लाइफ टाइम फोटोग्राफी अवार्ड शाक्यलाई

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५

पोखरा, ३ भदौ । यस वर्षको लाइफ टाइम फोटोग्राफी अवार्डबाट पोखराका पूराना फोटोग्राफर शम्भुरत्न शाक्य सम्मानीत भएका छन्। पोखरा फोटोग्राफर संघको आयोजनामा फोटोग्राफी दिवसको अवसरमा विशेष कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरिएको हो । उनले २५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र प्राप्त गरेका छन्।

गण्डकी प्रदेशमा फोटोग्राफी पेसामा विशेष योगदान पुर्‍याएका र कम्तीमा १५ बर्ष फोटोग्राफी गरेका व्यक्तिलाई सम्मान गर्न लाइफटाइम एचिभमेन्ट फोटोग्राफी अवार्ड स्थापना गरिएको हो । सोही अवसरमा ५० जना ब्यवसायिक फोटोग्राफर तथा फोटो पत्रकारलाई समेत सम्मान गरिएको छ । यसैगरि, फोटोग्राफर अफ दि इयरबाट पोखराका फोटोग्राफर सन्देश उदाश पुरस्कृत भए । उनले १५ हजार ५ सय ५५ नगद र प्रमाणपत्र प्राप्त गरे । मिलन यूथ इनर्जेटिक फोटोग्राफी अवार्ड पोखराका फोटोग्राफर कपिल सापकोटाले प्राप्त गरे भने दैनिक जनजीवन बिधामा अर्जुन कुँवर, संस्कृति तथा पर्यटनमा बाग्लुडका फोटोपत्रकार किरण आचार्य र वातावरण तथा प्रकृतिमा जीवन ढुंगाना पुरस्कृत भए।

उनीहरुलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बिकाश लम्सालले सम्मान गरेका हुन्। उनले प्रदेश सरकार प्रदेशभित्र रहेका सबै प्राकृतिक र ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पहिचान गरी पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढेको बताए। सरकारको अभियानमा सघाउन फोटोग्राफरहरुसँग उनको आग्रह छ।

प्रदेश सरकारले पनि केही समयअघि फोटो अवार्ड गरेको थियो । पोखरा फोटो ग्राफर संघको अध्यक्ष तुलसी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार विमला भण्डारीले गरेकी थिइन्। कार्यक्रममा गण्डकी फोटोग्राफर एशोसियनका उपाध्यक्ष नारायणबहादुर केसीले यस्ता कार्यक्रमले फोटोग्राफर र पत्रकारलाई हौसला मिल्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width