भ्रमण फलदायी : प्रधानमन्त्री

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७५
Rss_Images_1538660947599_RoS_KTM_20181004_IMG_0740

काठमाडौँ, १८ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवर्द्धनमा सफल रहेको बताएका छन्।

संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई विहीवार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले अतिकम विकसित र भूपरिवेष्ठित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा नेपालले उठाएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भने, “मैले संविधान जारी भएसँगै राजनीतिक सङ्कटकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याएको र नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषयसहित १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृद्धिको दिशा र सुशासनको नीतिका बारेमा धारणा राखेँ।”

उनले समकालीन विश्वका समस्या सम्बोधन गर्न अन्तरराष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिइएको अवगत गराए। “जलवायु परिवर्तनले पर्वतीय पर्यावरणमा पारेको प्रभाव न्यूनीकरण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न साधनस्रोतको आवश्यकता औँल्याउँदै मानवअधिकार, आतङ्कवादलगायत विश्व राजनीतिका विविध विषयमा नेपालको स्पष्ट धारणा राखेको छु”, उनले भने।

प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घले विश्वका अतिगरीब र जोखिममा रहेका राष्ट्रको समस्या सम्बोधन गर्न खेलेको भूमिकाको सराहना गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को उद्देश्य हासिल गर्न अन्तरराष्ट्रिय सहयोग र सद्भावका लागि समेत आग्रह गरिएको बताए।

प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग छुट्टै भेटघाट गरी नेपाल र राष्ट्र सङ्घसँग सम्बन्धित शान्ति, विकास, सहकार्य र सहयोगसम्बन्धी विषयमा कुराकानी गरेका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पसँग पनि  भेट गरेका थिए।  महासभाकै अवसरमा उनले क्यानडा, स्वीट्जरल्याण्ड, बेलायत, कम्बोडियालगायत मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखसँग उच्चस्तरीय द्विपक्षीय भेटघाटसमेत गरेका थिए।

उनले न्यूयोर्कस्थित एशिया समाजद्वारा आयोजित  कार्यक्रममा नेपालको शान्ति, लोकतन्त्र र विकास विषयमा सार्वजनिक सम्बोधन पनि गरेका थिए।

महासभामा सहभागिताका अतिरिक्त मध्यअमेरिकी मुलुक कोस्टारिकाका राष्ट्रपति कालोर्स अलभादो क्येसादाको निमन्त्रणामा सो मुलुकको औपचारिक भ्रमण गरी द्विपक्षीय सम्बन्धमा थप विस्तार र सुदृढ गर्ने विषयका अतिरिक्त जलवायु परिवर्तन, महिला सशक्तीकरण, कानूनी शासन, कृषि, आणविक अप्रसारण, शान्ति तथा दुर्इ मुलुकबीच द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीले उल्लेख गरे।

ओलीले कोस्टारिकाको सान होजेस्थित राष्ट्रसङ्घीय शान्ति विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा सहभागी भई विश्वविद्यालयका विद्वत् वर्ग, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी उच्च अधिकारी एवं विद्यार्थी उपस्थित समारोहलाई सम्बोधन गरेका थिए। उक्त विश्वविद्यालयले उनलाई सम्मानार्थ विद्यावारिधि पनि प्रदान गरेको थियो।

भ्रमणमा नेपालमा लामो सङघर्षपछि आएको परिवर्तन र नेपालीको विकासको चाहना पूरा गर्न वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमका बारेमा एकै ठाउँबाट अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउने अवसर मिलेको बताए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width