Worldlink ads

बेगनासमा डुंगा पल्टियो

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

लेखनाथ, २३ भदौ। बेगनासतालमा शनिबार दिउँसो डुंगा पल्टिदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना बेपत्ता छन् भने २ जनाको सकूशल उद्धार भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा तनहुँ जिल्ला भीमाद नगरपालिका वडा-५ की ३७ वर्षीया जमुना गैह्रे र पोखरा-२८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईं छन् ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार दुर्घटनामा परी ४ जना बालक सहित ६ जना बेपत्ता भएका हुन् । उद्धारपछि उपचारार्थ अस्पताल पठाइएकोमा जमुनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कृष्णकुमारीको लायन्स सामुदायिक अस्पताल लेखनाथमा उपचारक्रममा मृत्यु भएको हो ।

बेपत्ता हुनेमा जमुनाका ५ वर्षीय छोरा रंजित गैह्रे, नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुर्इ छोराहरु ७ वर्षी शंकर र ८ वर्षीय शिव, पोखरा नयाँ बसपार्ककी १८ वर्षीया मनिषा बजगाईं र ५ वर्षीय प्राचीन पौडेल छन् ।

घटना विवरण अनुसार तीज अवसरमा आफन्तको निमन्त्रणामा छोराछोरी लिएर माइत जानेक्रममा उनीहरु सवार डुंगा बेगनास तालको लिब्दी टुँडमा दुर्घटनामा परेको हो ।

एउटै डुंगामा १० जना सवार थिए । तालमा डुबेकामध्ये रवि खनालकी श्रीमती २८ वर्षीया सपना खनाल र प्राचीनकी २२ वर्षीया आमा नीशा पौडेलको सकूशल उद्धार भएको हो । डुंगा नेपाली सेनामा कार्यरत रविले चलाएका थिए ।

कान्तिपुरमा कार्यरत समेत रहेका रविका आफन्त कमलराज कँडेलले डुंगा चढाएपछि आफू एक्लै डुंगा लिएर गएका थिए । उनले तीजमा चेलीबेटी भेटघाटका लागि बोलाएका थिए । आफन्त चढेको डुंगा डुबेको देखेपछि उनी बेहोस भएका थिए । उद्धार क्रममा उनी सामान्य घाइते छन् ।

डुंगा सयरक्रममा विस्तारै डुंगामा पानी भरिँदै गएको थियो । हातैले पानी बाहिर फाल्ने प्रयास असफल बन्दै जाँदा बेगनास ताल लिब्दी टुडाँ नजिकै पुग्दा ५ वषिर्य प्राचीन पौडेल तालमा खसेपछि आमा नीशा उद्धारको लागि तालमा हाम फालिन् । तालमा हाम फालेपछि डुंगाको सन्तुलन गुम्यो र डुंगा पल्टियो । डुंगामा सवार सबै जना तालमा घोप्टिए । निशा र सपना भने पौडी खेल्न जानेकै कारण उनीहरुलाई स्थानीयले तत्कालै उद्धार गरी बाहिर निकाल्न सकेका हुन् ।

उद्धारमा स्थानीयसहित जलासी समुदाय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत जुटेका थिए। शनिबार राति अबेरसम्म बेपत्ता नभेटिएपछि आइतबार बिहानसम्मका लागि उद्धार कार्य स्थगित गरिएको कास्की प्रहरी प्रमुख रानाले जानकारी दिए । उनका अनुसार डुंगा सवारहरुले सुरक्षाका लागि लाइफ ज्याकेटसमेत लगाएको पाइएन । जसका कारण ठूलो मानवीय क्षति हुन गयो । थप उद्धारका लागि चितवन कुरिनटारस्थित सशस्त्र प्रहरीको तालिमप्राप्त गोताखोर टोली आउने र उद्धार कार्य आइतबार बिहानैदेखि जारी राख्ने उनले बताए । बेगनास ताल डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । यसैबीच, जमुनाका आफन्त गोविन्द भण्डारीले तालमा लाइफ ल्याकेट नलगाई डुंगा चढ्न दिँदा यसरी ज्यानै गएको भन्दै रोष प्रकट गरे । उनले आगामी दिनमा यस्तो घटना हुन नदिन प्रशासनले ध्यान पुर्‍याउनुपर्ने बताउँछन् ।

उता, सो दुर्घटनाबाट भएको मानवीय क्षत्रि्रति वेगनासताल डुंगा व्यवसाय समितिले दुःख व्यक्त गरेको छ । समिति अध्यक्ष शोमाराज कँडेल र सचिव पुष्पराज पाण्डेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा अकल्पनीय दुर्घटनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै समस्त परिवारजनमा धैर्यधारणा गर्ने शक्ति भगवान्ले प्रदान गरुन् भनिएको छ ।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग