प्रदेशमा खेलकुद प्राथमिकता : मुख्यमन्त्री

राष्ट्रपति रनिङ शिल्ड

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७४

लमजुङ, २६ चैत । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

सोमबार जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले प्रदेश ४ का ११ वटै जिल्लालाई खेलकुदमा आकर्षण गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गर्नेछ । राज्यलाई अन्तर्राष्ट्रिय रंगमञ्चमा चिनाउन स्थानीय, प्रादेशीक र केन्द्रीय सरकारले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्छ ।’ प्रदेशले खेलकुदको योजना बनाउदै गर्दा गाउँ सरकार र नगर सरकारले पनि सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

गुरुङले पर्यटन प्रवद्धनको लागि पनि खेलकुदको विकास आवश्यक रहेको बताएका छन् । उनले जिल्लामा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गर्न सकेमा खेलको विकाश र खेलाडीहरुले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना हुने बताए । उनले जिल्लालाई खेलको माध्यमबाट चिनाउनको लागि गाउँ गाउँमा फुटबल खेलमैदान आवश्यक रहेको बताउँदै लुकेर रहेका प्रतिभालाई खेलको माध्यमबाट चिनाउनु पर्ने समेत उल्लेख गरे ।

उनले प्रदेशको तर्फबाट योग्य खेलाडी उत्पादन गरी प्रदेशलाई खेलकुदकै माध्यमबाट चिनाउन खेलकुदको योजना बनाएको जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा सञ्चालन गरिएको हो । प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयमा संचालन गरिने प्रतियोगिताको यो वर्ष जिल्लाकै सहजी खेलमैदानमा शुरु गरिएको छ ।

प्रतियोगितामा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले प्रतिस्पर्धा गरिरहेका छन् । सो प्रतियोगितामा जिल्लाका ५५ विद्यालयले भाग लिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोबिन्द बस्नेतले बताए । उनका अनुसार प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, सटफुट, ज्याभलिन थ्रो, हाईजम्प, टि्रपलजम्प, लङजम्प र दौडमा लगायत इभेन्टमा प्रतिष्पर्धा हुने छ ।

लमजुङमा २०६५ सालबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिँदैआएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width