वाणिज्य संघको चुनावमा पूर्व अध्यक्ष फ्याक्टर ?

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५

पोखरा, २४ भदौ । संजिवबहादुर कोइराला, दोस्रो कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिँदै थिए । प्रतिस्पर्धी उनकै जेठान थिए, बिन्दुकुमार थापा । थापालाई अध्यक्ष छाड्ने सहमति भएको र त्यही सहमति कार्यान्वयन हुनुपर्ने जिकिर गर्दै पोखरा उद्योग बाणिज्य संघका केही पूर्व अध्यक्षहरुले विज्ञप्ती जारी गरे ।

त्यसको नेतृत्वमा थिए, महासंघका पूर्व अध्यक्षसमेत रहेका आनन्दराज मुल्मी । मुल्मीसहित अधिकांश पूर्व अध्यक्षहरु एकातिर देखिँदा अर्का पूर्व अध्यक्ष अशोक पालिखे कोइरालाको पक्षमा देखिए । उनलाई रमेश कर्माचार्य, मानकाजी माकाजुहरुले साथ दिए । चुनावी नतिजा थापाको पक्षमा गयो ।

संघका वर्तमान अध्यक्ष विश्वशंकर पालिखे अध्यक्ष बन्दै गर्दा पूर्व अध्यक्षहरु अशोक पालिखे, रमेश कर्माचार्य, राजेन्द्र लालचनहरु क्रियाशिल बने । संयोग कस्तो भने, आफैसँग अध्यक्षमा चुनाव लडेका पाखिलेलाई राजेन्द्र लालचनले बोकेनन् मात्र खुल्लमखुला भोट माग्दै हिँडे ।

यी त उदाहरण मात्र हुन्, पोखरा उद्योग वाणिज्य संघको चुनावलाई नजिकबाट नियालेका एक व्यवसायी भन्छन्, ‘संघको चुनावमा सधैँ पूर्व अध्यक्षहरुको भूमिका हुन्छ, त्यो कहिले देखिन्छ, कहिले देखिँदैन ।’

उनकाअनुसार संस्थापन पक्षका बसन्त उदासले दोस्रो कार्यकाल अध्यक्ष हुने इच्छा राखे । अधिकांश पूर्व अध्यक्षहरु तथा तत्कालीन शक्तिकेन्द्र मानिनेहरु उदासकै पक्षमा थिए । तर, आफ्नै महासचिवसँग उनी झिनो मतले हारे । ‘किन त ? रमेशले परिवर्तनको नारा दिए, बसन्त दाइ निरन्तरताको सुगा रटाइमै सिमित रहनुभयो’, उनले थपे, ‘अकोर्तर्फ रमेशसँग पदमा आउन चाहने युवाहरुको साथ पनि थियो ।’ रमेशको बिद्रोहकै कारण त्यो बेला अध्यक्षको लाइनमा बसेका अर्जुनकुमार श्रेष्ठ, शिवलाल मल्लहरु बाहिरिए भने राजेन्द्रकुमार लालचन, दीपक श्रेष्ठहरुको कालखण्ड सुरु भयो ।

पोखरा उद्योग बाणिज्य संघको चुनावमा कहिलेकाहीँ यस्तै खाले व्रि्रोह हुन्छ, जसले संघको निरन्तरता नै भंग गर्दै आएको छ । यसपालिको व्रि्रोहलाई ब्यवसायीहरुले नै पृथक प्रतिश्पर्धाको रुपमा लिएका छन् । विल्कुल राजनीतिसँग जोडिएर प्यानल घोषणा भएको यो पहिलो घटना हो ।

अघिल्लो चुनावमा पनि तीनवटै ठूला पार्टीले तल्लोदेखि माथिल्लो तहसम्मका कार्यकर्ताहरु उद्योग बाणिज्य संघमा भित्राएकै हो । यसपालि त्यो छताछुल्ल भएको छ । पूर्व अध्यक्ष आनन्दराज मुल्मीले जातिय, धार्मिक, राजनीति भन्दामाथि उठेर नै उद्योग बाणिज्य संघ गठन भएकोले ब्यक्तिगत अनुकुलतामा ब्याख्या नगर्न सुझाए ।

‘पहिले व्यवसायीको आकार सानो थियो । व्यापारीहरु एउटै वर्गमा थिए । विभाजित हुने कुरा भएन,’ उनले भने, ‘अहिले ब्यवसायीको आकार बढेको छ । बस्तुगत संघ जति भएपनि एकताका लागि उद्योग बाणिज्य संघ चाहिन्छ । तर संघमाथि प्रहार गर्नकै लागि धेरै बस्तुगत संघहरु स्थापना भएका छन् । त्यो चाहीँ राजनीति हो कि होर्इन ?’

पराजित मानसिकताले मात्रै राजनीतिक हस्तक्षेपका कुरा उठेको उनी बताउँछन् । ‘१२ औं बर्ष नेतृत्वमा बसेर काम गरेको मान्छेलाई ल्याउँदा कसरी राजनीति हुन्छ ? भर्खर प्रबेश गरेकाहरु पदाधिकारीमा चुनाव लड्दा चाहीँ राजनीति भएन ?, उनले प्रश्न गरे, ‘विरासत जोगाउने उद्घोष गरेर चुनावमा भाग लिँदा यति हेक्का हुनुपर्छ कि पर्दैन ?’

उद्योग बाणिज्य संघको अधिवेशन आएपछि बढी सल्बलाउँछन् पूर्व अध्यक्षहरु । यो देशभरीमै चल्छ तर पोखरामा पूर्व अध्यक्षको भूमिका चुनावका बेला निकै महत्वपूर्ण छ । पूर्व अध्यक्षहरुको भेलाले निर्णय गरेपछि लगभग समिति उही पेरिफेरीमा चुनिन्थ्यो । पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ मिलेरै अघि बढ्नुपर्ने पक्षमा छन् । हरेकजसो उद्योग बाणिज्यसंघहरुमा सहमतिबाटै नेतृत्व चयन गर्ने परम्परा छ । चुनाव भएपनि राजनीतिक हिसावको हुँदैन, ब्यवसायी बीच प्रतिश्पर्धा हुन्छ ।

‘उद्योग बाणिज्य संघ उद्योगी ब्यवसायीको हक हितको लागि खुलेको संस्था हो । पोखराले त झन् आफ्ना हक अधिकारभन्दा पनि माथि उठेर समग्र पोखराको विकास र समृद्धिको आवाज उठाउँदै आएको छ,’ उनी भन्छन्, ‘अहिले राजनीतिक ध्रुवीकरण बढेको छ । यसलाई निमिट्यान्न गर्न त सकिँदैन तर न्यूनिकरण गर्न सक्ने अवस्था थियो । साथीहरुले ‘मेरै गोरुको बाह्रै टक्का’जस्तो गरेर मिल्न चाहानुभएन ।’ पदाधिकारीलाई अपग्रेड गर्ने र अघिल्ला चुनावमा पराजीत भएपनि संघमा योगदान गरेका ब्यक्तिहरुलाई भुल्न नहुने उनी बताउँछन् ।

उद्योग बाणिज्य संघमा प्रतिश्पर्धा चाहीँ विगतदेखिकै हो । पहिले अध्यक्षबीचमा मात्रै प्रतिस्पर्धा हुन्थ्यो र सदस्यहरु आफ्ना प्रकारले प्रचार गरेर भोट माग्थे । ३१ औं महाधिवेशनपछि ध्रुवीकरण फेरियो । हालका अध्यक्ष विश्वशंकर पालिखे निर्वाचित हुँदै गर्दा कार्यसमिति लगभग उनकै प्यानलबाट आए । केही बाहेकका पूर्व अध्यक्षहरु पालिखेकै पक्षमा थिए । चुनावमा पार्टीका आधिकारिक उम्मेदवार देव क्षेत्री पराजित भए । पूर्वअध्यक्षहरु यही चुनावबाट विभाजित भए ।

यसअघि पनि यस्तो घटना भएको हो । तर देखिने गरी यही चुनावबाट पूर्व अध्यक्षहरुको विमति बाहिरियो । उम्मेदवारहरुले पनि पूर्व अध्यक्षका कुरा सुन्न छोडेका छन् । यसबर्ष पार्टीका आधिकारिक उम्मेदवार बाहेकलाई छान्ने छुट मतदातालाई छैन, किनकी दुवै प्यानल पार्टीको आशिर्वाद लिएर चुनावमा होमिएका छन् । पछिल्लो समय उद्योग बाणिज्य संघमा बढेको ध्रुवीकरणले पूर्व अध्यक्षहरु नै निराश छन् । जित्नेले हार्नेलाई कदर नगर्ने र हार्नेपनि फर्केर उद्योग बाणिज्य संघ नछिर्ने रोग छ । त्यसमाथि अहिले पूर्व अध्यक्षहरु नै ग्रुपिज्म गर्ने र एकले अर्कालाई स्विकार नगर्ने परम्परा पनि बढेको छ ।

‘मिलाउने प्रयास हामीले गरिसकेका हौं । सहमति पनि भैसकेको थियो । तर एकजना पूर्वअध्यक्षका कारण छुट्टाछुट्टै प्यानल खडा भयो, पूर्व अध्यक्ष बसन्त उदास भन्छन्, ‘आइडोलोजिकल भोटिङ भयो भने एकलौटी हुन्छ र संघप्रति ब्यवसायीको उदासिनता बढ्छ भन्ने हाम्रो चिन्ता छ । हामीले बाटो विराउँदा पोखराको विकासले बाटो विगार्छ भन्ने हेक्का पूर्व अध्यक्षहरुले गर्न सक्नुभएन ।’

पार्टीले उमेदवारको प्यानल बनाएपनि मतदाताले योग्य मान्छे छनौट गर्नुपर्ने उनको भनाई छ । ‘पहिले पहिले स्टेप अनुसार पोर्टफोलियोमा जान्थे र अध्यक्ष बन्थे ।

यो पूरानो सिस्टम हो । यस्तो सिस्टमले चुनावमा मिलाउन पनि सजिलो हुन्थ्यो,’ उनले भने, ‘अहिले आएर फड्कै मार्नुपर्ने कारण के परेको हो ? २ बर्षपछि नेतृत्वमा आउँदा के फरक पर्छ -’ आकांक्षा राख्नु स्वभाविक भएपनि उमेदवारको अनावश्यक महत्वकांक्षाले संघमाथी प्रहार भएको उनले बताए ।

अहिले उद्योग बाणिज्य संघको नेतृत्व फितलो बन्दै गएको आम मतदाताले महशुस गरेका छन् । पूर्व अध्यक्षहरु पनि राजनीतिक रुपमा उपस्थित हुने र पार्टीको लविङमा लागिदिँदा नेतृत्वमाथी प्रश्न तेर्र्सिन थालेको छ ।

‘व्यापारी ब्यवसायीको संस्था काँग्रेस र नेकपा भन्ने ठाउँ हैन नि । चुनावको तुुष पोख्नका लागि उद्योग बाणिज्य संघलाई अहिले दुरुपयोग गरिएको छ, पूर्व अध्यक्ष अशोक पालिखेले भने, ‘अव उम्मेदवारले पार्टीको झण्डा लिन मात्रै बाँकी छ । २०७५ सालको चुनाव सबैको लागि दुर्भाग्य हो ।’

उनले अहिलेको उम्मेदवारीलाई पूर्व अध्यक्षहरुको पारिवारिक र राजनीतिक द्धन्द्धको रुपमा लिएका छन् । उनी पनि सर्वसम्मत अधिवेशनको पक्षमा लागेको बताउँछन् । विश्वशंकर पालिखे चाहीँ उद्योग बाणिज्य संघमा राजनीतिकरण भएकोले केही नबोल्ने बताउँछन् ।

‘उद्योग बाणिज्य संघको इतिहास कमजोर हुँदैछ । यति ठूलो गरिमामाथी राजनीति चलिरहेको छ, उनले भने-अहिले म अध्यक्षको हैसियतमा छु । मैले केही बोल्न मिल्दैन । राजनीति गर्नेलाई मेरो समर्थन छैन ।’

केही पदमा पूर्व अध्यक्षको अडानका कारण सर्वसम्मत नेतृत्व छान्न नसकेको बताईएको छ । रवीन्द्रबहादुर प्रजुलाई अध्यक्ष मानेर बरिष्ठ उपाध्यक्षमा दामु अधिकारी, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे र  बाणिज्य उपाध्यक्षमा पवन प्रजापति तथा उद्योग उपाध्यक्षमा गोकर्णकार्कीलाई अघि सार्ने यसअघि कै तयारी थियो ।

तर प्रजु वडाध्यक्ष निर्वाचित भएपछि अधिकारीले उद्योग बाणिज्य संघमा दावी गरे । अधिकारीलाई नै अध्यक्ष मानेर पनि अको समूह परिकल्पना गरिएको थियो । एकजना पूर्व अध्यक्षले महासचिवमा अर्जुनलाई नमानेपछि सहमति भंग भयो र प्यानल घोषणा गरिएको श्रोत बताउँछ ।

यसपालिको चुनावमा काँग्रेसतर्फ प्यानलको चुनाव पूर्व अध्यक्ष तथा सांसद समेत रहेका विन्दुकुमार थापाले हाँक्दैछन् भने नेकपातर्फको प्यानलमा पूर्व अध्यक्ष संजीवबहादुर कोइरालाले लिडिङ गरेका छन् । कार्यकारी पदमा आउन नसक्ने अवस्थामा पदको बार्गेनिङ गरेर प्रवेश पाएकाहरुले नै अहिले राजनीति गरिरहेको एकजना पूर्व अध्यक्षले बताए ।

‘पार्टीकाट आउँदा पदमा निर्वाचित वा मनोनित हुने अवस्था थिएन । त्यसैले शक्तिकेन्द्रको पछि लाग्ने र पदमा बार्गेनिङ हुन्थ्यो,’ उनले भने, ‘अहिले आफू निकटका सदस्यहरु थपेपछि निरन्तरता नै बिगार्ने गरी उम्मेदवार बनेका छन् । राजनीति नभनिएपनि विभिन्न कोणबाट राजनीतिक कार्यकर्ता छिराउने प्रयास भएकै हो ।’

उनको संकेत नेकपातिर छ । दुवै प्यानलका उम्मेदवारहरुले आईतबार आफ्नो उम्मेदवारीका लागि फाराम लिईसकेका छन् । उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् । असोजको ५ र ६ गते अधिवेशन हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width