प्रेस युनियनको २७ औं स्थापना दिवस

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५
Press Union

पोखरा, १३ जेठ । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस मनाइएको छ । ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेशागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मूल नाराका साथ आइतबार देशभर विविध कार्यक्रम गरिएको थियो ।

नेपाल प्रेस युनियन कास्कीले पनि पोखराको वीपीचोकमा मैनवत्ति प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रममा पत्रकार र काँग्रेसका नेता तथा कार्यकर्ता सहभागी थिए ।

त्यस अवसरमा बोल्दै प्रदेश नम्बर ४ का सांसद एवं काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रमाथि विश्वास गर्न हिच्किचाउने दलहरुको दुर्इ तिहाई रहेका बेला प्रेस स्वतन्त्रता हनन हुने सम्भावना रहेकाले प्रेस युनियनको भूमिका सशक्त बनाउनुपर्ने बताए । उनले पत्रकारहरु अझैपनि लोकतन्त्र, पेशागत हक र प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पत्रकारहरु निर्भिक र स्वतन्त्रतापूर्वक नागरिक अधिकारको पक्षमा उभिनुपर्नेमा जोड दिए । पूर्व सांसद शारदा पौडेलले संचार क्षेत्रले मुलुकलाई डोर्‍याउने भन्दै पत्रकार जिम्मेवार हुनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ का सभापति त्रिभुवन पौडेल र कास्की सभापति दिपेन्द्र श्रेष्ठले बोलेका थिए ।

नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बिमला भण्डारीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width