सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७५
DSC01189

पोखरा, १५ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंगलबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारले मनोमानी रुपमा काम गरिरहेको भन्दै काँग्रेसले खबरदारीस्वरुप देशव्यापी प्रदर्शन गरेको हो ।

सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रदर्शनमा उत्रेको नेपाली काँग्रेसले काठमाडौंको शान्तिबाटिकाबाट विरोध र्‍याली निकाली असन, इन्द्रचोक, न्यूरोड, न्यूरोड गेट हुँदै पुनः शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै काँग्रेस नेताहरूले सर्वसत्तावादी सोच तत्काल नत्यागे रुँदै सत्ता छोड्न सरकार बाध्य हुनुपर्ने स्थिति आउन सक्ने बताए।

काँग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई सर्वसत्तावादी सोच नत्यागे कानूनमन्त्री शेरबहादुर तामाङले झै रुँदै सत्ता छोड्न जनताले बाध्य बनाउने चेतावनी दिए।

उनले राजनीतिक स्थिरता र समृद्धिको नारा दिएको सरकारले मुलुकमा अस्थिरता निम्त्याएको, समृद्धिका बाहक शक्ति आफ्नो पार्टीलाई निषेध र नियन्त्रण गर्न खाजेको भन्दै आक्रोश व्यक्त गरे।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारलाई निषेध र नियन्त्रणको राजनीति नगर्न चेतावनी दिए। काँग्रेसका नेता नवीन्द्रराज जोशीलगायतले सरकारले एकपर्छि अको जनविरोधी कदम चालेको भन्दै आक्रोश व्यक्त गरेका थिए । यसैबीच, काँग्रेस कास्कीले पोखरामा पनि जुलुस प्रदर्शन गर्‍यो । पृथ्वीचोकबाट शुरु भएको जुलुस न्यूरोडहुँदै चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो। सरकारका गतिविधिको विरोध गर्दै गरिएको जुलुस प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि सहभागी थिए।

सभामा बोल्ने नेताले सरकारको मनोमानी बन्द गरी देश र जनताको आवश्यकतामा गम्भीर बन्न सरकारलाई सचेत गराएका थिए। प्रेसमाथिको अपमान, चर्को महँगी र करको विरोध गरिएको थियो। अहिले काँग्रेसलाई सरकार नचाहिएको भन्दै नेताहरुले जनतालाई दुःख दिने काम गरिरहे चुप लागेर नबस्ने चेतावनी दिएका थिए। पार्टीका केन्द्रीय सदस्य जीवन परियारले माफियाको इशारामा सरकार चल्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएका जनपक्षीय निर्णय खारेज गरिनु निन्दनीय भएको उल्लेख गरे।

आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले सरकारका गतिविधिले सरकारको आयु घट्दै गएको दावी गरे।

पूर्व मन्त्री समेत रहेका काँग्रेस नेता यज्ञबहादुर थापाले सरकारका कारण नै जनता सडकमा आउनु पर्ने अवस्था सृजना भैरहेको बताए।

राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले नेकपाको सरकारले मुलुक बर्बाद बनाउन लागिरहेको आरोप लगाइन्। नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटले काँग्रेसले आँटेका सबै काम पुरा भएको भन्दै काँग्रेससँग निहु नखोज्न आग्रह गरिन्।

नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङले सरकारले यसरी अनावश्यक दुःख दिइरहे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए।

कार्यक्रममा प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, नेता देवराज चालिसे, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाली काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ लगायतले बोलेका थिए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेले धन्यवाद र सचिव सुदीपमोहन भट्टराईले संचालन गरेका थिए। उता, स्याङ्जामा केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरिएको छ । काँग्रेसले ओली सरकारका असंवैधानिक कार्य, न्यायलयमा हस्तक्षेप, बढ्दो महँगी, करको दरमा बृद्धि, बढ्दो हिंसा, महिलाको अस्मितामाथि आँच लगायत कार्यको निन्दा गर्दै नारावाजी गरेको हो ।

काँग्रेस नेताहरुले कम्युनिष्ट सरकार अधिनायकवाद र सर्वसत्तावाद बन्दै गएको भन्दै संविधान भन्दा माथि नजान चेतावनी दिएका छन्। सरकार विरुद्ध प्रतिपक्षी दल काग्रेसले सदरमुकाम स्याङ्जामा बृहत् शक्ति प्रदर्शन गरेरे सरकारलाई सच्चिन चेतावनी दिएको छ।

काँग्रेस पार्टीकार्यालयबाट शुरु विरोध र्‍याली वीपीचोक, हुलाकमार्ग, ठाडोलाइन, घुम्ती, प्रगतिनगर, बाडखोलासम्म पुगेर पुन शहीदचोकमा आएर विरोध सभामा परिणत भएको थियो ।

काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङ्ले काँग्रेस राणा, पञ्चायत र राजासँंग नझुकेको स्मरण गराउंदै ओली संविधानभन्दा माथि रहेर काम गर्न खोजे ज्ञानेन्द्रकै हालत हुने चेतावनी दिए।

यस्तै, रुपन्देहीको भैरहवामा भएको विरोध प्रदर्शनमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खां’णले जनतालाई ओली नेतृत्वको सरकारको उपहार गोली भएको बताए । उनले सुरक्षा निकायले गोली चलाउन नचाहँदा नचाहँदै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि गोली चलाउन बाध्य भएको बताए।

खाँणले भने, ‘सरकारबाट सुरक्षा निकाय पनि खुशी छैन, कर्मचारीलाई पनि अधिकारविहीन बनाइएको छ। सिंहदरबारको अधिकार घरआँगमा भन्ने कुरा घाँटी सुकाएर भन्ने ओलीजीको सरकारले आज स्थानीय तहलाई पनि अधिकारविहीन बनाउन खोजिरहेको छ।’

यस्तै, कास्की सहित छिमेकी जिल्लामा पनि सरकारले महँगी बढाउने लगायत जनविरोधी काम गरेको भन्दै काँग्रेसले प्रदर्शनलाई चर्काउँदै लगेको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width