पोखराबाट पिपल्स् एक्सन पार्टीघोषणा

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५

पोखरा, १५ असोज । नयाँ राजनैतिक दल पिपल्स् एक्सन पार्टीले नेपालमा मृत्युदण्ड व्यवस्था शुरु गर्ने बताएको छ। ‘शान्ति, सुरक्षा र समृद्धि हाम्रो दर्शन हो’ भन्ने नारा बोकेर पाँचतारे होटल पोखरा ग्राण्डमा घोषणा गरिएको उक्त पार्टीले मृत्युदण्डको व्यवस्था शुरुवात गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।

पिपल्स् एक्सन पार्टी नेपालका अध्यक्ष बलराम थापामगरले ३१ बुँदे घोषणपत्र वाचन गर्दै नेपालमा नयाँ व्यवस्थाको शुरुवात गर्न पार्टीघोषणा गरिएको दाबी गरे । उनले आफ्नो पार्टीसत्तामा गएपछि लागू गर्ने विभिन्न कार्यक्रमहरु बुँदागत रुपमा पढेर सुनाएका थिए। पिएपी नेपालको घोषणापत्रमा निःशुल्क शिक्षा नीति, बालबालिकाको संरक्षण नीतिलाई सबैभन्दा बढी जोड दिइएको छ।

पिएपीले राष्ट्रियताको अधिकारमा एक पटकको नेपाली सँधैको नेपाली, पुस्तादेखी पुस्ता सम्म वंशजको नाताले उ सँधैको लागी नेपाली हुनेछ भन्ने घोषणापत्रमा उल्लेख गरेको छ। ‘१८ वर्ष पुगेपछि हरेक नेपाली नागरिकले दुर्इ वर्ष अनिवार्य रुपमा राष्ट्रको सेवा गर्नुपर्नेछ’ अध्यक्ष थापामगरले भने, ‘दुर्इ वर्ष राष्ट्र सेवा गरेपछि हरेक युवा गलत कार्य गर्नबाट बच्नेछ, उनीहरुले अनुशासन र कानुनी शासनबारे सिक्नुका साथै देशलाई संकट परेको बेला योगदान दिनेछन्।’

पार्टीका उपाध्यक्ष नरेश कोन्मेले पार्टीले प्रहरीले जनतालाई दिनुपर्ने सेवा प्रभावकारी रुपमा दिए/नदिएबारे छानविन गर्न स्वतन्त्र प्रहरी आयोग गठन गरिने पार्टीको नीति रहेको बताए। ‘नेपालका ७७ वटै जिल्लामा जागिर केन्द्र अर्थात जब सेन्टर खोलिनेछ’ उपाध्यक्ष कोन्मेले भने । उनले पार्टीको नेपाल कल्याण सेवा नीतिअन्तर्गत हरेक नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने र बालबालिकालाई १५ वर्ष नपुगेसम्म बालबालिका भत्ता उपलब्ध गराइने बताए। ‘घरबारविहीन नागरिकका लागि सरकारी घर उपलब्ध गराइनेछ। यसका लागि उनीहरुले न्यूनतम शुल्क तिर्नुपर्नेछ,’ उनले भने। उनका अनुसार नेपालमा आवतजावत गर्न राहदानी प्रणाली लागू गरिनेछ। पार्टीको श्रम कैद नीतिअन्तर्गत हरेक कैदीले अनिवार्य रुपमा दैनिक १५ घण्टा काम गर्नुपर्ने व्यवस्था लागू गरिने उनले बताए। घोषणापत्रमा प्रधानमन्त्रीको पदावधि ५ वर्षको मात्रै हुने र एकपटक प्रधानमन्त्री भएपछि फेरी हुन नपाइने उल्लेख छ। पार्टीघोषणा कार्यक्रम शुरु हुनु अघि अध्यक्ष लगायत पदाधिकारीलाई पोखरा ग्राण्डको गेटबाट पञ्जेबाजासहित कार्यक्रमस्थल प्रवेश गराइएको थियो। त्यस अवसरमा सामाजिक अभियन्ता इन्दिरा रानामगर, बेलायती सेनाका भूपू कणेल जेपी क्रस लगायतको उपस्थिति थियो। पार्टीका भूपू गोर्खा सैनिकहरुको वर्चश्व छ।

Related News

सम्बन्धित समाचार

hero news full width