डा केसीको अनसन जारी

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५

काठमाडौ, ५ साउन । डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा करिब ४० जना बढी घाइते भएका छन् ।

घाइतेको निजामती र कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प शाहीलगायतको उपचार भइरहेको छ ।

कान्तिपुर अस्पतालमा पूर्वमन्त्री एवं दलका पूर्वअध्यक्ष महेन्द्र यादवलगायतको उपचार भइरहेको छ । अध्यक्ष बस्नेतको टाउको र पाखुरामा चोट लागेको छ । दलले माइतीघर मण्डलाबाट निकालेको जुलुश बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको थियो । अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो । प्रहरी हस्तक्षेपपछि सभामा सहभागीसमेत प्रभावित भएका थिए ।

जुलुशमा सहभागीले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले स्वास्थ्य शिक्षा सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशकै भावना अनुरुप कानून मस्यौदा गरी संसद्मा पेश हुनुपर्ने लगायत माग गरेको थियो ।

कार्यक्रमको समाचार संकलनका लागि खटिएका प्रेस युनियनका महासचिव शिवाकोटी प्रहरीको लाठीले घाइते भएकोमा युनियनले घोर भर्त्सना गरेको छ ।

यसैबीच, नेपाली काँग्रेसले नेपाल तरुण दलले नयाँ बानेश्वरमा निकालेको शान्तिपूर्ण जुलुसमाथि भएको प्रहरी हस्तक्षेपबारे दुःख व्यक्त गरेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक आक्रमण भएको भन्दै निन्दा गरेका हुन् ।

काँग्रेसले आन्दोलनका क्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत चार दर्जनभन्दा बढी घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ ।

यसैबीच, आन्दोलनका क्रममा घाइते भएका नेता तथा कार्यकर्तालाई सभापति शेरबहादुर देउवा एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्पताल नै पुगेर स्वास्थ्य अवस्थाबारे  जानकारी लिएका छन् ।काँग्रेसले आफ्नो सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान भएको जनाएको छ । अनशनको तेस्रो साता पूरा भइसक्दा पनि वार्तामार्फत समाधान खोज्ने र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनु दुःखद कुरा भएको बताएको छ ।        चिकित्सा शिक्षा विधेयक, चको मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा निरन्तर आन्दोलन गर्ने काँग्रेसले बताएको छ । यसैबीच, सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आहृवान गरेको छ ।

वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निर्ःशर्त वार्तामा आउनका लागि आहृवान गरेका हुन् । उनले डा केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आहृवान गरेको बताए । संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा केसीलाई काठमाडौँ नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए । सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा केसीका पक्षसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको थियो । रासस

‘राजनीतिक रंग नेदखाऊ’

पोखरा/डा गोविन्द केसीमाथि राजनीतिक रंग नदेखाउन पोखरामा एक कार्यक्रमबाटै आग्रह गरिएको छ। ‘डा गोविन्द केसी न काँग्रेस हुन्, न त कम्युनिष्ट नै, उनी एक नेपाली नागरिक हुन् । उनको मागप्रति ऐक्यबद्धता जनाऔं’ कार्यक्रममा सहभागीको जोड छ । बाइस दिनसम्म अनसनरत् केसीको मागप्रति ऐक्यबद्धता जनाउन उनीहरुको आग्रह थियो। सो कार्यक्रममा प्रतिपक्ष नेपाली काँग्रेस र नयाँ शक्तिका कार्यकर्ताहरु कार्यक्रममा सहभागी देखिन्थे।  काँग्रेस कास्कीका सभापति कृष्ण केसी र नयाँ शक्तिका सौगात पोखरेलले कार्यक्रममै सम्बोधन गरे। काँग्रेसका केसीले माथेमा आयोगले दिएको प्रतिवेदन संसद्ले अनुमोदन गर्नुपर्ने र प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने डा केसीको मागप्रति काँग्रेसले इमान्दारिताकासाथ ऐक्यबद्धता जनाएको बताए ।केसीले भने, ‘गल्ती गरिसकेपछि गल्ती स्वीकार गर्नु, पुनः त्यस्तै गल्ती नदोहोर्‍याउनु र सुधार गरेर जानु महानता हो।’  हिजो काँग्रेसले नगरेको कामलाई आज हामीले पनि गर्दैनौ भन्ने छुट ओली सरकारलाई नभएको केसीको भनाइ थियो ।

नयाँ शक्तिका सौगात पोखरेलले कवितात्मक शैलीमा डा केसीले उठाएका माग जायज रहेको र पूरा गर्न सरकारलाई आग्रह गरे ।

सामाजिक अभियन्ता सिरोज कोइरालाले बाटो बिराएका सरकारलाई तह लगाउन र माफियातन्त्रको विरोध गर्न गोविन्द केसी जस्ता व्यक्तिको खाँचो रहेको औंल्याए। कार्यक्रममा गण्डकी मेडिकल कलेजका डा परिवर्तन भट्ट, मणिपाल शिक्षण अस्पतालका डा कृष्ण खनाल, नागरिक समाज पोखराका सुनिल पाण्डे, अभियन्ता प्राडा वसन्त गौतम, डा राम गुरुङ, युथ थिङ्क सोसाइटीकी सुजुमा घिमिरे लगायतले बोलेका थिए।  यसअघि, विभिन्न संघसंस्था, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले डा केसीको समर्थनमा पैदलयात्रा र्‍याली निस्केको थियो ।

यसैबीच, काठमाडौंमा भएको प्रहरी हस्तक्षेप विरुद्धमा तरुण दल कास्कीले आइतबार पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । तरुणले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि विरोध प्रदर्शन गर्ने तरुण दल कास्की अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

विरोध कार्यक्रममा नेवि संघको पनि सहभागिता रहने नेवि संघका केन्द्रिय सदस्य भानु ढकालले जनाए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width