मन्त्री पण्डितद्वारा निर्माणाधीन पोखरा विमानस्थल निरीक्षण

विमानस्थल तोकिएकै समयमा

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
lal babu

पोखरा, २ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तोकिएकै समयमा सकिने दावी गरेका छन् ।

निर्माणाधीन विमानस्थल शनिबार निरीक्षण गर्दै उनले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको आश्वासन समेत दिए । निर्माणबारे विभागीय मन्त्रीसँग समेत पोखरा विमानस्थलबारे कुरा भएको जानकारी दिँदै उनले स्थानीय सरकारदेखि संघीय सरकारसम्म विमानस्थलका बारेमा सकारात्मक रहेको उल्लेख गरे । विमानस्थल आयोजना प्रमुख इञ्जिनियर विनेश मुनन्कर्मीसँग भेटी विमानस्थल निर्माणका क्रममा केही समस्या भए नभएकोबारे मन्त्री पण्डितले जिज्ञासा राखेका थिए।

‘यो राष्ट्रिय गौरवको आयोजना सबैको साथ सहयोगबाट सम्पन्न हुनेछ। स्थानीय सरकारदेखि संघीय सरकारसम्म यसमा सकारात्मक छ।’ मन्त्री पण्डितले भने, ‘काम भइरहेको छ। ठेक्का लिने कम्पनीले काम गरिरहेको छ। अहिले आएका भनिएका कुराहरु कि पहिल्यै आउनुपर्छ। बनाउने-नबनाउने उपयुक्त स्थान हो होइन, पहिल्यैको कुरा हो। चार दशकदेखि पोखरेलीले कुरेको विमानस्थल बनाउनुपर्छ भन्नेमा सरकार छ।’

मन्त्री पण्डितले निजगढ विमानस्थल त्रिभुवन विमानस्थलभन्दा अझ राम्रो हुने र भैरहवा विमानस्थल छिट्टै सञ्चालनमा आउने पनि सो क्रममा जानकारी दिए । सो क्रममा आयोजना प्रमुख इञ्जिनियर मुनन्कर्मीले हालसम्म ४५ प्रतिशत माटोसम्बन्धी कार्य सम्पन्न भइसकेको र डिजाइनसहित १२ प्रतिशत काम सकिएको जानकारी दिए । उनले रिठ्ठेपानीडाँडा १४ दशमलब २ मिटर काट्नुपर्ने देखिएको जानकारी दिँदै धावनमार्ग २ हजार ५ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको हुने जानकारी दिए। विजयपुर खोलातर्फको भागमा साउन मसान्तसम्ममा काम सकिने उनको भनाइ छ। पोखरा १४ का पूर्व अध्यक्ष भीमसेन थापाले पोखरा विमानस्थलमा बेलाबेलामा बखेडा झिक्ने काम भइरहको भन्दै पोखराको विकासमा काठमाडौं सधैँ नकारात्मक देखिएको ठोकुवा गरे । उनले मन्त्री पण्डितलाई विमानस्थल निर्माणमा कुनै नकारात्मक असर पर्ने खालको देखिएमा सहयोग गर्न अनुरोध गरेका थिए। सो अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषानारायण पौडेल, पोखरा लेखनाथ महानगरपालिका वडा १४ अध्यक्ष प्रेमबहादुर कार्की, ठेक्का लिएको कम्पनी चाइनाको सिएमसिईका झु झान फेङ लगायतको उपस्थिति थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जारी रहेको बेला सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित विज्ञ टोलीको सुझावलाई लिएर विमानस्थलबारे तरंग उत्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width