Worldlink ads

छानामाथि दाउरा-मुस्ताङीको प्रतिष्ठा

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५
daura marpha

मुस्ताङ, १२ जेठ । सेतो र रातो माटोले लिपेको घर । माटोकै छाना र छानामाथि दाउराको चाङ । ढुंगा बिछ्याइएको आँगन र ढुंगैको बाटो । घासाबाट उकालो लागेपछि उपल्लो मुस्ताङको छोसेरसम्म सबैजसो घरको छानामा लस्करै दाउराको चाङ देखिन्छन् ।

‘पहिले गाउँमा अधिक हिउँ पर्थ्यो । महिनौंसम्म घरबाट निस्किन सकिँदैनथ्यो । त्यसैले हिउँदभरीलाई पुग्ने दाउरा पनि बर्खामै जोहो गरिसक्नुपर्थ्यो,’ मुस्ताङ छैंरोका विनोद थकाली आफ्नो विगतको अनुभव सुनाउँदै भन्छन्, ‘हिउँदको लागि दाउरा खोज्न महिनौंसम्म वन धाउँथ्यौं । हिउँ पर्न थालेपछि छानामा थुपारेको दाउरा झिकेर आगो बाल्ने चलन थियो ।’

घरमाथि दाउरा राख्नुलाई मुस्ताङीहरु परम्परागत प्रतिष्ठाको रुपमा हेर्छन् । एक समय छानामा दाउराको खलियो हेरेर विहेवारीका कुरा टुंगिन्थे । थकालीका अनुसार मुस्ताङमा मान्छेको आर्थिक अवस्थाका आधारमा दाउराले छत ढाक्ने छलन छ । उपल्लो मुस्ताङमा चाहीँ घोडा खच्चडको संख्याले सम्पन्नता जाँचिन्छ । ‘धेरै सम्पत्ति हुनेहरुको घरको पूरै छाना दाउराले सजिन्छन् । आम्दानी कम हुनेहरुको चाहीँ दाउराको चाङ पनि सानै हुन्थे,’ उनले थपे, ‘घरको छत हेरेर मान्छेको सम्पत्ति सजिलै बुझ्न सकिन्थ्यो । कतिपय विहे छानाको दाउराले पनि जुराएको छ ।’ छानामा दाउरा सजाउन पहिले-पहिले प्रतिष्पर्धा नै हुने उनले सुनाए ।

घरको छतमा दाउरा सजाउने मुस्ताङीको चलन निकै पुरानो हो । मुस्ताङका घरजति माटो र काठबाट बन्छन् -छाना समेत) । माटोकै छानामाथि दाउराको लस्कर सजाउने चलन अहिले पनि हटिसकेको छैन । छतमा दाउराको खलियो बनाउँदा एकातिर घरको सुन्दरता बढेको छ भने अकोर्तिर छतबाट पानी चुहिने समस्या हुँदैन । दाउरा थुपार्ने सँस्कृतिमा पर्यटकको पनि चासो बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । मार्फाका होटल व्यवसायी कालबहादुर लालचनका अनुसार मार्फा छिर्ने अधिकांश पर्यटकको रोजाइमा पुराना मोडलका घर र दाउराको सजावट पर्ने गरेको छ ।

दाउरे सँस्कृति मुस्ताङको पहिचान हो । ‘पछिल्लो समय मार्फामा पर्यटक खासै छिर्दैनन् । गाडी र प्लेनबाट सिधैँ जोमसोम हुइंकिन्छन्,’ उनले भने, ‘पुराना परम्परा रुचाउनेहरु चाहीँ फर्की फर्की मार्फा आउँछन् ।’ लालचनको घरको छानामाथि पनि ८० वर्षअघि देखिको दाउरा सुरक्षित छ । ‘पहिले पानी पर्दैनथ्यो । हिउँले दाउरा कुँहिदैन,’ उनी भन्छन्, ‘मार्फामा २ सय वर्ष पुराना दाउरा पनि छन् । तर अब पानी पर्न थाल्यो घरै जोगाउने समस्या छ । दाउरा कसरी बचाउँनु ।’

जलवायु परिवर्तनको असर हिमाली जिल्लाहरुमा निकै बढेको छ । उनको अनुभवमा अचेल मुस्ताङमा हिउँभन्दा पानी धेरै पर्छ । ‘शुरुमा विकास देखेको एयरपोर्ट हो । त्यै पनि कहिलेकाहीँ हिउँ धेरै परेर प्लेन आउजाउ नै रोकिन्थ्यो । कति पटक त गाउँले उल्टेर हिउँ फालेको अझै सम्झिन्छु,’ उनले थपे, ‘अचेल त हिउँ निलगिरीको डाँडाबाट तल झर्दैन । पानी धेरै वर्षेर घर भत्किन थालिसके ।’ मार्फा र आसपासमा बोटविरुवा पनि निकै बढेको स्थानीयको भनाइ छ । खासगरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले काम गर्न थालेपछि मुस्ताङको माथिल्लो क्षेत्रसम्म विरुवा हुर्किन थालेको उनीहरु बताउँछन् ।

मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीले मुस्ताङ जिल्लाका उपल्लो भागसम्म पनि पानी पर्ने क्रम शुरु भैसकेको बताए । ‘अधिकांश घरहरु सखर माटोले बनेका हुन् । पानी परेपछि घर पग्लिन थालेको छ,’ उनले भने, ‘अचेल सुरक्षाका लागि गाउँलेले ढलान घर बनाउन थालिसके । अब पुराना संरचना जोगाउन निकै मुस्किल छ ।’ जलवायु परिवर्तनकै असरले पुराना घरहरु विस्तापित हुने खतरा बढेको उनले बताए । यद्यपि अहिले पनि ९० प्रतिशतभन्दा धेरै घरहरु माटोकै छन् । मुस्ताङका घरमाथि दाउरा राख्ने चलनबारे अझै पनि स्पष्ट तथ्यांक पाउन सकिँदैन । स्थानीयको अनुभवले चाहीँ यसको इतिहास निकै लामो जनाउँछ । जिल्लाका प्रत्येक गाउँमा गाउँले र वन उपभोक्ता समितिको समन्वयमा वर्षेनी एक सिजन जंगलबाट सुकेका दाउरा जम्मा गर्ने अनुमति पाइन्छ ।

आधुनिकीकरणसँगै मुस्ताङका होटल रेष्टुरेन्टदेखि सर्वसाधारणको घरमा पनि अहिले ग्यास प्रयोग गर्ने दर बढ्दो छ । जसका कारण दाउराको खपत खासै हुँदैन । अहिले कुल उर्जामध्ये ७० प्रतिशत हाराहारीमा दाउराको खपत हुने तथ्यांक छ । दाउरा खोज्ने झण्झट र ढुवानीको समस्याले लामो समयदेखि छानामाथिको दाउरा फेरवदल भएको छैन । मुस्ताङमा एक जोडी झोपाले बोक्ने दाउरालाई ३ हजार रुपैयाँ पर्छ ।

एक जोडी झोपाले चलनचल्तीको ४ भारी दाउरा बोक्छ । आधुनिकीकरण र बढ्दो जलवायु परिवर्तनका कारण विस्तारै मुस्ताङको पहिचान धरापमा पर्न थालेको छ । यसबारे स्थानीयस्तरमा पनि छलफल र बहस भैरहेको अगुवाहरुले बताए ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग