९ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै

स्वतन्त्रको सातौँ साधारणसभा सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७५

पाल्पा, १९ जेठ।  स्वतन्त्र पत्रकार संघ नेपालको ७ औँ वाषिर्क साधारण सभा ९ बुँदे पाल्पा घोषणा पत्र जारी गर्दै तानसेन (श्रीनगर)मा सम्पन्न भएको छ। सभाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार साईले उदघाटन गरेका हुन्। सो अवसरमा साईले संघको वाषिर्क मुखपत्र ‘स्वतन्त्र सन्देश’को तेस्रो अंक विमोचन समेत गरे।

उद्घाटन मन्तव्यका क्रममा उनले सिंहदरबारको अधिकार शब्दमा मात्र गाउँमा आएको छ तर व्यवहारमा आउन सकको छैन भने। साईले सचिवको कलमले के कसरी स्थानीय तहको अधिकार कटौतिको दुस्साहस गरिरहेका छन्, त्यसतर्फ पत्रकारहरूको दृष्टि पुग्न नसकेको बताए।

उनले भने, ‘उधारो त राणा र पञ्चहरूले पनि बाँडेकै थिए। आजका दिनमा पनि नगदमा सिंहदरबार गाउँघरमा पुग्न सकेको छैन। यी मुद्दामा पत्रकारहरुको ध्यान पुग्न नसक्नुले आशंका उब्जाउन थालेको छ।’ उनले नदेखिने आन्दोलन सबैभन्दा ठूलो र खतरनाक हुन्छ भन्दै मौनता पनि स्वीकृति हो अहिलेको विकृतितर्फ ध्यान दिन जरुरी छ भने। उनले कुनै दिन हातले लेखेर पाल्पामा अरुणोदय पत्रिका सञ्चालन गरेको स्मरण समेत गरे।

सञ्चार माध्यमको संस्थापक समेत रहेका साईले भने, ‘स्वतन्त्रताको महत्व छ र यो निकै महंगो पनि हुन्छ। व्यवहारमै स्वतन्त्र देखिन सक्नु होस्। काममा स्वतन्त्रता प्रतिविम्बित हुन सकेमा मात्र स्वतन्त्रताको सार्थकता रहन्छ।’

उक्त समारोहमा विमोचित कृतिमा समिक्षात्मक टिप्पणी गर्दै प्राध्यापक पुष्करराज रेग्मीले स्वतन्त्र सन्देशका सवल, दुर्वलसहितका विविध पक्षमा प्रकाश पार्दै भोलीका दिनमा राम्रो खुराक हुनेगरी प्रकाशक टिमलाई सुझावसमेत दिए।

उनले स्वतन्त्र सन्देश मोहनीय, पठनीय, मननीय, उदाहरणीय, अनुकरणीय, संग्रहणीय छ भने। उनले स्वतन्त्र सन्देशको तेस्रो अंक, विभिन्न ३/३ धाराका विशेषताले युक्त छ भन्दै सम्पादकीय, इतिहास र भविष्यप्रति प्रश्न खडा गरेको बताए।

यसैगरी, संघका राष्ट्रिय सल्लाहकार नारायण कार्कीले पत्रकार स्वतन्त्र हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ, तर नेपालमा त्यस्तो हुन नसक्नु दुःखद पक्ष हो भने। उनले काम, दक्षता र हैसियत बढाएर पत्रकारहरुले चौथो अंगको भूमिका निर्वाह गर्न सक्नुपर्छ भने।

पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले बाइसे चौवीसे राज्य छदाँदेखिनै पाल्पाको विशेषतायुक्त रहदै आएको बताए। उनले पाल्पामा पत्रकारिताको इतिहास २००६ सालमा नै ‘सतप्रतिशत’को प्रकाशनबाट सुरु भएको जानकारी दिँदै छापामाध्यमले मात्र नभई टेलिभिजन, रेडियोले समेत राष्ट्रियस्तरमा आफ्नो छवि कायम गर्न सफल रहेको बताए।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका विभिन्न जिल्लाका गतिविधि समेत सम्बन्धित जिल्लाका अध्यक्षहरूले प्रस्तुत गरेका थिए। प्रतिवेदन पेश गर्नेहरूमा कास्कीका कृष्ण थापा, आतिथ्य शाखा पाल्पाका भोजराज भट्टराई, बाँकेका नमस्कार शाह, तनहुँका आनन्दराज न्यौपाने, चितवनमा सूर्य कँडेल र मकवानपुरका सुरेशकुमार श्रेष्ठ थिए। यस्तै, जिल्ला प्रतिवेदन पेश गर्नेहरूमा काठमाडौँ शाखाका अध्यक्ष के.वि. सम्राट, लमजुङका निवर्तमान अध्यक्ष कृष्ण आले र रुपन्देही शाखाका उपाध्यक्ष अनिल पहाडी थिए।

सो अवसरमा गतवर्ष सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा गर्दै आउँदो वर्षको बाषिर्क कार्ययोजनासहित संघको विधानलाई संघीय अनुकूलको बनाई संशोधन गर्ने निर्णय गरेको छ। यसैगरी, महासचिव नवराज पहाडीको वाषिर्क प्रतिवेदन र कोषाध्यक्ष वीरेन्द्र पाण्डेको आर्थिक प्रतिवेदनलाई पनि सभाले सुझावसहित पारित गरेको छ।

उक्त सभामा काठमाठौ शाखाका अध्यक्ष केवि सम्राटले पत्रकारहरुको स्वास्थ्योपचारका लागि १ लाख रुपैयाँको अक्षयकोषको घोषणा गरेका छन्। यसैगरी, संघको राष्ट्रिय समितिले पाल्पाका पत्रकार हरि जिसीको उपाचारका लागि ३ हजार रुपैयाँ प्रदान गरेको छ।

उक्त साधारणसभाको उदघाटन तथा बन्द सत्र महासचिव नवराज पहाडीले समापन आतिथ्य शाखा पाल्पाका उपाध्यक्ष भविन्द्र गौतमले सञ्चालन गरेका थिए।

पाल्पा घोषणापत्रको पूर्ण विवरणः

१) सरकारले थालनी गरेको सिन्डिकेट विरुद्धको अभियानको समर्थन गर्दै अन्य क्षेत्रका साथै सञ्चार जगतमा व्याप्त सिन्डिकेन्ट समेत हटाउनका लागि सरकारको ध्यानाकर्षण गर्दछौँ।

२) संघका सांगठनिक गतिविधिलाई जीवन्तता दिनका लागि मुलुकमा रहेका पत्रकारका अन्य संघसंस्थाहरू सरह राज्यकोषबाट यस संघलाई पनि सुविधा दिने काम गरियोस् भन्ने माग गर्दछौँ।

३) नेपाल सरकारद्वारा प्रदान गरिदै आएको लोककल्याणकारी विज्ञापनको सुविधा रकमलाई सतप्रतिशत बृद्धि गर्न माग गर्दछौँ।

४) समानुपातिक विज्ञापन नीतिको तत्काल कार्यान्वयन गर्नका लागि जोडदार माग गर्दछौँ।

५) स्थानीय तहमा दिने सरकारी विज्ञापनलाई स्थानीय पत्रपत्रिकाहरूलाई प्राथमिकता दिन माग गर्दछौँ।

६) श्रमजीवी पत्रकार ऐनको अक्षरशः पालना गर्न/गराउन सरकारको ध्यानाकर्षण गर्दछौँ।

७) पत्रकारहरुलाई स्वाभिमानपूर्वक बाँच्ने आधार तय गर्न सम्बद्ध सबैमा सादर अनुरोध गर्दछौँ।

८) सरकारबाट थालिएको पत्रकार दुर्घटना बीमा कार्यक्रमको स्वागत गर्दै त्यसको निरन्तरताका लागि सूचना विभागको परिचय पत्र नवीकरण भएपछि पत्रकार महासंघको सदस्यता नवीकरणको अनिवार्य व्यवस्था (कुनै कुनै जिल्लामा तीन वर्षको नवीकरण एकैपटक, चुनावी बर्षमा मात्र गर्ने गरेको पाइएकोले) उक्त कार्यशैली हटाइयोस्। साथै, स्वास्थ्य उपचार सुविधाका लागि पत्रकारहरुको सेवाका आधारमा २५ प्रतिशतदेखि शतप्रतिशतसम्म निःशुल्क गर्ने नीति अवलम्बन गरियोस्।

९) स्वतन्त्र पत्रकार संघ नेपालको सातौँ वाषिर्क साधारणसभामा पत्रकारहरूको उत्साहजनक सहभागिता भएको र पाल्पा शाखाले प्रदान गरेका स्नेहिल आतिथ्यताका लागि आभार व्यक्त गर्दछौँ। साथै, सहभागीहरूबाट प्राप्त सुझाबले संघलाई सुदृढ गर्दै अघि बढाउन हौसला प्राप्त भएको छ। संघलाई संघीय संरचनाअनुसार अघि बढाउन प्रदेश समिति गठनका लागि विधान संशोधन लगायतका निर्णयहरू भएको र जिल्लास्तरमा विभिन्न तालिम सहितका कार्यक्रमहरू सञ्चालन गरी शाखालाई मजबुत बनाउने कार्यक्रम तय गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width