रारा पर्यटन वर्ष घोषणा गर्न प्रधानमन्त्री रारामा

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५

काठमाडौं, ३० चैत । कर्णाली-रारा पर्यटन वर्ष घोषणा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली केही संघीय मन्त्रीहरुसहित कर्णाली प्रदेशको मुगु जिल्लास्थित रारा ताल पुगेका छन् । कर्णाली प्रदेश सरकारको आयोजनामा शुरु हुन लागेको ‘कर्णाली-रारा पर्यटन वर्ष-२०७५’ नयाँ वर्षका दिन शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्दैछन् ।

ओलीका साथमा रक्षामन्त्री इश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि रारा ताल पुगेका छन् ।  कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारी कार्यक्रम स्थलमा पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले शनिबार नै राराबाटै देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम समेत छ । पर्यटन वर्ष घोषणाअघि कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठक शुक्रबार साँझ रारा ताल परिसरमा बसेको छ । मुगु जिल्लामा रहेको यो नेपालकै सबैभन्दा ठूलो ताल हो । समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा प्रधानमन्त्रीसहित मन्त्री सहभागी छन् ।

‘कर्णाली-रारा पर्यटन वर्ष-२०७५’ को तयारी पूरा भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । कर्णालीको राराबाट प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनअघि प्रधानमन्त्री ओली हिल्सा नाका पुग्ने कार्यक्रम रहेको छ । पर्यटन वर्षको शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागत लगायत तयारी पूरा भएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए । पर्यटन वर्षको शुभारम्भ रारा तालसहित चार स्थानबाट हुने उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।

प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे-फोक्सुण्डो र कालिकोटको पँचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने उनले बताए ।

यसैबीच, ओलीले डोल्पा जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि सरकार तयार रहेको बताएका छन् । डोल्पा जिल्लामा रहेको सबैभन्दा गहिरो शे-फोक्सुन्डो ताल र बाल त्रिपुरासुुन्दरीमाई माताको दर्शन गर्न पुगेका ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशमा विकास नभएसम्म कुनै पनि परिवर्तन नहुने भएकाले अहिलेको सरकार जनताको भावना बुझ्ने र देश विकासतिर जोड् दिने बताए । प्रधानमन्त्री ओलीले डोल्पा जिल्लाजस्ता दुर्गम जिल्लाका प्रत्येक गाउँपालिकामा जनताको सेवा सुविधाको लागि हेलिप्याड हुने पनि बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width