माइक्रोबस र ट्रक ठोक्किदा ६ को मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७५

बाँके, २० असोज । पूर्व-पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान ट्रक र माइक्रो बस एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्इ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नंको माइक्रोबस र नेपालगञ्जबाट विपरीत दिशातर्फ जाँदै गरेको लु१ख ७७२९ नंको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका-९, मुगुवा खोला नजिकै एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा एक जनाको अझै सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । मृतक सबै दाङ तुलसीपुरका हुन् ।

मृत्यु हुनेमा ३० वर्षीय तुलसी रावत, २६ वर्षीया वसन्ती चौधरी, ४० वर्षीया नारायणी श्रीस, ३० वर्षीया दोर्णा बुढाथोकी र माइक्रो बसका चालक ३९ वर्षीय सुगन चौधरी रहेको छ । मृतकको शव परीक्षणका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको छ । दुर्घटनामा परी घाइते सबैको पहिचान खुलिसकेको छ । उनीहरूको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते हुनेमा दाङ तुलसीपुर-१ का २८ वर्षीय मोहन जोशी, वडा नं ३ की २३ वर्षीया अञ्जली वर्मा, वडा नं ५ की ५० वर्षीया धनीसरा चौधरी, २४ वर्षीया गीता भण्डारी र २२ वर्षीया अञ्जली पुन रहेको छ ।

त्यस्तै वडा नं ६ की ४० वर्षीया इन्दिरा केसी, ४२ वर्षीया इश्वरी विक, ३६ वर्षीया कल्पना बस्नेत र ४९ वर्षीय टेकबहादुर सुनार, वडा नं ७ की २१ वर्षीया कृष्णाकुमारी रिजाल, ४८ वर्षीया मनकुमारी वली र वडा नं ८ का २३ वर्षीय प्रेम बुढा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते हुनेमा रोल्पा थवाङ गाउँपालिका-२ का ४२ वर्षीय कर्मबहादुर बुढा र ४३ वर्षीया रासकुमारी रोका, सल्यान छायाँछत्र गाउँपालिका-३ की २२ वर्षीया मीना योगी र शारदा नगरपालिका-१४ की ३० वर्षीया चन्द्रकला पुन छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width