अन्तिम कसरतमा उम्मेदवार

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७५

पोखरा, २ असोज। पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको असोज ५ र ६ मा हुने ३२ औं महाधिवेशन मिति नजिकिँदै जाँदा उम्मेदवारले मतदाता भेटघाट तीव्र पारेका छन् । उनीहरुले विभिन्न चुनावी एजेण्डासहित मतदाताको घरदैलो कार्यक्रमलाई अन्तिम रुप दिँदैछन् । संघमा रवीन्द्रबहादुर प्रजु (रविन्सन) को प्यानल र दामु अधिकारीको प्यानलले चुनावी मिति आउन ३ दिनमात्र बाँकी रहँदा आफ्नो पक्षमा जितका लागि अन्तिम कसरत गरिरहेका हुन् । यसैक्रममा मंगलबार प्रजु प्यानलले महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार लगायत ठाउँका मतदातालाई भेट गरेको छ भने अधिकारी प्यानलले लेकसाइडका मतदातासँग भलाकुसारी गर्‍यो ।

‘कर घटाएरै छाड्छौं’

संघमा अध्यक्ष पदका उम्मेदवार रवीन्द्रबहादुर प्रजूले पोखरा महानगरपालिकाले बढाएको कर घटाएरै छोड्ने प्रतिवद्धता गरेका छन् । ‘करको दर होइन, दायरा बढाउने हो तर त्यसविरुद्ध महानगरपालिकाले नगरवासीको ढाडै सेक्ने गरी कर बढाएको छ । त्यसबाट उद्योगी व्यवसायी साथीहरु अझ बढी समस्यामा पर्नुभएको छ,’ मतदाता उद्योगी व्यवसायीसँगको भेटमा प्रजूले भनेका छन्, ‘म उद्योगी व्यवसायीको पनि प्रतिनिधि भएको नाताले नगरपालिकाको बोर्ड बैठकमा टेबुलै ठोकेर भएपनि समस्या समाधानको लागि पहल गर्नेछु ।’

महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार लगायत ठाउँमा घरदैलोमा पुगेको प्रजू प्यानललाई मतदाताहरुले महानगरले कर बढाएको तर उद्योगी ब्यवसायीका नेतृत्व लिन खोज्नेहरुले कुनै चासो नदिएको गुनासो गरेका थिए । पोखरामा करको दायरामा नआएका हजारौं व्यवसायी साथीहरुलाई करको दायरामा ल्याउने र नियमित कर तिरिरहेका साथीहरुले भोग्नुपरेको समस्या समाधानको लागि संघको तर्फबाटै पहल गर्ने बचन यस प्यानलले दिएको छ । मतदाताले प्रजूलाई तपाई वडाध्यक्ष पनि हुनुहुन्छ र उद्योग वाणिज्य संघको अध्यक्षमा पनि उम्मेदवार हुनुहुन्छ कसरी भ्याउनुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष पदका उम्मेदवार प्रजूले यो समस्या होइन । सूचना प्रविधिको अहिलेको युगमा सामाजिक काममा नभ्याउने भन्ने कुरै हुँदैन ।  प्रजूले यसलाई पोखराका उद्योगी व्यवसायी साथीहरुको लागि अवसर पनि हो भनेका छन्। अरुले चुनाव जिते भने संघको लेटरप्याडमा महानगरलाई चिठी लेखेर उद्योगी व्यवसायीको समस्या समाधान गर्न अनुरोध गर्ने हो । मैले जिते भने आफू नै बोर्डको बैठकमा सहभागी भएर निर्णय गर्ने अवसर पाउँछु । उद्योगी व्यवसायीको हितविपरीत निर्णय हुन लागेमा नोट अफ डिसेन्ट लेख्न पाउनेसम्मको अवसर मलाइ छ, उनले भने । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार नारायण कोइरालाले पोखरामा रहेको ट्राफिक समस्याको कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएकोले संघमा आफ्नो प्यानल निर्वाचत तत्कालै यस समस्या समाधानमा पहल गर्ने वचन दिए । महासचिव पदका उम्मेदवार अर्जुन पोखरेलले पोखरा महानगरपालिका आफूले कर नबढाएको दावी गर्दै आएको र मालपोतको मूल्यांकनको कारण केही कर बढेको भन्दै आएको विषय सरासर झुठो हो भने । उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, उपमहासचिवमा चीनुकुमारी गुरुङ तथा सदय पदमा उम्मेदवारी दिएका बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारीले उद्योगी व्यवसायीको हितमा आफ्नो प्यानल सधै सँगै उभिने प्रतिबद्धता जनाए ।

‘पर्यटन उद्योगको विकास गर्छौ’

संघको आगामी नेतृत्वको लागि समावेशी व्यवसायी समूहले आर्थिक क्रान्तिका लागि पर्यटनलाई उद्योगको रुपमा विकास गर्नुपर्ने जनाएको छ। लेकसाइडका व्यवसायीसँग मंगलवारको भेटमा सो समूहले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा साकार पार्न आर्थिक क्रान्ति गर्न आवश्यक रहेको औंल्याउँदै त्यसका लागि पर्यटनलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएको हो।

संघमा आबद्ध प्रत्येक उद्योगी व्यवसायीको घरघर र पसलपसलमा पुग्ने लक्ष्य लिएर घरदैलो गरिरहेको दामु अधिकारी नेतृत्वको समावेशी व्यवसायी समूहले साहसिक खेलकुदलाई प्राथमिकतामा राखेर त्यसको व्यवस्थापन गर्न जरुरी रहेको र त्यसका लागि आफ्नो समूह लागि पर्ने प्रतिबद्धतासमेत जनाएको छ।

घरदैलोमा उद्योगी/व्यवसायीसँग बोल्दै अध्यक्षका उम्मेदवार दामु अधिकारीले पर्यटन क्षेत्रमा शान्ति, सुरक्षा र पूर्वाधार निर्माणका लागि आफ्नो समूहले नेतृत्व लिने बताए। उनले आफ्नो समूह विजयी भएमा पर्यटकीय क्षेत्र लेकसाईड चौवीसै घण्टा खुलाउने प्रतिबद्धता जनाए।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार यदुनाथ अधिकारीले लेकसाइडमा पार्किङको समस्या भएको बताउँदै अब वैकल्पिक पार्किङ क्षेत्र बनाएर यसको समाधान गर्ने योजना सुनाए। उद्योगतर्फको उपाध्यक्षकी उम्मेदवार गीता तिवारी गौतमले पर्यटनमा महिला उद्यमी बढाउन आफू निर्वाचित भएपछि योजनाबद्ध तरिकाले काम गर्ने बताइन्।वाणिज्यतर्फका उपाध्यक्षका उम्मेदवार यमनाथ पौडेलले पर्यटन क्षेत्रमा पनि घरभाडाका विषयमा बेलाबेला किचलो हुनेगरेको भन्दै सो समस्या समाधानका लागि कार्यविधि बनाउने बताए। महासचिवका उम्मेदवार किसान सुनारले पोखरालाई साहसिक खेलकुदको हव बनाउने बताए। सो प्यानलमा कोषाध्यक्षमा प्रेमबहादुर भुजेल, उपमहासचिवमा सीता बराल तथा सदस्यमा नारायण पौडेल, डिबि भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल उम्मेदवार रहेका छन्।

यसैबीच, संघमा उपाध्यक्षकी उम्मेदवार गीता तिवारी गौतमले आफूमाथि लगाइएको आरोप पराजित मानसिकताको उपज भएको टिप्पणी गरेकी छन्। मंगलवार पत्रकारसँग कुरा गर्दै उनले निराधार कुरा गरेर भ्रम सृजना गरेको भन्दै त्यसको पछि नलाग्न मतदातालाई आग्रह गरेकी हुन्।

उनले भनिन्, ‘मेरो उद्योग सञ्चालन भएको २ वर्ष नपुगेको कुरा झुटो हो, मेरा २ वटा उद्योग बुद्ध फेब्रिक ब्याग उद्योग र समृद्धि हस्तकला उद्योग सञ्चालनमा छन्, रोशनी फेन्सी स्टोर्स बुद्ध बिशालबजारमा सञ्चालनमा छ ।’ आफू २ वर्षअघि नै संघको कार्यसमितिमा निर्वाचित भएर काम गरिसकेको उनले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width