मुग्लिन सडक पूरै कालोपत्रे

अब २४ सै घण्टा सवारी सञ्चालन

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५

चितवन, २३ जेठ ।  बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्ड एशियाली राजमार्गस्तरको दुर्इ लेनमा स्तरोन्नति गरी कालोपत्रेले जोडिएको छ। सो सडकखण्डमा अब चौबीसै घण्टा सवारी चल्नेछन् भने अन्य समस्या नआए नारायणगढ-मुग्लिन सडकखण्ड ३५ मिनेटमै पार गर्न सकिन्छ।

मंगलबार मध्यराति चेपाङडाँडाको घुम्तीमा बाँकी रहेको खण्ड कालोपत्रे गरेसँग उक्त सडक खण्डको पहिलो तह कालोपत्रे सम्पन्न भएको हो।

नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार ३३.२ किलोमिटर लामो उक्त सडकको पहिलो तह कालोपत्रे सम्पन्न भएको हो। पहिलो तह कालोपत्रे सम्पन्न भएसँगै चौबीसै घण्टा सवारी आवागमन खुला गरिएको छ। उनका अनुसार दोस्रो र तेस्रो तहको कालोपत्रे र सडक सुरक्षाका काम भने भइरहेका छन्। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म गरी दैनिक ६ घण्टा सवारी रोकेर काम गरिँदैआएको थियो।

खनालका अनुसार दोस्रो तह ३२.७ किलोमिटर र तेस्रो तह १२.७ किलोमिटर कालोपत्रे भइसकेको छ। पहिलो र दोस्रो तहमा ६/६ सेन्टिमिटर र तेस्रो तह ४ सेन्टिमिटर बाक्लो कालोपत्रे हुने गरी यो सडक खण्ड निर्माण गरिएको छ। उच्चस्तरको कालोपत्रे भएकाले पहिलो तह सम्पन्न भएसँगै सवारी आवागमन सहज भएको छ।

उक्त सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको थियो। पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्मको १०.४५ किलोमिटरको ठेक्का पाएको बिएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्रे भइसकेको छ भने तेस्रो तहको दुर्इ किलोमिटर कालोपत्रे भएको छ। सो खण्डको तेस्रो तहको बाँकी कालोपत्रे र सडक सुरक्षाको काम मात्रै बाँकी रहेको खनालले जानकारी दिए।

दोस्रो खण्ड दासढुंगादेखि सिमल तालसम्मको १०.६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ। सो खण्ड उड्हिल लामा जेभिले निर्माणको जिम्मा पाएको छ। सो खण्डको प्रगति ९७.५० प्रतिशत भएको छ। एक वर्षसम्म सडक हेर्नुपर्ने भएकाले शतप्रतिशत हुन अझै कुर्नुपर्ने खनालले बताए।

तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको १२.१५ किलोमिटर हो। सो खण्डको प्रगति ८५ प्रतिशत भएको छ। सो खण्डको दोस्रो तहको कालोपत्रे ११.८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो तहको कालोपत्रे पूरै बाँकी रहेको छ। तेस्रो खण्डमा कालोपत्रे, रोड यङ्करीङ् र सडक सुरक्षाको काम बाँकी रहेको खनालले जानकारी दिए।

मौसम अनुकूल भएमा असार मसान्तसम्म तीनै तहको कालोपत्रे र सडक सुरक्षाका काम पनि सम्पन्न हुने खनालले बताए।

चार पटक मिति थप गरी काम गरिएको उक्त सडक खलण्डको पछिल्लो मिति अनुसार पहिलो खण्डको मे १०, दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३०, २०१८ मा मिति सकिएको छ। समग्रमा ९१.५ प्रतिशत काम सम्पन्न भएको छ। काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ।

सन् २०१५ को अप्रिलमा २४ महिनाभित्र काम सम्पन्न गर्ने गरी उक्त सडक खण्ड ठेक्का दिइएको थियो। लगत्तै गएको भूकम्प, भारतीय नाकाबन्दी र २ वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको हो।

सडक विस्तारसँगै पहिरो रोक्ने कामका लागि छुट्टै ठेक्का दिइएको छ। पहिरो रोक्ने काम पनि ४५ प्रतिशत सम्पन्न भएको खनालले बताए। असार मसान्तसम्म सक्ने गरी पहिरो रोक्ने काम ठेक्का दिइएको हो। मौसम अनुकूल रहेमा पहिरो रोक्ने काम पनि तोकिएको मितिमा सम्पन्न हुने खनालको भनाइ छ।

सडक सहज भए पनि उक्त सडक खण्डमा पहिरोको भने जोखिम रहेको छ। अन्यत्र सामान्य भए पनि चारकिलोमा भने पहिरोको जोखिम उच्च रहेको आयोजनाले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width