‘बिहानी’ले देख्न पाइनन् बिहानी

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७४
AVIYUKTA

पोखराको नयाँबजार र न्यूरोडको बीचको भाग। सभागृहपथको सडकबाट थोरैभित्र बिहानी खाजाघर लेखिएको बोर्ड टाँगिएको छ। यो सानो खाजाघर आफ्नी सानी छोरीको नामबाटै जुराएकी थिईन् बीना थापा मगरले। अब बिहानी यही बोर्डमा मात्रै छिन्। यस धर्तीमा छैनन्। आईतबार साँझ खाजाघरकै अघिल्तिर पेटीमा खेलिरहेकी बिहानीले भोलिपल्टको बिहानी देख्नै पाइनन्। राति नै उनको प्राणपखेरु उड्यो।

खाजा घर अगाडि नै निट एण्ड क्लिन सर्भिस प्वाईन्ट छ। जहाँ गाडी धुने काम गर्दथे एक १४ वर्षीय पुन थरका किशोरले। बिहानीको ज्यान उसैले लिए। आइतबार साँझ ७ बजे घरबाट हराएकी बिहानी राति १० बजे मृत भेटिइन्। प्रहरीले शव पत्ता लगाउन र अभियुक्त पक्रन ढिलाई गरेन।

प्रहरीसामु खेलौना विवादमा हत्या गरेको पुनले स्विकारेका छन्। बयानका क्रममा आफ्नो घर, बाबु आमा नभएको अभियुक्तले बताएको प्रहरीले जनाएको छ। उनी गाडी धुने सर्भिस प्वाईन्टमै अर्का साथीसंग बस्दै आएका थिए। मृतक बालिकाकी बाबु कृष्ण रोक्कामगर नेपाली सेनाका जागिरे हुन् भने आमा बिना थापा होटल सञ्चालन गरेर बस्दै आएकी छिन्। विहानी कान्छी छोरी हुन्। उनका दाई शरद ९ वर्षका छन्। दाजु बहिनी दुवै रामघाटस्थित मेट्रोपोलिटन एकेडेमीमा पढ्दै आएका छन्। मृतक बालिका एलकेजीमा अध्ययनरत थिइन्। उनको परीक्षा चलिरहेको परिवार श्रोतले जानकारी दिएको छ। मृतकका बुबा नवलपरासीबाट पोखरा फकदैं छन्।

एक ग्यारेज अगाडी पोखरा सभागृहको पर्खालको आडको खाली जग्गामा बिहानीलाई बोराहरु, बालुवाले छोपेको अवस्थामा भेटिएको थियो। अभियुक्त पुन काम गर्ने ठाउँ र बालिकाको कोठा नजिकै रहेकाले दुवै जना हराएपछि पुनलाई फेला पारेपछि बालिकाको अवस्था पत्ता लागेको स्थानीयले बताए। टाउकोमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो। बालिकाको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

अभियुक्तका घरपरिवार छैनन्, मापसे गरेछन्ः स्थानीय

कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बलात्कार भएको केही कुनै प्रमाण फेला नपरेको बताए। उनले बालकले बयानका क्रममा पनि खेलौनाकै विषयमा विवाद हुँदा ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको जनाए। प्रहरी स्रोतका अनुसार अभियुक्तले दिएको बयान यस्तो छ, ‘म त्यही गाडी धुने काम गर्छुु म १४ वर्षको भएँ। मेरो घर छैन। बुबा आमा पनि छैन। हामी सँगै खेलेको हो। खेल्दा रिस उठेर मैले ढुङ्गाले हानेको हो। ढुङ्गाले हानेपछि टाउकोबाट रगत आयो र रुन कराउन लाग्यो। उसको ममीले मलाई मार्छ भनेर बोराले घाँटी कसेर मारेँ। अनि आएर ग्यारेजको गाडी मुनी आएर सुतेँ। मलाई उनीहरुले फेला पार्‍यो।’

मृतक बालिकाको घरमा पुगेर बालिकाकी आमा भेटेपछि अभियुुक्त पुनः काम गर्ने ग्यारेजमा पुग्दा अभियुक्त काम गर्ने निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा बाहिर गेट बन्द थियो। भित्र पस्दा सञ्चालक टेकबहादुर गुरुङकी आमा, एक छिमेकी, गाडी धुने काम गर्ने दुर्इ महिला र सञ्चालक गुरुङकी मंगोलियन पत्नी मात्र थिए। सञ्चालक गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको उनकी पत्नीले बताइन्।

आठ वर्ष अघि नेपाल आएकी गुरुङकी पत्नी एरेका बल्ल बल्ल नेपाली बोल्न सक्ने रहेछन्। छिमेकी, उनकी आमा र एरेकाले अभियुक्त पुनबारे जानकारी गराए।

एरेकाले भनिन्ः ‘त्यो केटा एक महिना एक हप्ता पनि भएको थिएन, यहाँ काम गरेको। सधैं गाडी धुन आउने ट्याक्सी ड्राइभरले एउटा दुःख पाएको फुच्चे छ। काम पनि राम्रो गर्छ। ६ दिन मैले नै मेरो घरमा राखेँ, अब काममा लगाउनुपर्‍यो भनेपछि काममा राखेको हो। दुःख पायो भनेर काममा राखेको। अर्को टेक मगर भन्ने पनि छ। त्यो पनि ३ महिना जति भयो। २ जना संगै काम गथे। यहीं कोठामा सुत्थे। टिभी राखिदिएको छु। यति राम्रो सुत्ने ठाउँ छ। माया गरेर राखेको हो। हिजो दुर्इ जना मिलेर रक्सी खाएछन्। अनि यस्तो भयो। कपडाहरु यही हो सबै बाहिर निकालिदिएँ।’

ग्यारेजमै रहेकी एक छिमेकीले आफ्नो छोरा पनि केटाहरु सुत्ने कोठामै टिभी हेरिरहँदा पुन चाहिँ खाना नै नखाई बाहिर निस्केको। टेक चाहिँ टिभी हेर्दै भात खाईरहेको जानकारी दिइन्। ‘साइकल पनि छैन। त्यो केटा पनि छैन। दुर्इ जना रक्सी खाए। त्यो चाहीँ चाँडै भात पनि नखाई हिँड्यो। पछि बच्चा हरायो भन्ने भयो। सबैले खोज्न थाले। टेके पनि संगै खोज्न थाल्यो। यस्तो गरेछ।’

अभियुक्तलाई चिनेजानेका जति सोझो र हाँसिरहने स्वभावको रहेको बताउँछन्। सानो थियो, कोहीसंग बोल्थेन। राम्रो गोरो थियो। अनाथ भन्थे सबैले। उसले आफ्नो डायरी लेख्ने गरेको थियो रे। आफूले थाहा पाएदेखि भोगेको कुरा सबै लेखेको भन्ने सुनेको थिएँ। स्याङ्जामा अंकल अण्टीकहाँ बस्दा हेला गरेर पोखरा आएको भन्थे। नजिकै बस्ने किसान कार्कीले सुनाए।

प्रहरीले उनले लेखेको डायरी र बच्चा मारेपछि रगत लागेको कपडा समेत बरामद गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार डायरीमा मायाका कुराहरु समेत छन्।

आमा बिना भन्छिन् : खेलौनाकै कारण यसरी मार्न सक्छ ?

नाबालिका छोरीको हत्या भएपछि अर्धमुर्छित आमा बिना थापामगर सामान्य अवस्थामा र्फकन सकेकी छैनन्। बिहान १० बजेतिर बालिकाको घर खोज्दै जाँदा हत्या गरिएको स्थानबाट ५० मिटर दूरीमा छोरीकै नाममा खोलिएको बिहानी खाजा घर भेटियो। सटर कोठाकै बीचमा ढोका राखेर दुर्इवटा कोठा बनाइएको छ। छिमेकी दुर्इ जना महिलाहरु संगै थिए। बालिकाकी आमा बिना ओछ्यानमा लडिरहेकी थिइन्। उनी बोल्ने अवस्थामा थिइनन्। बेलुकादेखि पानीसमेत खाएकी थिइनन्। एकछिनपछि घटनाबारे छिमेकीहरुले भन्न सुरु गरेपछि उनी केही सम्हालिन् र घटनाबारे यसरी बेलिबिस्तार लाइन्।

‘हाम्रो घर पाल्पाको बिरकोट वडा नं. १ हो। मेरो श्रीमान आर्मी हुनुहुन्छ। नवलपरासीमा हुनुहुन्छ। एउटा छोरा र छोरी मात्रै हो। छोरा शरद ९ वर्षको भयो। छोरी बिहानी ५ पूरा भएकी थिइन्। म पोखरा २ वर्ष अघि आएको हो। पहिले अमरसिंहमा बस्थेँ। त्यहाँ पनि ६ महिनाजति खाजा घर चलाएँ। स्कूल नजिक भएकाले बाबुनानीलाई त्यहीँ नजिकै मेट्रोपोलिटन एकेडेमी पढाएँ। नानीको अहिले एलकेजीको परीक्षा चलिरहेको छ। यता नयाँबजार आएको एक वर्ष बढी भयो।

हिजो, आइतबार बेलुकी पनि बाहिर पेटीतिर खेलिरहेकी थिइन्। मकहाँ महिनाबारी खाना खानेहरु छन्। म खाना बनाउँदै थिएँ। ७ बजेतिरबाट नानी देखिएन, अबेरसम्म नआएपछि उसको दाईले त्यो केटा र नानी खेलिरहेको भन्यो। त्यो केटा काम गर्ने ठाउँमै सुत्थ्यो। अभियुक्त ठीक अगाडिको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा गाडी धुने काम गर्दै आएका थिए। त्यहाँ पुग्दा त्यो केटा रहेनछ। त्यसपछि सबै ठाउँमा खोज्न थाल्यौं। सधैं कोठामै सुत्थ्यो, रहेनछ। पुलिसलाई खबर गरिसकेका थियौं। २० मिनेट जतिमा पुलिस आयो। केटालाई उसकै काम गर्ने ठाउँमा राखिएको गाडी मुनि भेटियो। उसले मैले मारेँ भन्यो। म नानीलाई हेर्न पनि पाइनँ। पुलिसले नै सबै लग्यो। नानीबाबुका बुबा आउँदै हुनुहुन्छ। खेलौना नदिएर भनेको छ अरे। खेलौनाकै कारण त्यत्रो ठूलो मान्छेले बच्चा मार्छ ? अनाथ भनेको छ । १४ वर्ष नै भयो भन्ने के छ ? ठूलो पनि हुन सक्छ उमेरमा। त्यसरी मारेर, कसरी लुकाउने भनेर जानेको मान्छे बालक हुन्छ ? एकदमै गहिरो गरि छानविन हुनुपर्छ। मेरी छोरी मार्नेलाई कडा कारबाही हुनुपर्छ।’

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width