राम्रो काम नगर्दा हार : पौडेल

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५

पोखरा, ४ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीर पार्टीले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्न नसकेका कारण पार्टीओरालो लागेको बताएका छन्।

राम्रो काम गरेर जनतालाई जवाफ दिन नसकेका कारण नै पार्टीले हार व्यहोरेको उनको भनाइ थियो।

नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले कम्युनिष्ट मिलेका कारण हार्‍यौ भनेर भाग्न नमिल्ने उल्लेख गरे।

‘राम्रो काम गर्न सकेको भए उनीहरु सबै मिल्दा पनि हामीले जित्थ्यौं’ उनले भने, ‘राम्रो गर्न सकेको भए यति तल पनि आउन्थेनौं।’

उनले शेरबहादुर देउवा र सुशील कोइराला मिलेर आफूलाई प्रधानमन्त्री बन्न समेत नदिएको दुःखेसो कार्यकर्ता माझ पोखे।

त्यतिबेला केपी ओली, विजयकुमार गच्छदार र कमल थापाले आफूलाई प्रधानमन्त्री स्वीकार गरेको भए पनि देउवा र कोइरालाले आफूलाई रोकेको उनको भनाइ छ।

‘अहिलेसम्म यो कुरा कही कतै बोलेको थिइनँ, आज भन्छु भन्दै देउवा र कोइरालाले आफूप्रति देखाएको व्यवहारप्रति चित्त दुःखाए।

उनले अर्को पटक चुनाव जित्नका लागि जनताको स्वार्थसँग गाँसिएर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीभत्र एकता जरुरी भएको र आफूले पनि एकता कायम गर्न चाहेको बताए। न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनबाट पार्टीभत्र एकता कायम गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ।  वरिष्ठ नेता पौडेलले निष्ठा र आदर्शको राजनीतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

यसअघि बोल्ने एक दर्जन नेता तथा कार्यकर्ताले पार्टीलार्इ सशक्त बनाएर लैजानका लागि आग्रह गरेका थिए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदीपमोहन भट्टराईले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width