पोउवा संघमा नयाँ कार्यसमिति, अध्यक्षमा अधिकारी

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
Capture

पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । संघको ३२ औं महाधिवेशनमा शनिबार अध्यक्षका प्रतिष्पर्धी रवीन्द्रबहादुर प्रजुलाई मात्र ७ मतान्तरले पराजित गर्दै अधिकारी संघको २३ औं अध्यक्ष निर्वाचित भएका हुन् ।

इलेक्ट्रोनिक भोटिङमार्फत २ हजार ९ सय ८६ मत खसेकोमा विजयी अधिकारीले १ हजार ४ सय ७८ मत प्राप्त गरेका हुन् । उनी यसअघि संघमा महासचिव थिए ।

वस्तुगत र केही खुला सदस्य बाहेक सबै पदाधिकारी र सदस्यहरु प्रजु प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी छन् । उनले १ हजार ७ सय १५ मत ल्याएका छन् भने प्रतिष्पर्धी यदुनाथ अधिकारीले १ हजार २ सय ३५ मत पाए ।

उपाध्यक्ष (उद्योग) तर्फ विन्दु कोइराला सुवेदी १ हजार ७ सय ११ मतसहित विजयी हुँदा प्रतिष्पर्धी गीता तिवारीले १ हजार २ सय ३८ मत प्राप्त गरिन् ।

उपाध्यक्ष -वाणिज्य) तर्फ पवनकुमार प्रजापती निर्वाचित भए । उनको १ हजार ८ सय ३६ मत छ भने प्रतिष्पर्धी यमनाथ पौडेलले १ हजार १ सय ५ मत प्राप्त गरे ।

महासचिवमा अर्जुन पोखरेल ४ सय ५४ मतान्तरले विजयी भए । उनले १ हजार ७ सय २ ल्याउँदा किसान सुनारको पक्षमा १ हजार २ सय ४८ मत पर्‍यो ।

कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे १ हजार ५ सय २ मतसहित विजयी हुँदा प्रेमबहादुर भुजेलको १ हजार ४ सय ४५ मत आयो ।

उपमहासचिवमा चीनुकुमारी गुरुङ विजयी भइन् । उनले प्रतिष्पर्धी सीता बराललाई १ सय ९३ मतले पछि पारेकी हुन् । गुरुङले १ हजार ५ सय ६१ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।

खुला १० सदस्यतर्फ अधिकारी प्यानलबाट रुद्रप्रसाद लुइँटेल, शोभित पौडेल र नगेन्द्रप्रसाद सुवेदी विजयी हुँदा अन्य ७ जना प्रजु प्यानलको वर्चश्व रह्यो । खुला सदस्यतर्फ प्रजु प्यानलकी कुमारी मुना बास्तोलाले सबैभन्दा बढी १ हजार ६ सय ७५ मत प्राप्त गरिन । त्यसपछि क्रमशः रुद्रप्रसाद लुइँटेल १ हजार ६ सय ४९, केशवबहादुर खत्री १ हजार ६ सय, दिनेशचन्द्र बास्तोला १ हजार ५ सय ८६, शोभित पौडेल १ हजार ५ सय ७०, बलराम आचार्य १ हजार ५ सय ५१, नगेन्द्रप्रसाद सुवेदी १ हजार ५ सय ३२, ऋषिराज भण्डारी १ हजार ५ सय ६, रामेश्वर अधिकारी १ हजार ४ सय ९९ र कीर्तिबल्लभ त्रिपाठी १ हजार ४ सय ४६ मत सहित विजयी हुन सफल भए ।

वस्तुगत ४ सदस्यतर्फ अधिकारी प्यानलको बहुमत छ । श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगाना विजयी हुँदा प्रजु प्यानलका हरिराज पन्तमात्रै विजयी भए ।

बास्तोला र ढुंगानाले समान १५ मत ल्याए भने पन्तले १४ र घलेले १३ मत ल्याए । कपोर्रेटतर्फ हर्क अधिकारी ३६ र हरिहर सापकोटा ३२ मत सहित विजयी भए । उनीहरु प्रजु प्यानलका हुन् । उद्योगतर्फ प्रजु प्यानलकै सुरेशबहादुर श्रेष्ठ ५४ मतसहित विजयी भए।

अधिकारीको नेतृत्वमा तयार भएको २९ सदस्यीय कार्यसमितिमध्ये ७ पदाधिकारीसँगै १० खुला सदस्य, ४ जना वस्तुगत सदस्य, २ जना कपोर्रेट र १ जना उद्योगतर्फको सदस्यमा निर्वाचित भएका हुन् । जसमा ७ जनामात्रै अधिकारी प्यानलका छन् भने बाँकी १७ जना प्रजु प्यानलका छन् । निर्वाचित अध्यक्षले ४ जना मनोनीत गर्नेछन् भने निवर्तमान अध्यक्ष पदेन सदस्य हुनेछन् ।

२०११ सालमा ब्यापार संघको रुपमा स्थापित संस्था पोखरा उद्योग वाणिज्य संघको रुपमा रुपान्तरण भएको हो ।

प्रजु प्यानलबाट शपथ बहिष्कार

निर्वाचनको नतिजा सार्वजनिक भएपछि शनिवार नै नयाँ कार्यसमितिको शपथ ग्रहण भैसकेको छ । तर रवीन्द्रबहादुर प्रजु प्यानलका कोही पनि शपथमा सहभागी भएनन् । नतिजा नमिलेको भन्दै उनीहरुले मत संख्या नमिलेसम्म शपथ नलिने घोषणा गरेका हुन् । निर्वाचन कमिटीले ७ जनालाई मात्रै शपथ गराएको छ । २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक भए पनि नतिजामा ३७ मत हराएको भन्दै प्रजु प्यानलले धाँधली भएको आरोप लगाएको छ । निर्वाचन कमिटीका संयोजक तीर्थ श्रेष्ठले चाहीँ शपथ बहिष्कारबारे आफूहरुलाई जानकारी नभएको बताए ।

‘हामीले प्यानल भनेर मनोनयन लिएका पनि हैनौं र नतिजा पनि प्यानल भनेर दिएका छैनौं,’ उनले भने, ‘को शपथमा सहभागी भयो-भएन, हामीलाई मतलव हुँदैन । निर्वाचन प्रक्रिया सकिएपछि शपथ गराइएको हो।’

Related News

सम्बन्धित समाचार

hero news full width