उद्योग वाणिज्य संघमा कार्यसमितिको पदस्थापन

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५
pcc

पोखरा, ८ असोज। पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यले सोमबार पदभार ग्रहण गरेका छन् । संघमा शनिबार सम्पन्न ३२ औं महाधिवेशनबाट दामु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

संघ कार्यालयमा सोमबार आयोजित समारोहमा उनीहरुले पदभारग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष  अधिकारीले यसअघि नै निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठको उपस्थितिमा निवर्तमान अध्यक्ष विश्वशंकर पाखिलेबाट पद तथा गोपनियताको शपथ लिएका थिए  । सोमबार अधिकारीले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाए ।

शपथपछि नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यलाई संघका निवर्तमान अध्यक्ष पालिखेले संघका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेश सांसद विन्दुकुमार थापा, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा पदस्थापन गराएका थिए ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन समिति,प्रमुख अतिथि, अतिथि, संघका सम्पूण्ा सदस्य, सुरक्षा निकाय लगायतलाई धन्यवाद ज्ञापन गरेको छ।

संघका पूर्व अध्यक्ष एवं सांसद विन्दुकुमार थापाले बधाई ज्ञापन गर्दै निजी क्षेत्रको दह्रिलो संस्था बनाउन आग्रह गरे। स्थानीय निकायले एक्कासी गरेको करको दर वृद्धि, मूल्यवृद्धि जस्ता समस्यामात्र नभएर उद्योगी/व्यवसायीहरुको आवाज बुलन्द पार्नको लागि निश्चित योजनासहित अगाडि बढ्नु पर्नेमा उनले जोड दिए।

संघका निवर्तमान अध्यक्ष पालिखेले चुनावमा देखिएको तिक्तता बिर्सेर एक हुन विजेता अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई आग्रह गरे।

धन्यवाद ज्ञापन गर्दै संघका नव निर्वाचित अध्यक्ष अधिकारीले उद्योगी/व्यवसायीहरुको म्याण्डेटले विजयी बनेको वर्तमान कार्य समिति नै सही अर्थमा आफ्नो टिम भएको बताए। ‘हिजो चुनाव लड्दै गर्दा सीमित व्यक्तिले बनाएको टिम थियो,’ उनले भने, ‘त्यो टिम पेन्सिलले लेखिएको थियो, मार्करले लेखिएको थिएन, त्यसैले त्यो मेटिएको छ।’ उनले आफू सबैलाई समेटेर उद्योगी व्यवसायीको पक्षमा काम गर्न तयार रहेको उद्घोष पनि गरे। शपथग्रहण कार्यक्रमको संचालन संघका सदस्यता विकास अधिकृत सुरेश रानाभाटले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width