पहिरोले १० घर बगायो

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७५

नुवाकोट, २ भदौ । बाढीपहिरोले नुवाकोटका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ ।

जिल्लामा विभिन्न स्थानमा शुक्रबार राति आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ ।

सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका-३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद रु ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

तामाङको २ लाखभन्दा बढीको क्षति भएको पनि प्रहरी जनाएको छ । सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धानसमेत बगाउँदा रु एक लाख मूल्य बराबरको क्षति भएको छ ।

सोही स्थानमा जितबहादुर तामाङ ८ रोपनी खेत, रुद्रबहादुर तामाङको ३ रोपनी, कृष्णबहादुर तामाङको ३ रोपनी, नुरबतासीबहादुर तामाङको ३ रोपनी खेतसमेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको  छ ।

यस्तै बेलकोटगढी नपा-११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको २ घर र घरमा रहेको किराना पसल, मासुपसलसमेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण ८ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी गएरातिकै पहिरोले शिवपुरी गाउँपालिका-६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ ।

घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडासमेत बगाएको छ । पहिरोले दुर्इ घर बगाउँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै तादी गाउँपालिका-६ आलडाँडाँका डोरबहादुर तामाङको २ वटा र मुकेश तामाङको १ घर पहिरोले बगाएको छ ।

पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै गएराति नै विदुर नगरपालिका-२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width