‘प्रमको दोहोरो भूमिकाले दुर्घटना’

न्यायापालिकाको रक्षाका लागि काँग्रेस क्रियाशील हुने

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७५

पोखरा, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रका कारण सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति दुर्घटनामा परेको ठहर गरेको छ ।  उसले सो घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप समेत लगायो ।

पार्टीकेन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई नियन्त्रणकारी हस्तक्षेपको आरोप लगाउँदै आगामी दिनमा लोकतन्त्रका आधारभूत मूल्य, मान्यता, संविधान, संवैधानिक सवोर्च्चता र न्यायापालिकाको स्वतन्त्रता एवं निष्पक्षता रक्षाका लागि क्रियाशील हुने गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको दोहोरो भूमिकाका कारण न्यायपालिकामाथि कार्यपालिका र व्यवस्थापिकाको नाङ्गो हस्तक्षेप पनि बढेको जिकिर गरे ।  प्रम ओलीले भावी प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्बाट दीपकराज जोशीको नाम सिफारिस गराएपछि संसदीय सुनुवाइ समितिमा पार्टीको हृवीप लगाएर उनैलाई अस्वीकृत गराउँदै दोहोरो भूमिका खेलेको शर्माले बताए ।

संवैधानिक परिषद्बाट सवोर्च्च अदालतको प्रधानन्यायाधीश पदमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिको यही साउन १८ गतेको बैठकले मतदानमार्फत बहुमतले अस्वीकृत गरेको थियो ।

जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्दा ओलीले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारीको ख्याल नगरी गलत नियतले परिषदबाट नाम सिफारिस गराएको दाबी पनि काँग्रेसले गरेको छ । ‘ओलीले गलत नियतबाट आफैं सिफारिस गर्ने, आफैं अस्वीकृत गराउने दोहोरो भूमिका गरेका कारण प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया दुर्घटनामा पर्‍यो,’ काँग्रेसले भनेको छ, ‘यो दुर्भाग्यपूर्ण घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण र नियन्त्रणकारी हस्तक्षेपका रुपमा काँग्रेसले लिएको छ ।’

बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याका काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्वसांसद कमलप्रसाद पगेँनीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै  समवेदना प्रकट गरेको छ । पगेँनीको साउन २० गते असामयिक निधन भएको थियो ।

यस्तै काँग्रेस नुवाकोटका पूर्वमहासमिति सदस्य विष्णु आचार्यको गत साउन १३ गते भएको असामयिक निधन र काँग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधि एवं पूर्वजिल्ला विकास समितिका सभापति भैरु· धर्चे भोटेको गत साउन ९ गते भएको निधनप्रति पनि बैठकले गहिरो दुःख व्यक्त गरेको छ । काँग्रेसले ती मृतात्माको चीरशान्तिको कामना गर्दै सबै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ

Related News

सम्बन्धित समाचार

hero news full width