क्यान्सर अस्पतालमा थपियो २ सय ५० शैय्या

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७५

चितवन, २० भदौ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपकरण र शैया थपिएको छ। नयाँ २ सय ५० शैया क्षमताको भवन निर्माण सम्पन्न भएसँगै शैया थपिएको हो। नवनिर्मित भवनको शुक्रबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे।

२०५७ सालमा १०० शैयाबाट शुरु भएको अस्पताल ४ सय ७५ शैयाको हुने भएको छ। हालसम्म अस्पतालमा पोष्टअप सहित १ सय २५ शैयाको अन्तरंग सेवा, ३४ शैयाको डे केयर सेवा, १५ शैयाको हस्पिस सेवा, १० शैयाको अब्जरभेसन र १० शैयाको ब्लड ट्रान्सफुजन सेवा गरी १ सय ९४ शैया सञ्चालनमा थियो।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार नयाँ भवनमा २ सय ५० शैया थप गरिँदैछ। नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविनहरु, आकस्मिक कक्ष, शल्यक्रिया गर्नु पूर्व र पछि बिरामी राख्ने कक्षहरु, चिकित्सकहरुलाई छलफल गर्ने बैठक कक्षहरु, बिरामीका रेर्कर्ड राख्ने कक्ष रहने छन्। नयाँ भवनमा तत्कालै १ सय २५ शैया सञ्चालनमा ल्याईएको छ भने केही महिनापछि १ सय २५ शैया सञ्चालन गर्ने आचार्यले बताए। नयाँ भवनमा बाहिरी सेकाई गर्ने लिन्याक मेसिन, सेकाई गर्ने ठाउँ पहिचान गर्ने -प्लानिङ मेशिन) सिटी सिमुलेटर र भित्री अंगको सेकाई गर्ने -ब्राकी थेरापी) मेसिन विधिवत रुपमा सञ्चालनमा आएका छन्। यी उपकरणहरु नयाँ खरिद गरिएका हुन्। अस्पतालले मेडिकल र ननमेडिकल सामग्री टेण्डर गरिरहेकाले पूरै शैया सञ्चालनका लागि केही समय लाग्ने छ। शैया विस्तार हुँदै गर्दा आवश्यक पर्ने दक्ष जनशक्ति भने थप गरिएको छ। २० जना मेडिकल अफिसर सहित १ सय जना विज्ञ चिकित्सक अस्पतालमा कार्यरत रहेका छन्। चिनिया स्वयंसेवकका रुपमा १५ जना चिकित्सक कार्यरत छन्। गत वर्ष अस्पतालबाट एक लाख ३१ हजार जानाले सेवा लिएका थिए। चालु आर्थिक वर्षमा २ लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ। अस्पतालमा आउने बिरामीमध्ये ८ देखि १० हजार क्यान्सर रोगका नयाँ बिरामी हुने गरेका छन्।यसैबीच, नवनिर्मित भवन उद्घाटन समारोहमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताए। मन्त्री यादवले चिकित्सकले अघि सारेका माग सरकारले पूरा गर्न लागेको दावी गरे। उनले भने, ‘उहाँहरुले जे कुराको लागि आन्दोलन गर्दै हुनुहुन्छ त्यो मुलुकी (संहिता) ऐनलाई सरकारले संशोधनको तयारी गर्दैछ।’ मानवीय कमी कम्जोरीलाई हटाउँदै यसलाई अझै विज्ञ सेवा दिने गरी स्वास्थ्य संस्थाहरुलाई अघि बढाउनु पर्ने उनको भनाइ थियो। क्यान्सर अस्पतालले दिदै आएको सेवालाई अझै प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डको उपकरण अवश्यकता रहेको भन्दै उनले त्यसलाई पुरा गर्दै मुलुककै सबैभन्दा ठूलो, व्यवस्थित र राम्रो उपचार हुने अस्पतालको रुपमा विकास गर्न सरकार लागिपरेको बताए।

मन्त्री यादवले चितवनलाई मेडिकल सेन्टरको रुपमा विकास गर्न सकिने बताउँदै भने, ‘चितवनको भौगोलिक वातावरण र राजधानीसँगको निकटताका कारण मेडिकल सेन्टर बनाउन सकिने देखिन्छ।’

क्यान्सर अस्पताललाई दक्ष र विज्ञ जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा अघि बढाउने बताउँदै मन्त्री यादवले यसका लागि अस्पतालले आवश्यक प्रकृया शुरु गर्न समेत आग्रह गरे। सरकारले अहिले कम लागतमा चिकित्सक उत्पादन गर्ने बाटो खोजीरहेको भन्दै उनले यो भएमा आधारभूत स्वास्थ्य निःशुल्क गर्न सकिने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width