काहूँडाँडामा पर्यटन दिवस

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५
tourism day

पोखरा, ११ असोज। पोखरा-११ काहूँडाँडामा ३९ औं विश्व पर्यटन दिवस मनाइएको छ। गण्डकी प्रदेशका कृषि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित सांसद बिन्दुकुमार थापा, जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीय बुद्धिजीवी, स्थानीय आमा समूह र युवा क्लबका पदाधिकारी तथा सदस्य, पत्रकार र संचारकर्मी पोखराको काहुँडाँडास्थित त्यहाँको भ्यू-टावर र काहुँदेउराली मन्दिर पुगेर यस वर्षको विश्व पर्यटन दिवस कार्यक्रमको शुरुवात गरेका हुन् ।

‘टुरिजम एण्ड डिजिटल ट्रान्सफर्मेसन’ अर्थात र्ँपर्यटन र सूचनाप्रविधि रूपान्तरण’ भन्ने यस वर्षको पर्यटन दिवसको मूल नारासहित पर्यटन बोर्डको प्रबर्द्धन, पर्यटन यातायात समितिको संयोजन र स्थानीय फूलबारी क्लबको व्यवस्थापनमा पोखरा पर्यटन परिषदले कार्यक्रमको आयोजना गरेको हो ।

पोखरामा आन्तरिक तथा बाहृय पर्यटकको बसाइँ अवधि वृद्धि गर्ने योजनासहित काहुँडाँडामा मनाइएको पर्यटन दिवसले पोखरामा मात्र नभइ आसपासका क्षेत्रमा समेत पर्यटन क्षेत्रको प्रबर्द्धन र विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । मन्त्री लम्सालले गण्डकी क्षेत्रको पर्यटनको विकास र प्रबर्द्धनका लागि पर्यटन नीति बनाउने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गरे । उनले पर्यटन क्षेत्र मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

पर्यटन क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न प्रदेश सरकारले ऐनको ड्राफ्ट तयार पारेको मन्त्री लम्सालको स्पष्टोक्ति थियो । मन्त्री लम्सालले भने, र्ँपर्यटनको विकास र प्रबर्द्धनमार्फत गण्डकी प्रदेशलाई समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य छ ।’

सांसद विन्दुकुमार थापाले गण्डकी प्रदेशको पर्यटन क्षेत्र विकासका मूल आधार रहेको चर्चा गरे । कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षत्री अधिकारीले स्थानीय अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताए । अमेरिकी राजदूतावासका काउन्सिलर जेम्सले यहाँको प्रकृति र संस्कृति नै पर्यटन विकासको मेरुदण्ड रहेको चर्चा गरे ।

कार्यक्रममा पर्यटनविज्ञ बासु त्रिपाठी, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल, पर्यटक यातायात समितिका अध्यक्ष बोबरजंग गुरुङ लगायतले बोलेका थिए ।

पोखरा-११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मीनबहादुर गुरुङले स्वागत मन्तव्य र फूलबारी क्लबका सचिव दामोदर आचार्यले कार्यक्रम संचालन गरेका  थिए ।

संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको आहृवानमा हरेक वर्षको २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाउँदै आएको हो । नेपाललगायत विश्वभर विविध कार्यक्रमका साथ पर्यटन दिवस मनाइन्छ । पर्यटकीय गन्तव्यका रुपमा परिचित पोखरामा पनि हरेक वर्ष विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width