साउन १ देखि सेयर कारोबार अनलाइनबाट

आदर्श समाज सम्वाददाता
असार ३१, २०७५

काठमाडौँ, ३० असार । तपाई सेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर सेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ ।

सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।

सेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो । सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक सेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पार्सवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा सेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, साउन १ गतेदेखि लागू गर्ने भएको छ । लगानीकर्ताको मागबमोजिम नै उक्त सेवा शुरु गरिएको बोर्डले जनाएको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को नियम १२ बमोजिम बजारले धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालनका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली नेपाल स्टक एक्सचेञ्ज र सेयर दलाल कम्पनीले जडान गर्नुपर्नेछ । बोर्डका प्रवक्ता निरज गिरीले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा सेयर खरिद बिक्रीका लागि मार्ग प्रशस्त भएको र स्टकले सञ्चालनमा ल्याउन सक्ने अवस्था आएको जानकारी दिए ।

“कानूनीरुपमा नै अनलाइन कारोबार सञ्चालनका लागि व्यवस्था भएको छ । त्यसलाई थप व्यवस्थित गरेर कारोबार गर्न मार्ग प्रशस्त भएको छ”, प्रवक्ता गिरीले भने ।

नेपाल स्टक एक्सचेञ्जले पनि अनलाइन कारोबारका लागि आवश्यक प्रणालीको विकास गरिसकेको जनाएको छ । स्टकले विद्युतीय कारोबारका लागि सञ्चालनमा ल्याउन लागेको सफ्टवेयरको परीक्षण भने बाँकी छ ।

सो सफ्टवेयरमा हुने खराबी तथा अन्य समस्याका बारेमा कारोबार शुरु भएपछि मात्रै जानकारी प्राप्त हुनेछ । सेयर कारोबारकर्ताले सेयर दलाल कम्पनीले आवश्यक व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने नियमावलीमा व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width