जिल्ला प्रशासनको कार्यप्रगति सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७५

पोखरा, ४ वैशाख। जिल्ला प्रशासन कार्यालय कास्कीले चालु आवको ९ महिनामा भएका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

गत साउनदेखि चैत मसन्तसम्म यस अवधिमा भएको कार्य प्रगति विवरण पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

जसमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र भयरहीत रुपमा सम्पन्न गराउन सफल भएको, राष्ट्रिय सभा निर्वाचन समेत सम्पन्न गर्न समन्वयकारी भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ ।

यस्तै प्रादेशिक सरकारका लागि आवश्यक भौतिक पूर्वाधार, संरचना निर्माण तथा व्यवस्थापनमा सक्रिय रुपमा सहजीकरण गरेको, बजार अनुगमन विगतको तुलनामा सक्रिय बनाई करिब ९ सय वटा र्फममा अनुगमन गरिएको बताइएको छ । अनुगनमा ६ लाख २८ हजार रुपैयाँ’ जरिवाना असुली गर्नुका साथै उपभोक्ताको अहित पुर्‍याउने तथा मापदण्डविपरीत पाइएकोलाई मौखिक तथा लिखित स्पष्टिकरण लिइएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

यस्तै विभिन्न सरकारी कार्यालयमा बिचौलिया प्रवेशमा निषेध गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही सहायता कक्ष स्थापना, कार्यालयबाट प्रदान गरिने सेवा सम्बन्धमा सूचनामूलक मोवाइल एप्लिकेशन निर्माण गरिएको उनले बताए ।

उनले जिल्लाको शान्तिसुरक्षा कायम राख्नुका साथै विकास निर्माण तथा सरकारी जग्गा संरक्षणमा स्थानीय तहलाई सघाएको बताए ।

उनले संघीय सरकारबाट प्राप्त निर्देशक प्रभावकारीरुपमा लागू गर्दैआएको, विधिको शासनबाट शान्ति सुव्यवस्था कायम गर्दैआएको बताए ।

यस्तै, कार्यालयमा अशक्त, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई सेवा प्राप्तिमा सहजीकरण गर्न समर्पित रुपमा महिला र पुरुष एक-एक कर्मचारी तोकिएको, निःशुल्क पिउनेपानी लगायत व्यवस्था मिलाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width