नेतृत्व हस्तान्तरण गर : काँग्रेस युवा नेता

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७५

काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा नेताले पार्टीलाई पुनः नेपाली राजनीतिको शीर्षस्थानमा फर्काउन तत्काल महाधिवेशनको घोषणा गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

युवा नेतातर्फबाट गगन थापाले प्रस्तुत गरेको लिखित प्रस्तावमा पार्टीको पराजयलाई विपक्षी गठबन्धनलाई मात्र कारण मान्न नहुने उल्लेख गर्दै २०४८ सालयता काँग्रेसले जनतासामु गरेका वाचा पूरा गर्न नसकेकोले अहिले आएर पार्टीयो हालतमा आएको निष्कर्ष निकालेको छ । यस्तो अवस्थामा पुरानै नेताबाट पार्टीका नयाँ जीवन दिन नसकिने भएकोले महाधिवेशन माध्यमबाट नेतृत्व हस्तान्तरण हुनुपर्ने जिकीर उनीहरुको छ ।

सभापति शेरबहादुर देउवालाई बुझाइएको दस्तावेजमा केन्द्रीय सदस्य गगनकुमार थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र जीवन परियारले हस्ताक्षर गरेका छन् । ५१ पृष्ठ लामो प्रस्तावमा पार्टीका विगतका कमजोरी र आगामी दिनमा तत्कालका समात्नु पर्ने बाटोका बारेमा उल्लेख छ । अब समीक्षा र आलोचनालाई टुंगाई नेतृत्वले गल्ती स्वीकार गर्दै लोकतान्त्रिक मान्यता, वर्तमानको आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गरी आगामी बाटो तय गर्नुपर्ने युवाको सुझाव छ ।

विगतमा काँग्रेसले पाएका जिम्मेवारी पूरा गरेकोमा र काँग्रेसको राजनीतिक विचार र सिद्धान्त विजयी भएकोमा सबै काँग्रेसीले गर्व गर्न पाउने अवस्था हुनुमा पार्टीनेतृत्व बधाईको हकदार रहेको भएपनि काँग्रेसको विचारलाई निर्वाचनको जनमतमा बदल्न नेतृत्व असफल भएको उनीहरुले उल्लेख गरेका छन् । काँग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा झण्डै सर्वमान्य भएर स्थापित हुँदै गर्दा पार्टीस्वयंले भने चुनाव जित्न नसक्नु आफैमा गम्भीर र विरोधाभाषपूर्ण समस्या भएको धारणापत्रमा उल्लेख छ ।

उनीहरुले २०४८ मा ३७.७५ प्रतिशत मत ल्याएको काँग्रेसले २६ वर्षयता त्यो मत ५० प्रतिशत पुर्‍याउनुपर्नेमा तत्कालीन अवस्थामा ३४ प्रतिशत रहेको कम्युनिष्ट पार्टीको मत अहिले ४९ प्रतिशत पुग्नु गम्भीर रहेको उनीहरुको विश्लेषण छ । २०१५ सालमा ७ प्रतिशत र २०४८ मा ३४ प्रतिशत मत ल्याएका कम्युनिष्टले कसरी २०७४ सालमा आइपुग्दा ४९ प्रतिशत मत ल्याउन सम्भव भयो उनीहरुको प्रश्न छ ।

पार्टीको सिद्धान्त तथा नीति र पार्टीको संगठन यी दुवै विषयमा काँग्रेस अस्पष्ट र अलमलिएको अवस्थामा रहेकाले २०४८ पश्चात काँग्रेसको भोट नबढेको उनीहरुको निष्कर्ष छ । २०४८ पश्चात पार्टीभित्र वैचारिक र सैद्दान्तिक विषयमा कही कतै बहस र छलफल नभएकाले पार्टीअस्पष्ट भएको दस्तावेजमा उल्लेख छ ।

उनीहरुले भनेका छन्, ‘राम्रो कामको श्रेय जति मलाई, बिगारेको कामको दोष जति तिमीहरूलाई भनेर निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी नभएका नेता कार्यर्कर्ता माथिमात्र औला उठाउनु पार्टीको समूल जिम्मेवारी बोकेर अभिभावकको स्थानमा बसेका व्यक्तिलाई अशोभनीय हुन्छ ।’ जिम्मेवारीको भार सबैभन्दा बढी पार्टीको केन्द्रीय सभापतिको नै हो र सबैभन्दा कम पार्टीका गाउँस्तरमा बसेर काम गरिरहेका क्रियाशील सदस्यको हो । त्यसैले यसको जिम्मेवारी लिने साहस पार्टीसभापतिले गर्नैपर्छ ।

मुलुक संघीयतामा गएपनि काँग्रेस नगएकोतर्फ ध्यानाकर्षण गराउदै मतदातालाई केन्द्रमा राखेर पार्टीको पुनर्संरचना हुनु आवश्यक रहेको र त्यसका लागि तत्काल महासमिति बैठक बोलाउन माग गरिएको छ । पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक हरेकोमा जोड दिइएको छ । महासमितिबाट नयाँ संगठनिक संरचना र नयाँ नीति स्थापित गरेर शीघ्र महाधिवेशनमा जानेतर्फ बैठकले ठोस निर्णय गरोस् भन्ने आग्रह उनीहरुले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width