नारायणथान गुठीको जग्गा ब्यक्तिबाट खोसियो

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
Narayanstan

पोखरा, ९ भदौ । पोखरा ३ मा रहेको नारायणथान गुठीको जग्गामा पुजारीले आफ्नो नाममा गरेर बेचविखन गरेपछि गुठीको जग्गा जोगाउन अख्तियार सहित गुठी संस्थानले ब्यक्तिको नामबाट जग्गा खोसिएको निर्णय गरेको छ । लामो समयसम्म अध्ययन गरेर यसअघि बेचविखन भएका जग्गा समेत गुठीकै रहेको ठहर गरेको छ ।

नारायणथान धार्मिक क्षेत्र विकास समितिले शनिवार पत्रकार सम्मेलन गरी गुठीका जग्गा विवादबारे जानकारी गराएको हो ।

महानगरका विभिन्न ठाउँमा रहेका ९ वटा कित्ताभित्रका करिब ५० रोपनी जग्गा गुठीकै रहेको गुठी संस्थानको ठहर छ । २०७३ सालदेखि निरन्तर अध्ययन गरेर सबै कित्ताका जग्गाहरु गुठीको रहेको भनी गुठी संस्थानबाट समेत निर्णय भएको छ । निकै लामो किचलोपछि अन्ततः नारायणथान गुठीको जग्गा व्यक्तिबाट खोसिएको छ ।

कसरी बेचियो गुठीको जग्गा ?

विसं १९०० भन्दाअघि नारायणथान मन्दिर स्थापना भएको अगुवाहरुको अनुमान छ । गणेश गिरीले मन्दिर स्थापना गरेर देवीदत्त पराजुलीलाई पुजारी तोकेको इतिहास भेटिन्छ । त्यसपछि १९४५ र १९५८ मा कागज गरेरै तत्कालीन सरकारले मन्दिरलाई गुठीको मान्यता दिएको छ । देवीदत्तको निधन भएपछि उनका छोराहरु रुद्रनाथ र टीकारामले मन्दिरको जिम्मा लिए । दुवै भाइको निधन भएपछि उनीहरुका श्रीमतीले मन्दिरको जग्गा भोगचलन गर्न थाले । हाल मन्दिरमा रहेका पुजारी पुष्पराज लामिछाने रुद्रनाथका छोरीपट्टीका नाति हुन् ।

१९९० सालमै रुद्रनाथले महाजाँच गराएर गुठीको जग्गा आफ्नो बनाउन खोजेपनि विरोध भएपछि पुनः गुठीकै नाममा सरेको थियो । त्यसपछि २०३१ सालमा नापी हुँदा गुठी भनिएका जग्गाहरु पुजारीका श्रीमतीहरुले विभिन्न बाटोबाट आफ्नो नाममा गरे । पुजारी रुद्रनाथकी श्रीमती पवित्राले २०३६ सालमा छिनेडाँडामा रहेको करिब ७ रोपनी जग्गा नातिलाई शेषपछिको बकसपत्र गरेर दिइन् । सोही पत्र देखाएर हालका पुजारी लामिछानेले गुठीको जग्गा आफ्नो नाममा लिएर बेचविखन समेत गरिसकेका छन् । छिनेडाँडामै रहेको ७ रोपनीभन्दा बढी जग्गा रुद्रनाथका भाइ टिकारामकी श्रीमति गंगामायाको नामबाट बेचविखन भएको छ । गंगामायाले अर्मला र छिनेडाँडामा रहेका ३ कित्ताभित्रका जग्गा नाति पुष्पराजलाई नै शेषपछिको बकसपत्र गरिदिएकी थिइन् । त्यसकै आधारमा पुष्पराजले २०७३ सालमा छिनेडाँडाको साढे ८ रोपनी जग्गा मालपोत कार्यालयबाट आफ्नो नाममा नामसारी गरे ।

त्यसपछि मात्रै धार्मिक क्षेत्र विकास समितिले थाहा पायो र घटना बाहिरिएको हो । नारायणथान धार्मिक क्षेत्र विकास समितिले धेरै पटक सम्बन्धित निकायमा उजुरी गरेपछि अख्तियारको टोलिले छानबिन थाल्यो । २ वर्षपछि अख्यिार र गुठी संस्थाले समेत नारायणथानबाट भोगचलन भएका सबै जग्गा गुठीको भनी निर्णय गरेको समितिका अध्यक्ष महेश पराजुलीले जानकारी दिए ।

अध्ययनकै बेला बेचिएका जग्गा समेत किनबेच गर्न रोक्का गरिएको थियो । तर मन्दिरका पुजारी पुष्पराजले चाहीँ हजुरआमाको नाममा रहेको जग्गा किनबेच गर्न पाउनुपर्ने माग गरेका छन् । उनलाई अदालतले नै अवैधानिक ठहर गरेको छ । उनी वैधानिक पुजारी नै होइनन् ।

‘अदालतले नै खारेज गरिसकेका ब्यक्तिले गुठीका जग्गा आफ्नो नाममा गरेर बेच्नु झन् अवैध काम हो, समितिका अध्यक्ष पराजुलीले भने, ‘जग्गा अब गुठीको नाममा आएको छ । अब यसको संरक्षणको जिम्मेवारी समितिले लिन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै समितिका सल्लाहकार शुक्रराज शर्माले गुठीको जग्गामा ब्यक्तिले रजाइँ गर्ने दिन सकिएको बताए । उनले गुठीका जग्गालाई संरक्षण गरी मन्दिर र भक्तजनको हितमा प्रयोग गर्नुपर्ने सुझाव दिए । पत्रकार सम्मेलनमा समितिका वरिष्ठ उपाध्यक्ष रामजन केसीको धन्यवाद ज्ञापन सल्लाहकार रामचन्द्र पौडेलको सञ्चालन रहेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width