ओमराज मृत भेटिए

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५

पोखरा, ३० असार । विगत ३ सातादेखि बेपत्ता पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल मृत भेटिएका छन् ।

उनको शव तनहुँको भीमाद नगरपालिका वडा ६, सेती नदीको किनारमा शनिबार तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सेती नदी किनारमा बिहान तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । पछि परिवारका सदस्य र आफन्तले पहिचान गरेका र पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको थियो । घोप्टो परेको अवस्थामा भेटिएको शव पानीले फुलेको प्रहरीले जनाएको छ । पौडेलको शनिबार नै सेती किनारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा परिवारजन, आफन्त, शुभेच्छुकको सहभागिता थियो ।

पौडेल गत असार ९ गते बिहान घरबाट हिँडेपछि नफर्केको र सोही दिन बिहान स्थानीय शान्ति श्रेष्ठले महेन्द्रपुलबाट एक मानिस सेती नदीमा हाम फालेको प्रत्यक्ष देखेको बताएपछि ती व्यक्ति पौडेल नै भएको भन्दै अड्कलबाजी काटिएको थियो।

पछि सिसी टिभीको फुटेजमा समेत पौडेल सो दिन बिहान महेन्द्रपुल चोकदेखि पुलतर्फ गएको देखिएको थियो । कास्कीको सिंगो सुरक्षा टोली उनको खोजीमा सो क्षेत्रमा केन्द्रित थियो । उनी बेपत्ताको केही दिनपछि कास्की प्रहरी र पोखरा महानगरले संयुक्त पत्रकार सम्मेलन नै गरी पौडेल आत्महत्याका लागि हाम फालेको निष्कर्षसहित अनुसन्धान जारी रहेको जनाएको थियो ।

पौडेल स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्षसमेत थिए।

Related News

सम्बन्धित समाचार

hero news full width