमा तत्कालीन एमालेबाट मानबहादुर जिसीसहित कृष्ण केसी, दामोदर बैरागी, प्रभा कोइराला र मनबहादुर गुरुङ छन् भने माओवादीबाट राजकाजी गुरुङ करण, दीपक कोइराला, रामजी बराल, बखानसिंह गुरुङ र गायत्री गुरुङ छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width