नागरिक समाज पोखरामा नयाँ नेतृत्व

अग्रज पत्रकार बास्तोलालाई सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४
samman

पोखरा, १४ चैत । नागरिक समाज पोखराको नेतृत्व परिवर्तन भएको छ । समाजको सातौं साधारणसभाले विष्णुहरि अधिकारीलाई संयोजकमा चयन गरेको हो ।

यस्तै, समाजको सहसंयोजकमा इन्द्रकमल मानन्धर, प्रवक्ता ठाकुरप्रसाद बराल, अर्थ संयोजक पवित्रा जिसी र सहप्रवक्ता पार्वती पौडेल चुनिएका छन् ।

यस्तै, संस्थापक संयोजक रामबहादुर पौडेल, सदस्य दुर्गा अधिकारी, शशी तुलाचन, अर्जुन भण्डारी, गोकुलबहादुर कार्की, सावित्री शर्मा, धीरज थापा, इ किसानसिंह गुरुङ, कल्याण पन्त, विन्ध्येश्वरी बराल, सुनिल पाण्डे, हरिश्चन्द्र अधिकारी, हीरादेवी बास्तोला, नरेन्द्र लालचन, रामचन्द्र लामिछाने, शिवप्रसाद बास्तोला, र्सूयनाथ पहारी, सुजन गुरुङ, ममता सुनाम र लक्ष्मी लामिछाने छन् ।

प्रमुख अतिथि सीमाविद् बुद्धिनारायण श्रेष्ठले साधारणसभा उद्घाटन गरे । सो अवसरमा उनले नागरिक समाज पोखराले सामाजिक क्षेत्र र नागरिकका हकअधिकार सवालमा उल्लेख्य काम गर्न सकेकोमा प्रसन्नता प्रकट गरे । उक्त अवसरमा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई नागरिक समाज पोखराले सम्मान गरेको छ । प्रमुख अतिथि श्रेष्ठले आदर्श समाज दैनिकका प्रधानसम्पादक समेत रहेका अग्रज पत्रकार बास्तोलालाई कदरपत्र प्रदान गरेका थिए ।

स्वतन्त्र पत्रकारिता मार्फत् राष्ट्रिय हित प्रवर्द्धनसँगै सुन्दर, व्यवस्थित एवं वातावरणमैत्री पोखरा निर्माण अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

सम्मानितपछि अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार र नागरिक समाजका उद्देश्य उस्तै रहेको बताउँदै विभिन्न समयमा सहकार्य गरेर कार्यक्रम गरेको स्मरण गरे । उनले आगामी दिनमा पनि सँगै अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले निःस्वार्थ ढंगले अघि बढेको नागरिक समाजका अगुवाको क्रियाशीलता उदाहरणीय रहेको बताए । उनले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि गम्भीर रहेको भन्दै नागरिक समाजसँगै मिलेर अघि बढ्ने बताए ।

वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले भ्रष्टाचारमुक्त भए मुलुक समृद्ध हुने भन्दै सबैले भ्रष्ट आचरण त्याग्नुपर्ने बताए । उनले स्वार्थरहित यो अभियान जारी रहोस् भन्ने शुभेच्छा प्रकट गरे । खहरे आमा समूहकी अध्यक्ष मैया थापाले नागरिक समाजसँगको सहकार्य निरन्तर रहने र संघसंस्थाको साथ सदैव रहने विश्वास दिलाइन् ।

समाजका संयोजक नागरिक अभियन्ता रामबहादुर पौडेलले प्रत्येक हप्ताको सरसफाइ अभियानमा पोखरेलीको अटुट साथ मिलेकोमा सन्तोष व्यक्त गर्दै यो सामाजिक काममा सबैको सहयोगको अपेक्षा गरे । पौडेलले अभियानका नाममा कसैसँग एक रुपैयाँ संकलन नगरेको, राजनीतिक दलको झण्डा नओढेको, केही कुरामा बागेनिङ नगरेको स्मरण गर्दै स्वाभिमानको यो यात्रा कहिल्यै नटुंगिने बताए ।  संयोजक पौडेलको अध्यक्षतामा भएको साधारणसभामा प्रवक्ता ठाकुरप्रसाद बरालले वाषिर्क प्रगति प्रतिवेदन तथा अर्थ संयोजक पवित्रा जिसीले आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । नागरिक समाजका अगुवा शशी तुलाचनले नयाँ नेतृत्वको कार्यसमितिको परिचय दिएकी थिइन् भने प्रमुख अतिथि सीमाविद् बुद्धिनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा नागरिक समाज पोखराद्वारा प्रकाशित स्मारिका लोकार्पण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width