गावैंभरी ग्राभेलका गोदाम

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७५
bharatpokhara

पोखरा, १ साउन । पोखराको अधिकांश वडामा यतिबेला जथाभावी ग्राभेल निकाल्ने र मनपरी बेच्ने क्रम बढ्दो छ । विशेषगरी सेती नदी जोडिएका वडाहरुमा यो समस्या अधिक छ ।

पोखरा वडा १, १४, १५, १७, १९, २५, ३३ लगायतमा मनपरी नदीजन्य सामाग्री उत्खनन् भैरहेको छ । वडा २१ को दोविल्ला, वडा १४ को बाच्छीबुडुवामा नियमविपरीत सञ्चालित क्रसर अझै बन्द भएका छैनन् । पोखराको वडा १ याम्दीमा रहेको क्रसर भने नियम नपुगेको भन्दै महानगरले यसअघि नै बन्द गरिदिएको थियो ।

नदी दोहन र निजी जमिनमा पनि मापदण्ड पूरा नगरी निर्माण सामग्री उत्खनन् गरिएको छ । पोखरा वडा ३३, भरतपोखरीस्थित पुष्प वस्ती नजिक ठूलो जमिन खनेर घडेरी बनाइएको छ । सरकारसँग अनुमति नलिएको भन्दै गएको साता कास्की प्रहरीले ६ वटा टिपर र डोजर नियन्त्रणमा लिएको थियो । त्यसपछि देखिने गरी काम नगरे पनि लुकिछिपी उत्खनन् भैरहेको र जमिन भत्काउने क्रम नरोकिएको स्थानीयहरु बताउँछन् । जमिन खन्दा निस्किएको निर्माण सामग्री नजिकैको जंगलमा गोदाम बनाएर थुपारिएको छ । केही चाहीँ बिक्री पनि भैसकेको एक स्थानीयले बताए ।

भरतपोखरीमा समूह मिलेर नदी उत्खनन् गर्ने र बाँझो जमिनमा थुपार्ने चलन धेरै पहिलेदेखिको हो । यो क्रम जनप्रतिनिधि निर्वाचित भएपछि झनै बढेको छ । बिनास्वीकृति निर्माण सामग्री थुपारे पनि वडा र महानगरले चासो दिएको छैन । ‘भरतपोखरीमा ३/४ वटा ग्रुप मिलेर काम गरिरहेका छन् । बाँझो जमिनमा थुपार्छन् र फुर्सदमा बिक्री गर्छन्,’ एक स्थानीयले भने, ‘धेरै पटक जनप्रतिनिधिलाई पनि भनिसक्यौं तर टेर्र्नुभएन ।’ दोबिल्लाबाट भरतपोखरी छिर्नेबित्तिकै बाटोको आडमा रहेका अधिकांश घर नजिक ग्राभेल, ढुंगा र बालुवाको गोदाम छ । जग्गाधनीलाई केही रकम दिने र तिनै समूहले अवैध हिसाबले बिक्री गर्ने गरेका ती स्थानीयले बताए ।

वडाध्यक्ष शिव आचार्य चाहीँ ग्राभेल थुपार्ने क्रम पूरै नियन्त्रणमा ल्याइसकेको बताउँछन् । निर्वाचनभन्दा पहिले दोविल्लामा क्रसर राख्ने मनसायले धेरै मेटेरियल थुपारिएको रहेछ । हामी निर्वाचित भएपछि क्रसर चलाउन दिएनौं,’ उनले भने, ‘त्यै सामग्री अहिले विभिन्न बहानामा बेचिएका छन् । नयाँ सामग्री थुपार्न पाएका छैनन् ।’ खानी उत्खनन् ८० प्रतिशत रोकिएको उनको दावी छ । ‘पहिले सार्वजनिक जग्गामा उत्खनन् हुँदा पनि हेरेर बसे । अहिले निजी जग्गामा पनि कडाइ गरेका छौं,’ उनी भन्छन्, ‘छाडापनलाई विस्तारै कानूनी दायरामा ल्याएका छौं ।’ खानीको जमिन जोडिएको ठाउँमा स्थानीयले बलमिच्याईं गरेका भन्दै उनले यसलाई पनि रोक्ने प्रतिबद्धता जनाए । ‘अरु वडालाई हेरेर निर्माण सामग्री निकाल्न पाउनुपर्ने दावी स्थानीयले गर्छन् । सबैतिर रोकिएको भए जनप्रतिनिधिलाई पनि सजिलो हुन्थ्यो,’ वडाध्यक्ष आचार्यले थपे, ‘अरु वडामा धमाधम गिटी बालुवा निकालेर बेचिएका छन् । मैलेमात्रै रोक्न खोज्दा गाह्रो भयो ।’ प्राविधिकको सल्लाहमा वडा तहले नै खानी सञ्चालन गर्न पाउनुपर्ने उनको माग छ ।

महानगरका मेयर मानबहादुर जिसीले भरतपोखरी क्षेत्रमा अधिक उत्खनन् भएको भन्दै तत्काल एक्सनमा जाने बताए । ‘बाटो बनाउने र घडेरी खार्ने भनेर निवेदन दिन्छन् । विकासको काम रोक्ने कुरै भएन,’ उनले भने, ‘विकास देखाएर विनास गर्छन् । यसलाई रोक्न तल्लो तहको पनि सहयोग चाहिन्छ ।’ विभिन्न चरणमा अवलोकन गरिसकेको भन्दै मेयर जिसीले स्थानीय र जनप्रतिनिधिको सहयोगमा अवैध रुपमा हुने उत्खनन् बन्द गर्ने बताएका छन् । दोविल्लादेखि सुरौंदीखोलाको तिरसम्मै अवैध काम बढिरहेको उनको भनाइ छ । महानगरपालिकाले बोले अनुसार काम भने गर्न सकेको छैन । अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्ने यसअघि नै प्रतिबद्धता जनाए पनि कार्यान्वयन अहिलेसम्म भएको छैन । पछिल्लो समय जनप्रतिनिधिकै संलग्नतामा अवैध काम बढ्न थालेको गुनासो सरोकारवालाको छ ।

पोखरा वडा १४ र २१ को क्रसर सञ्चालनमा वडाध्यक्षले नै स्वीकृति दिएका थिए । त्यसबाहेक आफ्नो अधिकार क्षेत्र बाहिरका धेरै कामहरु गर्ने बाटो वडा तहका जनप्रतिनिधिले नै खोलिदिएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी जबर्जस्ती नदी दोहन गर्ने क्रम तुरुन्तै रोक्न स्थानीयको माग छ । गण्डकी प्रदेश सरकारले पनि प्राकृतिक श्रोतमाथि हुने दोहन रोक्न विशेष कार्ययोजना तयार गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width