संगम सहकारीद्वारा नेफ्स्कुन संचालक गुरुङ पुरस्कृत

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५
Sangam Sahakari (1)

पोखरा, ६ असोज। संगम बचत तथा ऋण सहकारी संस्था लि., पोखरा-१५, रामबजारको ११ औं साधारणसभा शनिबार सम्पन्न भएको छ।

प्रमुख अतिथि नेफ्स्कुनका संचालक चण्डीप्रसाद शर्मा पौडेलले साधारणसभा उद्घाटन गर्दै प्रोवेसन आफैमा राम्रो प्रणाली भएको र संगम पनि सो प्रणालीभित्र प्रवेश गरिसकेकोले संगमकर्मीका आगामी दिन उज्ज्वल भएको बताए। साना सहकारीले सदस्यहरुलाई समय सुहाउँदो सेवा दिन नसक्ने भएकोले संस्थाहरुको मर्जर आवश्यकता बनेको समेत उनले औंल्याए।

सो अवसरमा यस वर्षको ‘संगम योग केसी स्मृति पुरस्कार’ बाट नेफ्स्कुनका संचालक एवं गण्डकी संयोजक भीमबहादुर गुरुङलाई सम्मान गरियो । २० वर्षदेखि सहकारी अभियानमा लागि अभियानलाई उचाइमा पुर्‍याउन गरेको योगदानको कदर गर्दै सहकारीले सम्मान गरेको शिक्षा समिति संयोजक तिलक थापाले जानकारी दिए । संस्थाका पूर्व अध्यक्ष योगबहादुर केसीको स्मृतिमा उनका परिवार र संस्थाको संयुक्त प्रयासबाट स्थापित सो पुरस्कारवापत गुरुङलाई नगद सहित सम्मानपत्र प्रदान गरियो ।

यस्तै, संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वडा कार्यालय १५ लाई सीसी क्यामेरा खरिदका लागि ३० हजारको जिन्सी सहयोगको प्रतिबद्धता संस्थाका अध्यक्षले वडाअध्यक्ष प्रकाश पौडेललाई प्रदान गरेको छ। यस्तै, संस्थाले इन्द्रचोकमा रहेको पोखरा हस्पिटलसँग संगमका सदस्यहरुलाई स्वास्थ्य सेवामा विविध छुटसहितको स्वास्थ्य सम्झौतासमेत गरेको छ।

कार्यक्रममा वडाध्यक्ष प्रकाश पौडेल, सम्मानित व्यक्तित्व भीमबहादुर गुरुङ, कास्की बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष भेषराज बराल, जिल्ला सहकारी संघकी लेखा समिति सदस्य वीना लोहनी, हितैषी साकोसका अध्यक्ष शेरबहादुर कार्की, को-अपरेटिभ म्यानेर्जर्स क्लबका अध्यक्ष मिलन ढकाल, यमबहादुर रानाभाट, दयाराम गौतम, तिलक थापा, लिलबहादुर गुरुङ, बुद्धिमान थापा, अपिल कोइराला लगायतले बोलेका थिए।

संस्थाका अध्यक्ष नीरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा तिलक थापाले स्वागत मन्तव्य र धनराज पुरीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width