‘बितेका कुरा’ मञ्चन शुरु

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७५
natak

पोखरा ३ जेठ । पोखरा थियटरमा बिहीबारदेखि ‘बितेका कुरा’ मञ्चन शुरु भएको छ।

नाटकमा मानिसको विगत र वर्तमानबीचको सम्बन्ध चित्रण गरिएको छ। कक्षा ११ को ऐच्छिक नेपाली पाठ्यक्रममा समेत समेटिएको सो नाटकले दर्शकलाई घरी हसाँउछ, घरी गम्भीर बनाउछ।

समाजमा घट्ने घटनालाई यथार्थचित्रण गरिएको यो नाटक सन्देशमूलक रहेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तन कार्कीले जनाए ।

मञ्चन समारोहमा पुगेका संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कवि तीर्थ श्रेष्ठ लगायतले नाटक हेरिसकेपछि प्रतिक्रिया दिँदै नाटकले दर्शक साथ पाउने विश्वास व्यक्त गरे। नाटक मार्फत दर्शकको ध्यान खिच्न कलाकारले गरेको मेहनतको उनीहरुले तारिफ गरे।

नाटकलाई उत्कृष्ट बनाउन पुराना रंगकर्मी प्रकट पंगेनी शिवदेखि दिलप्रसाद गुरुङ, ध्रुव पौडेल, वविता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सूर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, स्रि्रन पौडेलको अभिनय गरेका छन् । एक घण्टा लामो सो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ।

सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ।

रुपनारायण सिंहले लेखेको सो नाटक निर्देशन गर्दै परिवर्तनले निर्देशनमा डेब्यु गरेका हुन्। नाटकको परिकल्पना समेत उनैले गरेका हुन्। नाटक हेर्न सर्वसाधारणका लागि ३ सय तथा ५ सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ। विद्यार्थीलाई मात्र १ सय रुपैयाँको टिकट लाग्नेछ।

नाटकघर सञ्चालनमा आएपछि नेपालका विभिन्न ठाउँका १४ वटा नाटक मञ्चन यहाँ भैसकेका छन्। बितेका कुरा पोखरा थिएटरमा मञ्चन हुने १५ औं नाटक हो ।

यसअघि पोखरा थिएटरको पहिलो प्रस्तुतिको रुपमा ‘सिरुमारानी’ मञ्चन भएको थियो। पहिलो दिनमा नाटक हेर्न पुगेका दर्शकले सकारात्मक प्रतिक्रियाले थिएटर टिम उत्साहित छ।

Related News

सम्बन्धित समाचार

hero news full width