गोकुल पुरस्कारबाट शर्मा सम्मानित

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७५

पोखरा, ८ जेठ। गायक जीवन शर्मा गोकुल वाङ्मय पुरस्कार-२०७४ बाट सम्मानित भएका छन्।

गण्डकी साहित्य संगमले मंगलबार गोकुलजयन्तीमा आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष डा कृष्णराज अधिकारी र प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले उनलाई सम्मान गरे। जनस्तरबाट स्थापित यो पुरस्कारको राशि नगद ३० हजार र ताम्रपत्र छ।

सम्मानितपछि गायक शर्माले जनस्तरबाट पुरस्कृत हुँदा गौरव महसुस भएको उल्लेख गरे। उनले भने, ‘मलाई यस्तै गीत गाउँदै हिड्ने प्रेरणा थपिएको छ। देश र जनताको पक्षमा समर्पित हुन शक्ति मिलेको छ।’ सो अवसरमा उनले सिमली छायाँमा बसी, झरनाको चिसो पानी लगायत चर्चित गीत पनि सुनाए।

तीन दशक बढी देश देशान्तरमा गीत सुनाउँदै हिडेका उनले बाँकी जीवन पनि यही क्षेत्रमा लगाउने बताए।

बागलुङ राङखानीमा जन्मिएका शर्मा रक्तिम परिवारका अध्यक्ष हुन्। उनका करिब ४ दर्जन गीति एल्बम, ४ साहित्यिक कृतिका साथसाथै ५ सय बढी गीत रेर्कर्ड भएका छन्।

प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गायक शर्मालाई अहिलेका आदर्शको रुपमा चित्रण गरे। पुरस्कारको गरिमामाथि प्रश्न उठ्न थालेको समयमा जनस्तरबाट योगदानको मूल्यांकन गरी गरिने सम्मानले स्रष्टा र वाङ्मयको उत्थान हुने उनले बताए। पोखरेलले भने, ‘शर्मा हाम्रो समयका आइकन हुन्। उनको जीवन र उनले अंगीकार गरेको दर्शन दुवैबीच तादात्म्यता छ। ’

शर्माको तीन दशकभन्दा बढीको अविराम जनवादी संगीत यात्राको कदर गर्दै शर्मालाई सम्मान गरिएको संस्थाका अध्यक्ष डा कृष्णराज अधिकारीले बताए।

संगमको आवधिक प्रकाशन ‘गण्डकी संगम १५’ माथि परिचर्चासमेत भएको कार्यक्रममा जनकवि गोकुल जोशीका सिर्जनासमेत वाचन गरिएको थियो।

संगमका सदस्य भीम रानाभाट संयोजक र डा रविलाल अधिकारी र पीताम्बर नेपाली सदस्य रहेको प्रतिभा छनोट समितिले शर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको थियो।

यसअघि यो पुरस्कारबाट देवीप्रसाद किसान, खगेन्द्र संग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईं, मोहन वैद्य, आनन्ददेव भट्ट, घनश्याम ढकाल, मोदनाथ प्रश्रति र हरिहर खनाल सम्मानित भइसकेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width