पारस र शोभा उत्कृष्ट खेलाडी

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७५

पोखरा, ३ जेठ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)-२०७४ को स्पोर्टस् अवार्डमा यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन् ।

काठमाडौंको आर्मी अफिसस क्लबमा बिहीबार आयोजित पल्सर स्पोर्टस अवार्डको १५औँ संस्करणको सम्मान वितरण कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरुष र महिला खेलाडीको अवार्ड हात पारेका हुन् ।

पुरुषतपm फुटबलका रोहित चन्द, व्याडमिन्टका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने र गल्फका टंकबहादुर कार्कीलाई पछि पार्दै पारसले बाजी मारेका हुन् ।

उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका धनुकाँडकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई गौचनले पछि पारेकी हुन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा चुनिए । प्रशिक्षकतर्फ टमाटासँगै विनोद दास, फुटबलका छिरिङलोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगर मनोनयनमा थिए ।

पिपुल्स च्वाइसतर्फको अवार्ड भने टेबल टेनिसका स्यान्टु श्रेष्ठले पाए । पिपुल्स च्वाइस विधामा स्यान्टुसँगै क्रिकेटका सन्दीप, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मानबहादुर श्रेष्ठ थिए । वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकको उपाधि विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल एक एक थान प्राप्त गरे ।

यस्तै, वर्षको उत्कृष्ट युवा खेलाडीको रुपमा नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत उत्कृष्ट युवा खेलाडी बने । युवाको मनोनयनमा लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ र बक्सिङकी पुनम रावल थिए ।

यसैगरी नेपाली फुटबलको श्रीवृद्विमा उल्लेखनीय योगदान पुर्‍याएकोमा अशोक केसी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । अपाङ्गताबाट हृवीलचेयर बास्केटबल र क्रिकेट खेलमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली सेनाका हिमाल लम्साल पारा एथलिट अवार्डबाट सम्मानित भए भने स्पेशल अवार्डबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी सम्मानित भए । वर्षको युवा, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट र स्पेशल अवार्डबाट सम्मानित हुने खेलाडीले ट्रफीसहित जनही ५० हजार पुरस्कार पाए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक मञ्चका अध्यक्ष महेश आचार्य लगायतले पुरस्कार प्रदान गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले पनि यही जेठ १८ मा पोखरामा तेस्रो संस्करणको टिभिएस अपाचे स्पोर्टस् अवार्ड गर्दैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width