तीनखोले देवी धार्मिक महोत्सव हुने

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७५

खैरेनीटार, १० भदौ। शुक्लागण्डकी नगरपालिका वडा ६ स्थित तीनखोले देवी मन्दिर परिसरमा असोज २४ देखि ३० गतेसम्म नवदुर्गा भागवत् ज्ञानमहायज्ञ तथा तीनखोले देवी धार्मिक महोत्सव हुने भएको छ।

तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिको आयोजनामा सञ्चालन हुने महोत्सवबारे सफल पार्न आवश्यक तयारी शुरु भएको पत्रकार सम्मेलनमार्फत जनाइयो ।

समितिका अध्यक्ष श्रीराम अधिकारीले  देवीभागवत् ज्ञानमहायज्ञको उद्देश्य तीनखोले देवीको प्रचार प्रसार गर्ने, मन्दिर क्षेत्रको बृहत्तर विकास गर्ने, भक्तजनहरुलाई नवदुर्गाको अवसरमा देवीको दर्शन गरेर तथा भागवत् कथा सुनेर पुण्य कमाउने अवसर दिलाउने रहेको बताए।

महोत्सवका लागि ११ सदस्य रहेको निर्णायक तथा कार्यकारिणी समिति र विभिन्न उपसमिति संयोजकहरु चयन भएको पनि जानकारी गराए।  महोत्सव अवधिभरिमा करिब पाँच हजार भक्तजनको उपस्थिति रहने आयोजकको अनुमान छ ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाईलीले तीनखोले देवी मन्दिर शुक्लागण्डकी नगरपालिकाको मात्र नभई नेपालकै गहनाको रुपमा लिनुपर्ने बताइन्। उनले सबैले मिलेर महोत्सव सम्पन्न गर्न आग्रह गरिन्।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले तीनखोले देवी मन्दिर शुक्लागण्डकी नगरपालिकाको दोस्रो धार्मिक पर्यटकीय स्थल भएको बताए। उनले बृहत् सोचका साथ कार्य गरेमा सफल भइने जनाए।

कार्यक्रममा नेकपाका वीरेन्द्रकुमार श्रेष्ठ, नेपाली काँग्रेसका रेशमलाल पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका जयबहादुर थापा, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्याक्ष हरिबहादुर थापा, नवदुर्गा देवी भागवत् ज्ञान महायज्ञका वाचक ऋषिराम शास्त्री, खैरेनीटार साना सहरी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र उपाध्याय, पुरुषोत्तम लामिछाने, कमलमोहन घिमिरे, राजन उपाध्याय, शिवराज अधिकारी लगायतले बोलेका थिए।

तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बालकुमार वाग्ले र सञ्चालन सचिव पदमराज बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width