‘प्रदेशलाई सुसंस्कृत बनाउने अभियान’

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५

पोखरा, १७ असोज । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई सुसंस्कृत र समृद्ध बनाउने अभियान रहेको बताएका छन् ।

पोखरा-११, फूलबारीस्थित रामेश्वर मन्दिरको सभाकक्षमा सञ्चालित दार्शनिक प्रवचन समारोहबीच बुधबार मन्दिरका विभिन्न सहयोगीदातालाई सम्मान गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

त्यस अवसरमा प्रमुख अतिथि गुरुङले भने, ‘विश्वले नै शिक्षा लिनुपर्ने नेपाल त्यस्तो देश हो, जहाँ विभिन्न धर्मबीच सहिष्णुता र सद्भाव छ ।’

इमान्दारीपूर्वक आफ्नो कर्त्तव्यपालन गर्नु मानव धर्म भएको उल्लेख गर्दै मन्त्री गुरुङले दार्शनिक प्रवचनले सबैमा पवित्र भावना फैलाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्दिरका अध्यक्ष वेदराज बास्तोलाले सम्मानबारे जानकारी गराएका थिए । कार्यक्रम संचालन ऋषभ बास्तोलाले गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा मन्त्री गुरुङलाई सम्मान गरिएको थियो ।

प्रवचनलाई निरन्तरता दिँदै कृपालुजी महाराजकी कृपापात्र प्रचारिका श्रीश्वरी देवीले विश्वका प्रत्येक जीवमा भगवान्को अंश रहेको र भगवान् आनन्दस्वरुप भएकोले जीव आनन्दको पनि अंश भएको बताइन् ।

उनले भनिन्, ‘कलि युगमा भगवान् भक्तिको सहज माध्यम हरिनाम संकीर्तन हो ।’

साथै उनले कर्म सन्न्यास र कर्मयोगको माध्यमबाट जीवनमा आनन्दी र भगवान् प्राप्त गर्न सकिने बताइन् । साधना कार्यक्रमको लागि निर्धारित समय दुर्इ दिन थप भएको छ । शुक्रवारसम्म चल्ने कार्यक्रममा योग अभ्यास गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width