प्रहरीद्वारा अभियुक्त सार्वजनिक, ढुंगाले हानेर मारेको बयान

पोखरामा श्रेया हत्याकाण्ड

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७५
crime press meet

पोखरा, १० असोज। पोखरा-२२, पुम्दीभुम्दीमा मंगलबार मृत भेटिएकी श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ। छिमेकी कुसुम पौडेलले चक्लेट किन्ने पैसा दिएर प्रलोभनमा पारी बलात्कार गरेको तथ्य खुलेको छ।

कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न आरोपी पौडेललाई सार्वजनिक गरेको हो। पौडेलले पत्रकार सम्मेलनमै बलत्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। ‘हो, मैले नै बलात्कार गरेर हत्या गरेको हुँ,’ उनले भने, ‘घटनाको १३ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय पौडललाई पक्राउ गर्न सफल भएको हो। कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएको श्रोतले जनायो।

सोमबार साँझ हजुरआमासँग पैसा मागेर पसलमा बिस्कुट किन्न गएकी श्रेया मंगलबार बिहान मृत फेला परेपछि एकाएक तरंग फैलिएको थियो। हत्या आशंमा प्रहरीले अभियुक्तको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन गरेको थियो। कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएपछि प्रहरीले छिमेकीलाई घेरामा राखेर अनुसन्धान थाल्यो। केही छिमेकीहरुलाई नियन्त्रणमा लिएर केरकार गर्दै जाँदा कुसुमले हत्या गरेका स्वीकार गरेका थिए। कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्की, प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदी सहितको टोलीले अनुसन्धान गरेको थियो।

यसरी भयो घटना

बाबुले छोडेपछि श्रेया र उनकी आमा मामाघरमै बस्थे। नजिकैको लिला आधारभूत स्कूल ३ कक्षा पढ्ने उनी सदाझैं सोमबार स्कूलबाट फर्किइन्। घर आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर पसल गइन्, जहाँ गाउँका धेरैले रक्सी पिउने ठाउँ पनि हो। त्यसैले पसलमा साँझपख धेरै भीडभाड हुन्छ। सोही पसलमा दिउँसो रक्सी टन्न पिएर बाँकी रक्सी बोकेर कुसुम साथीहरुसँग गाउँमाथि डाँडामा गए। सबैजना सँगै बसेर रक्सी दिनभरी पिए। साँझ सवा ६ बजेतिर कुसुम चुरोट किन्न पसल झरे। सोही क्रममा उनले श्रेयालाई देखे। कुसुमले श्रेयालाई आफूतिर बोलाए। त्यसपछि ५ रुपैयाँ दिए। श्रेया फुरुङ्ग भइन्। १० मिटर तल झरेपछि फेरि १० रुपैयाँ दिएर श्रेयालाई समाते। श्रेया चिच्याइन्। श्रेयाले प्रतिकार गर्न खोजेपछि कुसुमले उनलाई झाडीमा हुत्याइदिए। झाडीमा कपडा खोलेर जबर्जस्ती गर्न खोजेपछि श्रेया झनै ठूलो स्वरमा कराइन्। कुसुमले श्रेयाको घाँटी थिचिदिए र जबर्जस्ती बलात्कार गरे।

त्यतिबेलासम्म श्रेया बेहोस भैसकेकी थिइन्। कुसुमले नजिकैको ढुंगा उठाए र उनको अनुहार, टाउकोमा बजारे। श्रेयाको हत्या भएपछि उनी मूलसडक निस्किए। पानीको मूलमा हातखुट्टा पखाले र खाजाघरमा बसेर चुरोट पिए। कुसुमकी श्रीमती दूध किन्न आउँदा देखेपछि दुवैजना सँगै घर गए। कुसुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाएको तथ्य प्रहरीको अनुसन्धानबाट खुलेको छ। घरमा श्रीमती र करिब ८ वर्षको छोरा छ।

यता, दुकान गएकी श्रेया राति अबेरसम्म नफर्केपछि उनी खोजी शुरु भयो। मनमा चिन्ता लिएर परिवारले रात कटाए। बिहान स्थानीय तुलसीप्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिंडे। बाटोमा डिल भत्केको देखियो। झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो। ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे। हजुरबुबाले नै प्रहरीलाई खबर पुर्‍याएका हुन्। मंगलबार बिहान ८ बजे शव भेटिएको जानकारी पाएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए। घटना भएको थाहा पाउनेबित्तिकै उनकै कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

बलात्कारपछिको हत्या आशंकामा स्थानीयको दाबी बढेपछि प्रहरीले पोष्टमार्टम रिपोर्टका लागि स्वतन्त्र डाक्टरलाई निकाल्न लगाउने आश्वासन दिएर शव अस्पताल पुर्‍याइएको हो। पोष्टमार्टममा संलग्न डाक्टरहरुले श्रेयाको बलात्कार भएको रिपोर्ट प्रहरीलाई दिए। यसअघि शंका मात्रै गरिएको घटनामा बलात्कारको पुष्टि भयो। हत्या आरोपमा पक्राउ परेका पोखरा-२२, पुम्दीभुम्दीका कुसुम श्रीमती र छोरासँग बस्छन्। आमाबाबु र परिवारसँग उनी अलग्गै बस्दै आएका थिए।

लामो समय वैदेशिक रोजगारीमा गएर फर्केका उनी डेढ वर्षदेखि घरमै बसेका छन्। कहिलेकाहीँ कन्स्ट्रक्सन लेवरको रुपमा काम गर्दै आएका छन्। केही समयअघि पनि श्रीमतीले छोराको पढाइका लागि लिएको ५० हजार रुपैयाँ ऋणको पैसा लिएर उनी बेपत्ता भएका थिए।

स्थानीयको दबाब

बालिकाको बलात्कारपछि हत्या भएको भन्दै पुम्दीभुम्दी र पोखराका पनि सवसाधारणले स्वःस्फूत रुपमा बुधबार जुलुश निकाले। उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दबाबस्वरुप नाराबाजी गरेका थिए। कोदीबाटै जुलुश सहित आएका उनीहरुले हत्यारालाई फाँसीको माग गरे। उनीहरु जिल्ला प्रशासन कार्यालयमा एक घण्टासम्म धर्ना बसेका थिए।

घटना जघन्य भएकाले दोषीलाई कडा कारबाही हुने कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

कुसुममाथि कर्त्तव्य ज्यान मुद्दा दायर गरिएको छ। मुलुकी अपराध संहितामा बलात्कारपछि हत्या गर्ने अपराधीलाई जीवित रहँदासम्म (आजीवन) कैद सजाय हुने व्यवस्था छ। कुसुमको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढिसकेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

के हुँदैछ पुष्पा केसी र बोधी लामाको घटना ?

पछिल्लो समय कास्कीमा केही शंकास्पद घटना भए। महिलालाई लक्षित गरेर भएका घटनामा धेरै शंका उपशंका पनि चलिरहेका छन्। विशेषगरी पोखरा लामाचौरकी पुष्पा केसी र पामेकी बोधी लामाको घटना बढी शंकास्पद भन्दै प्रहरीले पनि विशेष चासोका साथ अनुसन्धान गरिरहेको छ। तर घटना नजिक पुग्न निकै कठिन भएको प्रहरी उपरीक्षक राना बताउँछन्।

‘घटना भएको धेरै लामो समयपछि हामीले खबर पायौं। घटनास्थलमा कुनै प्रमाणहरु फेला पारेनौं,’ उनले भने, ‘अहिले पनि धेरै एंगलबाट खोजी चलिरहेको छ। टेक्नोलोजीबाट पनि छानबिन गरिरहेका छौं। अलि समय लाग्छ। तर रिजल्ट आउँछ।’

Related News

सम्बन्धित समाचार

hero news full width