उच्च वारमा उम्मेदवार परिचय

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७५

पोखरा, ३० साउन । पोखरा उच्च अदालत वार एशोसिएसनको भदौ २ मा हुने निर्वाचनको लागि बुधबार उम्मेदवार परिचय कार्यक्रम भएको छ । चुनावमा प्रगतिशील तथा पेसागत समूह र प्रजातान्त्रिक समूह गरी २ प्यानल चुनावी भिडन्तमा छ ।

निर्वाचन समितिको आयोजनामा उच्च वार भवनमा भएको कार्यक्रममा दुवै समूहले पेसागत हकहित र बार-बेञ्च सम्बन्ध सुधारका लागि उम्मेदवारी दिएको दाबी गरे ।

वामनिकट कानून व्यवसायीमध्ये प्रगतिशील तथा पेसागत समूहबाट जनकल्याण पराजुलीको नेतृत्वमा र काँग्रेसनिकट कानून व्यवसायीतर्फबाट प्रजातान्त्रिक समूहका रोहितराज बास्तोला नेतृत्वको १३ सदस्यीय प्यानलसहित उम्मेदवारी दर्ता भएको छ ।

प्रगतिशील समूहबाट उपाध्यक्ष भुवन पराजुली, सचिव धनबहादुर रानाभाट, कोषाध्यक्ष कल्पना भण्डारी, सहसचिव निर्मला सुवेदी, सदस्यमा डीपी अधिकारी, डिल्लीराम अधिकारी, दीपक शर्मा पौडेल, गेज शर्मा, जीवनाथ शर्मा, तिलकप्रसाद कोइराला, सुष्मा पौडेल र मातृका लामिछाने उम्मेदवार छन् ।

यस्तै प्रजातान्त्रिक समूहबाट उपाध्यक्ष उत्तम केसी, सचिव विनोद रेग्मी, कोषाध्यक्ष माधवी पाण्डे र सहसचिव मीनाकुमारी रानाभाट छन् । सदस्यमा हरिबहादुर भुजेल, दुर्गा कोइराला, लेखनाथ सापकोटा, गीताकुमारी लामिछाने, दीपेन्द्र अर्याल, हेमराज बराल, सन्तोषमणि लामिछाने रर्र् इश्वर चिलुवालको उम्मेदवारी छ ।

उम्मेदवार परिचय कार्यक्रममा प्रजातान्त्रिकतर्फबाट अध्यक्ष उम्मेदवार रोहितराज बास्तोलाले व्यावसायिक बार बनाउन कटिबद्ध रहेको बताए।  उनले न्यायको लागि काम गर्ने र वारमा पहिलेदेखि चलिआएको राम्रो कार्यको निरन्तरता दिने उल्लेख गरे ।

यस्तै, प्रगतिशीलबाट अध्यक्षका उम्मेदवार जनकल्याण पराजुलीले कानूनी शासन, संवैधानिक सवोर्च्चता, लोकतन्त्रको लागि र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि पहरेदारकीको रुपमा काम गर्ने बताए । उनले विदेश वारसँग भगिनी सम्बन्ध स्थापना गर्ने, विदेशी प्रोजेक्ट डाइरेक्ट ल्याउने, क्षमता अभिवृद्धिको लागि काम गर्ने, पोखरा वारलाई नमूना बार बनाउने दृढता व्यक्त गरे । उनले वार भवनमा थप सुविधा थप्दै ६ महिनाभित्र एयर कन्डिसनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि वारमा सर्वसम्मत् प्रयास भए पनि सम्भव नभएपछि दुवै पक्ष चुनावमा होमिएका हुन् । गत वर्ष प्रगतिशीलले उम्मेदवारी दर्ता नै नगरेपछि प्रजातान्त्रिक समूह सर्वसम्मत् बनेको थियो ।

वारको चुनाव शनिबार हुने निर्वाचन समिति संयोजक मुकुन्दराज अर्यालले जानकारी दिए । अर्यालको अध्यक्षतामा भएको कार्यक्रम निर्वाचन सदस्य रघुनाथ अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width